Skip to content


आधुनिक नेपाली सङ्गीतको विकासमा रेडियो नेपालले जुन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, त्यो हिजोआज ओझेलमा परेको जस्तो देखिएको छ । वास्तवमा स्थापनाकालदेखि नै रेडियो नेपालले आधुनिक, लोक, शास्त्रीय, स्वदेश गान तथा भक्ति-सङ्गीत रेकर्डका साथै प्रसारणमा विशेष जोड दिएको देखिन्छ । यसभन्दा अघि नै बजारमा आएका डिस्करेकर्डलाई पनि रेडियो नेपालले प्रसारणमा विशेष महत्व दिएको देखिन्छ । वि.सं. १९६५ सालपछि क्रमशः प्रकाशनमा आएका विभिन्न कलाकारका पृथक डिस्करेकर्डलाई मानक-अभिलेखको रुपमा लिँदा मोतीराम भट्ट (१९२३-१९५३) तथा -सेतुराम श्रेष्ठ (१९४०-२००२), कृत ‘यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्’ गजल रहेको देखिन्छ । साथै, नेपाली आधुनिक गीत-सङ्गीतको प्रामाणिक दस्तावेज यसै कृतिलाई लिएको पाइन्छ । त्यसपछि मात्र मेलवादेवी गुरुङ (१९५९-२०१२) तथा मास्टर मित्रसेन थापामगर (सन् १८९५-१९४६) का डिष्करेकर्ड आदि नेपाली गीत-सङ्गीतको विकासमा निष्पात भएको पाइन्छ ।

वि.सं. १९६५ सालदेखि दुई हजार सालसम्म आइपुग्दा दलबहादुर, मिस पाताल चाइना, मिस ताराबाई, मिस दुलारी, उ. आनन्द, प्रो. बालाप्रसाद, मास्टर पूर्णमान, उ. बद्री, मास्टर जीतु सिंह, मिस हिनादेवी, मिस प्रभा, मिस पञ्चबाला दासी, भवानीचरण दास, मिस चन्दादेवी, सोनी सिंह, मिस प्रमिला, उ.खेमचन्द, हीराबाई, मिस शान्ति सिंह, उ. साहिँला (१९५१-२०१३), माष्टर रत्नदास प्रकाश (१९७०-२०४९), आदि सुरकर्मीहरूको सिर्जनशील अभिलेख पाइन्छ । जब सात सालमा रेडियो नेपालको स्थापना भयो तब साधनारत सुरकर्मीहरू रेडियो नेपालप्रति आकषिर्त नहुने कुरै थिएन । त्यही क्रममा धर्मराज थापा (१९८१) ‘नेपालीले माया मार्यो बरिलै’ गीत लिएर उदाए । यसैगरी ‘मेरो माया छ भने त्यता’ बोलको गीत लिएर आए कृष्णमान डंगोल (१९८२-२०६२) तथा चिनियाँ राणा (वि.सं. १९८२-२०६१), ‘अब हजुर नजाऊ न लाहुर, स्वदेशमै पाइन्छ जागिर’ गाउन आइपुगे उ. भैरवबहादुर थापा (१९८२-२०३९), र तारादेवी (२००२-२०६२)। यो क्रम अगाडि बढ्दै गयो । यसै मेसोमा उही गोविन्दबहादुर गुरुङ (वि.सं.१९७९-२०६१) ‘छक्कावाले पञ्जा’ र ‘चम्केर गम्केर नेपाली’ गीत गाउन आइपुगे । गायक हरिप्रसाद रिमाल ‘बिना बादल असिना आउँदैन’ बोलको गीत गाउन आइपुगे । उनले ‘फगत एक नजरले’ बोलको आधुनिक गीत पनि गाउन सफल भए ।

यसैक्रममा ‘ढल्के टोपी नलाउनु दाइ मेरो मनमा कुत्कुती लाग्दछ’ र ‘पहाड बसी वनमा खेली हुर्केकी अकेली’ गीतहरू गाउन आइपुगे नातिकाजी (१९८२-२०६०) । उनलाई चर्चा र प्रसिद्धि पनि मिल्यो । उनले रेडियो नेपालमा दर्जनौँ गीत रेकर्ड गराए । आजीवन रेडियो नेपाललाई सेवा पनि पुर्याए । रेडियो नेपालको श्रोताहरू विस्तारित हुँदै गए । जनार्दन सम (१९८४-२०३९) पनि ‘एकफेर बोली देऊ सोझो मुखले माइली’ बोलको गीत गाउन आइपुगे । ‘हाँसी हाँसी वसन्तले नयाँ रीत ल्यायो’ बोलको गीत गाउन कोइलीदेवी आइपुगिन् भने पन्नाकाजी शाक्य ‘तिरिरी मुरली बज्यो वनैमा’ बोलको गीतबाट खुबै चर्चा पाए । ‘ए साइँली रातोमा रुमाल फिलिली उडायो बतासैले’-गीतबाट गायक बलु बराइलीले आफ्नो साङ्गीतिक चिनारी निर्माण गरे । सुरकर्मी कोइलीदेवी माथेमा (१९८७-२०४६) ले लामो समय रेडियो नेपालकै सेवा गरिन्, चर्चा पनि पाइन् र बिदा भइन् ।

‘बालाजुको बाइसै धारामा कति मीठो पानी’ र ‘तितरी पङ्खी बादलुमाथि सुनौलो साँझमा’ गीत गाउन सफल भए गायक पु्ष्प नेपाली (१९८८-२०५८) । यिनै गीतबाट उनले लोकप्रियता पनि आर्जन गरे । ‘के हो तिम्रो नाउँ बताऊ के हो तिम्रो नाउँ’ गाउना साथ चर्चा-परिचर्चामा आए गायक शिवशंकर (१९८९-२०६१) । साथै उनले पनि लामो समयसम्म नेपाली सङ्गीतको सेवामा समर्पित हुने मौका पाए ।

यो क्रम अगाडि बढ्दै गयो र ‘हिमालमुनि हाम्रो घर पराले झुपडी नि दाजु पराले झुपडी’ बोलको गीत गाउन आइपुगे गायक ज्ञानबहादुर (१९९०-२०५२) । उनले केही समय रेडियो नेपालमा काम पनि गरे । रेडियोबाट प्रेमध्वज प्रधानको ‘गोरेटो त्यो गाउँको’ ‘घुम्तीमा नआऊ है’ आदि गीत चर्चित हुनपुग्यो भने नारायणगोपाल (१९९६-२०४७) का ‘स्वर्गकी रानी’ र ‘आँखाको भाका आँखैले, गीतहरू लोकप्रिय बने ।

पृथक शैलीको सिर्जना लिएर गायक बच्चु कैलाशको आगमन भयो । उनले ‘कल्पनाको गगन’, ‘टाढाटाढा जानु छ साथी’ ‘मायाले मेरो मायाले टाढै बसे पनि’ आदि गीतहरू गाएर चर्चाको चुलीमा पुग्न सफल भए । यसैगरी ‘नआऊ जून कोठामा मसँग लाडिन’ र ‘यो खोलाको सङ्लो पानी’ गीतहरू गाएपछि गायक माणिकरत्नले साङ्गीतिक उचाइ पक्रन सफल भए भने ‘द्यौराली डाँडा नकाटेसम्म मै रुमाल हल्लाउँला’ बोलको गीत गाएर प्रसाद श्रेष्ठ चर्चाको चुलीमा चढे । लोक छाँटकाँटले भरिपूर्ण भएका भाका गाउन आइपुगे प्रेमप्रकाश मल्ल । उनले ‘वनकी म चरी कसले सुन्ला कठैबरी यो मनको बिलौना’, ‘हिमचुलीमा फेवाताल’ बोलका गीतहरू गाएपछि एकाएक चर्चित बने ।

रेडियो नेपाल मात्र प्रसारणको पहुँच भएको संस्था भएकाले गायक/गायिकाहरूको मन रेडियो नेपालतिर नखिचिने कुरै थिएन । यसैले गायक फत्तेमान राजभण्डारीले ‘कस्तो माया लाइएछ आफ्नै मन मारिदिने’ र पछि ‘यस्तो पनि हुँदो रैछ’ गीत गाएर आफू स्थापित हुने सौभाग्य प्राप्त गरे । आठ सालदेखि अठार सालसम्म आइपुग्दा रेडियो नेपालसँग सम्बद्ध हुने नेपाल तथा दार्जीलिङ क्षेत्रका कलाकारहरूको बाक्लो उपस्थिति भइसकेको थियो । त्यही क्रममा अगमसिंह गिरी कृत ‘नौलाख तारा उदाए’ गीत लिएर दार्जीलिङबाट गायक/सङ्गीतकार अम्बर गुरुङको प्रवेश भयो । त्यसपछि दार्जीलिङ-सिक्किम क्षेत्रबाट कर्म योञ्जन-गोपाल योञ्जन र दिलमाया खाती ‘साउन फर्की फेरि झर्यो माया लगाई निष्ठुरी फर्केन’, ‘सम्झेर बुझेर दिई हाल त्यो जोवन’ आदि गीत लिएर साथै शान्ति ठटाल ‘सम्हालेर राख’ गीत लिएर आइपुगिन् ।

यसैगरी ‘सय र पत्री फूलै र फुल्यो’-रचना माधव घिमिरे, गीत गाउन अशोक राई, ‘एक रात थियो’ जीतेन्द्र बर्देवा, अलिक पछि ‘ए फूल चुँडेर’ र ‘सारंगीको तारले मेरो’ कुमार सुब्बा, ‘मेरो पापहरूलाई’ अरुणा लामा-शरण प्रधान आदि सङ्गीतकर्मीहरू रेडियो प्रसारणको पहुँचमा आइपुगे । त्यसपछि रन्जित गजमेर, दावा ग्याल्मो, दिव्य खालिङ, प्रकाश गुरुङ, डेजी बराइली, कमल दर्नाल, हीरादेवी वाइबा, बद्रीदुर्गा खरेल, विनोद स्याङदेन, वसन्त क्षेत्री, धनन्जय थापा, तुलसी गजमेर, किरण प्रधान, चन्दन लोम्जेल, सुकमित गुरुङ, देवकुमार दुमी, बलि सुब्बा, सिरिकुमार पाखि्रन, लासिमित राई, देवनारायण प्रधान, शिला-कुन्ती मोक्तान, उदय-मनिला सोताङ, अन्जली प्रसान, थुप्देन भुटिया आदि कलाकारहरूले रेडियो नेपालबाट आ-आफ्ना सिर्जना प्रसारित गर्न सफल भए र चर्चा पनि कमाए ।

सोह्र सालमै उ. गोविन्दलाल नेपाली (वि.सं.१९७१-२०४३) ले रेडियो नेपालबाट आजसम्म गुञ्जिरहेको कालजयी फ्युजन म्युजिक ‘शंख-ध्वनि’ को अमर-रचना पनि गर्न सफल भए । जसमा सहयोगी वादकको भूमिकामा शंखवादक रुद्र शर्मा, पियानो वादक कान्छाबुद्ध बज्राचार्य, बेलावादक गोपालनाथ योगी, भगतसिंह वागदास, जलतरंग वादक कृष्णनारायण श्रेष्ठ, आदि थिए । तर रेडियो नेपालले आफ्नो विशाल साङ्गीतिक सम्पत्ति र शंखध्वनिका सर्जक उ. नेपाली साथै आफ्नै अमूल्य सङ्गीत सम्पदा र सम्पत्तिलाई वर्तमान समयमा संरक्षण गर्न सकेको देखिँदैन । यस किसिमका आफ्ना अमूल्य अनि महत्वपूर्ण साङ्गीतिक सम्पदालाई संस्थाले जगेर्ना गर्दै विश्व सामु प्रवर्द्धन गर्नुपर्ने थियो । मठ-मन्दिर मात्र सम्पदा र धरोहर हुन् भन्ने एकाकी अवधारणलाई वर्तमान समयमा बदल्नुपर्ने देखिन्छ ।

रेडियो नेपालबाट प्रसारण हुने गीत-सङ्गीतको स्तर र प्रसारणको क्षेत्र २०२० सालपछि फराकिलो हुँदै गयो । र, नवगायक/गायिका, साधक अनि रहरेहरूका जमघट हुने थलो नै रेडियो नेपाल भयो । अठार-बीस सालकै हाराहारीमा गणेश खुँजेली, लक्ष्मी जोशी, चन्द्र श्रेष्ठ, देवी राई आदिले ‘आकाशैको तार्लाङ तुर्लङ आंकुसेले तान्नु हौ साइँली लठ्यौरी’ र ‘ओल्लो खोलो पल्लो खोलो कमिलाको गोलो’ आदि लोकगीत गाएर लोकप्रिय बन्नपुगे । रायन, रामेश र समूहले ‘गाई चर्नेमा भैंसी चर्यो बनको सेखी झर्यो, बनको राजा कुसुण्डालाई हजुर भन्नुपर्यो’ भन्ने लोकगीत गाउन सफल भए । यसप्रकारका गीतहरू पछि बन्देज पनि हुन थाले र प्रशस्ती, जयगान र प्रार्थना आदि ढाँचाका गीतहरूको रेकर्डमा संख्यात्मक बृद्धि पनि हुन थालेको पाइन्छ ।

बीससालपछि ‘कलाकुञ्ज’ ‘लेकाली’, ‘देउराली’ जस्ता विशुद्ध नेपालीपनका तर प्रयोगात्मक लोक तथा समसामयिक आधुनिक गीतहरू लिएर आएका साङ्गीतिक संस्थाहरूको उदय भयो । जसमा क्रमशः कलाकुञ्जमा बच्चुकैलाश, नारायणगोपाल, प्रदीप रिमाल, श्रीधर खनाल, पुष्प नेपाली, नातिकाजी, शिवशंकर, कृष्णमान, त्यसपछि लेकाली समूहमा गणेश रसिक, हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, इन्द्रनारायण, नवीनकिशारे राई, साथै देउराली समूहमा भरत देउराली, मदन देउराली, महेश तथा काँशी आदिको सक्रिय सहभागिता रहन गयो । यही बीसदेखि तीससालको बीचमा रत्नरेकर्डिङ संस्थानको स्थापना भयो । र त्यसपछि झन् रेडियो नेपाललाई प्रसारणको दायित्व बढेर गयो । संस्थानले कलाकारका गीतहरू डिष्क बनाउने र रेडियो नेपालले प्रसारण-प्रवर्द्धन गर्ने कार्य अगाडि बढ्यो । यसै समयमा जगतमर्दन थापा, उपेन्द्र दुःखी, गणेश परियार, प्रसाद श्रेष्ठ, नूपुर भट्टाचार्य, सी.के.रसाइली, योगेश बैद्य, दीप श्रेष्ठ, शुभबहादुर, दीपक जंगम, मदन परियार, मीरा राणा, ज्ञानु राणा, बबी पन्त, झलकमान गन्धर्ब, कुमार बस्नेत, कमला श्रेष्ठ, आरती नेवा, कुमारी लिली सिंह, आदि धेरैधेरै कलाकर्मीहरूको रेडियो नेपालबाटै उदय र रचनात्मक परिचर्चाले विशेष स्थान प्राप्त गर्यो ।

तीस र चालीसको दशकभित्रै कल्याण शेरचन, कविता आले, तीर्थकुमारी, लालबहादुर खाती, अशोक देवान, मदन दीपबिम, रमेश ताम्राकार, द्वारिकालाल जोशी, सत्यनारायण राजभण्डारी, पाण्डब सुनुवार, शम्भुजीत बास्कोटा, दीपक खरेल, राम थापा, प्रकाश श्रेष्ठ, दीपेन्द्र थापा, रविन शर्मा, अरुण थापा, सरोजगोपाल, बाबा राणा, भोला रिजाल, मधु क्षेत्री, तारा थापा, जयनन्द लामा, क्षेत्र गुरुङ, सुन्दर श्रेष्ठ, बुद्धि परियार, देवबहादुर नेपाली, उपेन्द्र कार्की, ओमबिक्रम बिष्ट, युक्त गुरुङ, सूर्य थुलुङ, हीरादेवी राई, भारती उपाध्याय, नगिना जोशी, मानसिंह थुलुङ, सुकमित गुरुङ, सुदेश शर्मा, सुनिता सुब्बा, संगीता शाक्य, दीपतारा ताम्रकार, कुबेर राई, सीताराम ताजपुरिया, विमला राई, अन्जली सिंह आदिको रेडियोबाट सघन-साङ्गीतिक उपस्थिति प्रदर्शित हुनपुग्यो । ख्याती, सिद्धि र प्रसिद्धि पनि यी उल्लेखित कलाकारहरूले प्राप्त गरे ।

चालीस सालपछि निजी स्तरमा खुलेको म्युजिक नेपाल, सिम्फोनी, साङ स्टुडियो आदि पनि नेपाली गीत-सङ्गीतको विकासमा अगाडि बढ्यो । क्यासेट, सीडी, आदिका बजार बिस्तारित बने । यही समयमा नेपाल टेलिभिजको पनि स्थापना र प्रसारण सुरुभयो । टीभीले कलाकारका गीत प्रत्यक्ष र अप्रत्यक्ष प्रसारणमा बढोत्तरी दिन थाल्यो । आधुनिक गीतको भिजुयलहरू पनि प्रसारण हुन थाले । रेडियो नेपालबाट स्वर-परीक्षा लिने अप्ठेरा र छेकथुन बिस्तारै विलीन बन्दै गयो । स्वर-परीक्षा नदिई नै प्राइभेट स्टुडियोमा रेकर्डहरू हुन थाले । नयाँनयाँ शैली, पारा र ढाँचाका आधुनिक गीतहरू साथै सुरकर्मीहरूका साङ्गीतिक ब्याण्डको बाक्लो उपस्थिति जम्न थाल्यो ।

शास्त्रीय, लोक तथा पाश्चात्य शैलीका विविध हाँगाबिँगामा रचना गरिएका आधुनिक नेपाली गीत-सङ्गीतका चर्चा-परिचर्चा र बजार विस्तारित बन्न थाले । जसरी यहीबीचमा नेपाली राजनीतिमा परिवर्तन आयो त्यसरीनै पत्रकारिता र नेपाली सङ्गीतले ठूलै फड्को मार्न सफल भयो । नेपाली सङ्गीत पनि पेसा र व्यवसाय वा जीविकाको एक उद्योग हुनसक्छ, यसबाट पनि जीवनयापन गर्न सकिन्छ भन्ने जनविश्वासको स्तम्भ यसै समयमा स्थापित हुनपुग्यो । रेडियो नेपालको विगतको साङ्गीतिक-साँस्कृतिक प्रसारणको भूमिका र महत्व गौण भएको महशुस गर्न थालियो । यहीबीचमा रत्नरेकर्डिङ संस्थानको दुखद् बिसर्जन हुनपुग्यो । तापनि करिब पचास बर्ष जति रेडियो नेपालले गायक/गायिका, गीतकार तथा सङ्गीतकारका अमूल्य सिर्जनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उत्र्कीण गर्न महत्त्वपूर्ण भूमिका खेलेको विगतलाई बिर्सन सकिन्न । नेपाली सङ्गीतको समग्र विकास र बिस्तारमा रेडियो नेपाल तथा सङ्गीतकर्मीहरूको योगदान अतुलनीय रहिआएको यथार्थ कसैबाट छिपेको छैन ।

शनिबार, गोरखापत्र
चैत २१, २०६६

Leave a Reply

Your email address will not be published. Required fields are marked *