Skip to content

आभाको छोटो आयु र साहित्यिक योगदान

  • by


२०२६-०२७ सालतिर काठमाडौँबाट निकै नै साहित्यिक पत्रपत्रिकाहरू विनादर्ता समसामयिक सङ्कलनका रूपमा प्रकाशित हुने गर्थे । त्यतिखेर पत्रपत्रिका दर्ता प्रक्रिया कठिन भएर पनि यस्तो प्रवृत्ति भएको हो । अर्को कारण समसामयिक पत्रिकाहरू विज्ञापनको अवसर छोप्न पनि बढी लालायित देखिन्थे । अक्सर यसको बाढी चाडपर्वमा देखिने गरिन्थ्यो । केही सामयिक सङ्कलकहरू स्तरीयरूपका भए पनि अधिकांशचाहिँ विज्ञापनरूपी हुने भएकाले स्तरीयताको नामोनिसान हुने थिएन । यिनै कारणले गर्दा तत्कालीन सरकारले समसामयिक पत्रपत्रिकामाथि रोक लगायो । त्यतिखेर प्रकाशित स्तरीय र गहकिला पत्रपत्रिकाहरूका सम्बन्धमा केही चर्चा गर्नु आवश्यक देखिन्छ । यसक्रममा ‘आभा’ मासिक पत्रिकाबाट चर्चा गर्ने उद्देश्य लिएको छु ।

आज जति पनि सामयिक सङ्कलनहरू साहित्यिक क्षेत्रमा देखापरेका छन् यसबाट एकल नेपाली साहित्यको अभिवृद्धि भएको मानिन्छ भने यसले साहित्यिक क्षेत्रमा क्षति पनि त्यत्तिकै मात्रामा पुर्‍याएको छ । ज्यादै निम्नकोटिका पत्रिका पनि आफूलाई सांस्कृतिक धरातललाई नै सङ्कुचित पारिएको छ भन्ने भनाइ त्यति स्पष्ट छैन ‘आभा’ को ।

वास्तवमा त्यतिखेर सस्ता जासुसी साहित्यले नेपाली साहित्यमा केही असर पारेकै थियो । स्तरहीन साहित्यको सिर्जना पनि त्यतिखेरैदेखि सुरु भएको हो । त्यतिबेलै लागू भएको नयाँशिक्षा योजनाले पनि केही असर पारेको थियो नेपाली साहित्यमा । नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित पाठ्यपुस्तकहरूका सट्टा शिक्षकहरूका आ-आफ्ना ढङ्गले लेखिएका वा सङ्गृहीत स्तरहीन पुस्तकले बढावा पाउन थाले जसको परिणाम आजसम्म नेपाली साहित्यमा परि नै रहेको छ ।

‘पत्रपत्रिकाहरूको माझ ‘आभा’ पनि सबैको समक्ष उभिन आएको छ । यसको उद्देश्य के कस्तो छ भन्ने विषयमा यत्ति नै भनौं । परम्परा र प्रयोगलाई अँगालेर नेपाली साहित्यमा केही ठोस योगदान प्रदान गर्ने भावनाले यसको प्रकाशन भएको हो ।’

नेपाली साहित्यमा जति पनि पत्रपत्रिकाहरू प्रकाशित भए, ती सबैको रूप एउटै ढर्राको सीमित परिधिबाट पर जान नसकेको तथ्य सबै सहृदयी पाठक वर्गले महसुस गरिरहेकै हो । यसरी एउटै मात्र रूपले साहित्यको विकासमा गतिशीलता आउन र उन्नयन हुन नसक्ने तथ्य स्पष्टै छ । बौद्धिक विकास एकोहोरिने छ किनभने अन्वेषण, अनुसन्धान र तुलनात्मक अध्ययनले मात्र साहित्य, संस्कृति र समाजको यथार्थ राम्ररी मूल्याङ्कन हुन सकिने हुन्छ । अतः साहित्यको प्रत्येक विधातर्फ अन्वेषण अनुसन्धान हुनुपर्ने तथ्यप्रति आज कसैको पनि मतैक्य नहोला । यही वास्तविकतालाइै महसुस गरेर ‘आभा’ को आउँदो अङ्कदेखि प्रचलित धाराबाट केही फरक पार्ने, दिशातिर बढी प्राथमिकता दिने प्रयास गरेका छौँ भनिए तापनि ‘आभा’ का सबै अङ्कहरू पढिसक्दा पनि भनेजस्तो प्रचलित धाराबाट अलग भएका लेख-रचनाहरू भने त्यतिसारै देखिँदैनन् ।

‘आभा’ को पहिलो अङ्कमा प्रकाशित विजय मल्लको ‘लामो रातको यात्रा’ धारावाहिक उपन्यास फेरि छापिएन र उपन्यास पनि त्यति चाखलाग्दो भएन । उपन्यासको विषयवस्तु नै परम्परागत मान्यताको आडमा अडेसिएको पाइयो । बरु फुटकर कथाहरूमा भने केही नयाँपन झल्केको पाइन्छ । कथाकार गणेश रसिक को कथा सफल छ । सहरी समाजको किसानको वास्तविक जीवनमा आधारित कथा हो । नगेन्द्रराज शर्माको ‘ओभर टाइम’ पनि उल्लेखनीय कथा हो । निम्नस्तरीय कर्मचारीको सजीव चित्र छ । प्रेमचन्द्रको ‘जुनको उज्यालो’ कथामा नेपालको इतिहासको एक टुक्रालाई सुन्दर तरिकाले प्रयोग गरिएको छ । अनुवाद भने राम्रो ढङ्गले हुनसकेको अनुभव हुँदैन । शब्द र वाक्यांश खड्किँदा छन् ।

कवितामा हेम हमाल, अनिता तुलाधर, दिल साहनी तथा शैलेन्द्र साकार सफल देखिन्छन् । दिनेशराज पन्तको ‘सुनको गहना’ ले लिच्छविकालदेखि राणाकालसम्मको इतिहासको एक अध्यायलाई खोतल्ने प्रयास भएको स्वागतयोग्य छ । वासुदेव शर्माको आधुनिक नेपाली कविता साहित्य, परम्परा, प्रभाव र प्रगतिले आफ्नो उद्देश्य, सफल पारेको छ ।

आभाको दुई-तीन अङ्क संयुक्ताङ्क भएर प्रकाशित भएको छ । प्रस्तुत अङ्कको विशेषता भनेको पाँचवटा गहकिला गद्य लेखहरू, अनिता तुलाधरको ‘गंकी’ की विवश नायिकाः एक अनुचर्चा नयाँ प्रयोगको लेख हो । कथा र कवितामा देखापर्ने गरेकी अनिता तुलाधरको यो प्रयास सह्राहनीय छ । ‘साहित्यमा ः दुई प्रतिभाका छुट्टै धारणा अलग प्रकारको लेख छ । सोमनाथ सिग्द्याल र रामकृष्ण शर्माका बीच साहित्यसम्बन्धी तुलनात्मक धारणाबारे व्याख्या र विश्लेषण प्रस्तुत छ । शिवप्रसाद सत्याल ‘पीठ’ को प्रयास पनि राम्रो हो । इन्द्र मालीको पहरीभाषा र रत्नाकार देवकोटाको मष्टो जानकारीमूलक लेख हुन् । कविता खण्डमा रमेश श्रेष्ठ, जनार्दन जोशी, साफल्य अमात्य आ-आफ्ना ठाउँमा राम्रै छन् ।

‘आभा’ को अङ्क चार माधवलाल कर्माचार्यको ‘तत्कालीन चिनियाँ कवि लायन शायन उनको कवितामा’ लेखले भरिएको छ । धेरै कुरा जानकारी गराउँछ चिनियाँ कविका सम्बन्धमा । वासुदेव शर्माको ‘संस्कृति र सङ्क्रमण’ अन्वेषणीय लेख भएकोले अध्ययनीय पनि उत्तिकै छ ।

‘आभा’ को पाँचौँ अङ्कमा तीन कविता भाषा, भ्रमण र लेख एक-एक प्रकाशित छन् । कवितामा ज्ञान उदाश र अमरेन्द्रराज ‘आजाद’ उल्लेखनीय छन् । इन्द्रमालीको गुरुङ भाषासित नेपाल भाषाको सम्बन्ध राम्रो छ । जनकलाल शर्माको ‘रिग्मा जौँ’ अध्ययनीय छ । प्राकृतिक वातावरणको चित्रणले ओतप्रोत छ । दिनेशराज पन्तको प्राचीन र मध्यकालमा नेपाल र भारतका शासकको विवाह-सम्बन्ध अनुसन्धानमूलक ऐतिहासिक लेखले नेपाल र भारत सम्बन्धको एक पक्षलाई खोतल्न सफल छ ।

‘आभा’ को अन्तिम अङ्क छ, आधुनिक नेवारी कविता विशेषाङ्क हो । ‘आभा’ २०२८ वैशाखदेखि मासिक भएर प्रकशित भएको भए पनि पछिल्लो अङ्क चैत २०२९ मा निक्लेको देखिन्छ । ‘आभा’ परिवारमा विजय मल्ल र माधवलाल कर्माचार्यको योगदान रहेको थियो भने सम्पादकमा ईश्वरमान रञ्जितकार थिए । अनुभवी साहित्यकारहरूबाट प्रकाशित यो पत्रिका स्तरीयताको दृष्टिले राम्रो भए पनि नियमित हुन नसक्नु यसको दुर्भाग्य हो ।

सबै अङ्कहरूमा अधिकांश स्तरीय लेख रचना हुनु यसको सबल पक्ष हो । उपन्यासको एक अंश, नेवारी कविता अनुवादसहित एक दर्जन कविता, हिन्दी कथा, अनुवादसहित तीन कथा, एउटा विशेष लेखसहित १३ लेख निबन्ध प्रकाशित छन् यी अङ्कहरूमा । ‘आभा’ को प्रथम अङ्कको प्रकाशकीयमा व्यक्त भएको भावनाअनुसार उत्साह र उमङ्गसहितको तत्परता लगाउन सकिएको भए अवश्य ‘आभा’ अझ बढी चम्किने थियो तर त्यो हुन सकेन ।

१४३ साहित्यमार्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *