Skip to content


अब उप्रान्त
तिमी र मबीचको पर्खाल ढल्नेछ
पहाडहरू फुट्नेछन्
जेलहरू तोडिनेछन्
आकाश खस्नेछ र
हामी दुवैलाई ढाक्नेछ ।
न बन्देज रहनेछ सिन्दूरको ।
न भरोसा रहनेछ चुराको
फजुल कुराहरू नगर
वकवासहरू बन्द गर
म युद्ध निम्त्याउँछु प्रणयको !
प्रेम हो यही यो-
सिन्दूर र चुराहरको बार नलगाउ
जायज र नाजायजको प्रश्न नउठाउ
प्रणय हो यही यो –
मेरा दृष्टिबाट ओझेल नपर
जायज र नाजायज छुट्याउन
म तिम्रा निम्ति संविधान लेख्छु
हो, अघोषित संविधान !
जहाँ सूर्य अस्ताउँछ एकछिन, उदाउनका लागि ।
जहाँ ढोकाहरू बन्द हुन्छन् लुटेराहरूका लागि ।
पैले जन्माउन नसकेको
वीर छोराहरू छन् तिम्रो गर्भभित्र !
गर्भहरू तुहिन सक्छन्
हे सूर्य ! त्यतिञ्जेल नउठाऊ
हे आकाश ! मेरो प्रणयलाई ढाक
पि्रय, म तिम्रो गर्भबाट
अर्को सूर्य जन्माउँछु ।
भो चाहिँदैन-
रगतले लतपतिएको सूर्य !
अँध्यारोबाट पराजित सूर्य !
लुटेराहरूले कैद गरेको सूर्य !
भो चाहिँदैन
युगयुग समयसँग हारेको सूर्य ।
तिम्रो सगरमाथाले हमेसा छेक्ने सूर्य !
यसैले अघोषित जस्तै छ तिम्रो गर्भभित्र
पृथ्वीलाई पुरुषार्थ दिने मेरो सूर्य !
मेरो पृथ्वीलाई कायरहरूले चुरा पहिर्‍याए
मेरो पृथ्वीलाई लुटेराहरूले सिन्दूर लगाए
मेरो पृथ्वीलाई नपुङ्शकहरूले युगयुग भोगे
ए सूर्य ! तिमी अस्ताऊ-
म अब
पृथ्वीसँग अघोषित सम्झौता गर्छु ।
हो, अब उप्रान्त पृथ्वीका गर्भबाट जन्मनेछ-
मेरो ब्रहृमाण्डको अर्को जीवित सूर्य !

पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *