Skip to content

मिथिलाञ्चलको राजधानी कटेर उकालो

  • by


काठमाडौ, कार्तिक १२ –
मिथिलाञ्चलको राजधानीमा उत्रिँदा एउटा स्वच्छ, घमाइलो संसारमा पुगेजस्तो भयो । काठमाडौंको धूवाँ र धूलो त्यसमाथिको लामो झरीले निस्सासिएका हेमन्त र म । पहिलोपल्ट उपत्यकाबाहिर उडेकी बार्बरा । हवाईमैदान वरिपरिको विस्तृति टाढाबाट उठेका घरबस्ती हेर्दै हामी सहर पस्यौं । सहर घुम्ने इच्छा थियो, समय थिएन तर पनि यी टाढाबाट आएकी नेपालप्रेमी विदुषीलाई पहिलोपल्ट जनकपुर ओराल्न पाउँदा नेल्टालाई कम खुसी लागेको होइन ।

सहर पस्नासाथ बाटाका छेउछाउमा तलाउ देखिए । त्यसो त भदौरे झरीले बाटा पनि ससाना तलाउ नै भएका थिए तर त्यहाँ उता जस्तो कानेझार पलाएको थिएन, माछा र भ्यागुत्ता उफ्रन सकेका थिएनन् । मैले हाम्री अतिथिलाई बताएँ यहाँ कति तलाउ छन्, कति आश्रम र कुटी छन्, यिनको धार्मिक सांस्कृतिक महत्त्व के छ । आश्चर्यचकित भएर उनी शिर हल्लाउँछिन्, ‘वन्डरफुल’ उच्चारण गर्छिन् र बेलाबेला जिज्ञासा थप्छिन् । भर्खरै जर्नल अफ् लिटरेचर, आर्ट एन्ड कल्चरको सम्पादन सकेको थिएँ । नेपाल एकेडेमीको त्यो अमूल्य प्रकाशनमा डा. रामदयाल राकेशले सबै चिनाएका छन् जनकपुरका बारे ।

बाटा वरिपरि भर्खरको धानबारी लहलह देखेर बार्बराले उदेक मान्दै प्रश्न गरिन् यो कहिले पाक्छ ? महिना गनेर भन्यौं ‘डिसेम्बर’ तर अलिक मास्तिर पुग्दा बाला झुल्न थालेका गरा देखिए, कतै काट्ने बेलाको कतै पसाउँदो । आँपका थुम्के वृक्षहरू, नरिवलका अग्ला बोटहरू, कतै पुरानो भत्केको, कतै निर्माणाधीन ठूलो बाटोमा गाडी कतै उड्छ, कतै थतर्किन्छ तर गोधूली याममा एक विचित्रको सुन्दरताले धर्ती आकाश ढाकेको छ । सन्ध्यापखको सिरसिरे बतासले फुकेर लर्काएका गाँज, नुहिँदै उठ्तै गरेका धानबारी, तल आहालबाट पाखा निस्कँदै गरेका भैंसी, लामा टाँगा तेछ्र्याएर दहको डिलमा बसेका बल्छीहरू, पगाहामा तन्किएर चरिरहेका गाई, शिरमा पोको सन्तुलित गरेर डिँडेका नारीहरू, अत्यन्तै हतारले झैं आत्तिएर बिदिशातिर कुदिरहेका ख्याउटे कुकुरहरू । निकै माथि पुगेपछि अनुहारमा गौरव भरेर दिनेश बोले, हेर्नुस् सरहरू हाम्रा राष्ट्रपति डा. रामवरण यादवको गाउँ यहीँ हो । त्यहाँबाट घरै देखिन्छ । गाडी ढिला गरेर बाटापूर्व आँखा लगायौं ससाना माटाका एकतले घर, झंिगटी छानेहरू, अरू झुपडी, बाँसका, माटोले टालेका, अलि पर ठूला, आँपघारी भित्र, यता उखुबारीले छेलिएका । ठ्याक्कै घर त देखिएन । उनले भने त्यहीँ छ । आफ्नो छिमेकी यो देशका राष्ट्रपति हुन् भन्न पाउँदा कत्रो गौरव र स्वाभिमान हुँदोहोला खुसीले धपक्क बलेको उनको अनुहारले बोल्यो ।

घाम टुप्लक्कै डुबे माथि चुलाचुली पर्वत नीला र टाढाझैं अलि भयप्रद देखिन थाले । बतास चिसिएर आयो । त्यस बेला अलि टाढा बाटामा कुइरीमण्डल देखियो । छेउमा पुगेपछि देख्यौं पाँच सय गाईवस्तुको बथानले सडक ढ्याप्पै ढाकेको थियो । एकछिन गाडी नै रोकियो । सुरुका एकदुईले घाँटीमा घन्टी भिरेका थिए । ती टिङ्लिङ टिङ्लिङ बजाउँदै, खुरमा खुरको चाल मिलाएर सबै सेतैसेता, अलिकति कताकति खैरा टाटे अरू सेता, मुडुली गाईका बथानले बाटै ढाके । केही अधबैंसे गोरु पनि थिए । थुनतिर पल्केका ससाना बाच्छाबाच्छी पनि बथानभित्रै मिसिएका । सरक सरक, एक लहर, खजमज आर्मी जम्मा दुई तीनजना गोपाल काँधमा लौरा तेस्र्याएर एउटा बथानको सुरुमा हिँडेका, अर्काे बीचमा र अर्काे अन्त्यमा हिँडेका । तीनैजना ग्वाला उमेर ढल्केका, काला वर्णका तालु खुइलिसकेका छोटा धोती र गन्जीमा थिए । काँधमा ससाना झोला थिए । एउटाले मात्र छाता च्यापेको थियो । किन दिनेश यो विचित्रको लस्कर यो बथान तीनजनाले यी पाँच सय लिएर कता हिँडेका यो साँझमा ? छक्क पर्दै मैले सोधेँ । उनले बताए, यी सारा गाउँभरिका गाईवस्तु यी तीनजनालाई अन्नपैसा दिएर हेर्न लगाउँछन् वर्षभरिलाई । यिनीहरूले कसरी आआफ्ना गोठ चिन्लान्, कसरी जिम्मा लाग्छन् ? ती प्रत्येकले आफ्नो घर चिनिहाल्छन् । यहाँ यस्तै छ सर, दिनेश बोले । ठूल्ठूला सहरले पशुपालन संस्कृतिको अन्त्य गराइरहेका बेला राष्ट्रपतिको गाउँतिर झरेका यी बथान देख्ता कम आनन्द लागेन ।

वार्ता गर्दै जान्छौं, बोलेको भाषा र व्याकरणमा पो नमिल्ने हो कि ? बोलीको लय, तान, लयघात, बलाघात, हावाको झोक्का नमिलेर नबुझ्ने पो हुन् कि ? मलाई बेलाबेला पीर लाग्छ र सतर्क भएर बिस्तारै बोल्छु । सरी ? पार्डन् मी ? भनिन् भने त मर्नु हुन्छ किनकि म अंग्रेजी सिकाउने हुँ भनिसकेको छु । उनले मनमनै ठान्न सक्छिन्, हाँस्न सक्छिन्, यसरी दोहोरो बात गर्नै नसक्नेले कसरी के बुझेर अंग्रेजी पढाउलान् । सकेछन्, नेपालमा कटमिरा गुरुहरूले हाम्रो अंगेजी बेचेर सकेछन् । हामी अंग्रेजी रोप्छौं, हुर्काउँछौं, फलाउँछौं, फल टिपेर खाने यिनीहरू । त्यस्तो सोचिन् कि ? तर सोचिनन् होला । मिसिगनबाट संसार हेर्न निस्केकी यी विदुषीले सिरियामा वर्षदिन बिताइसकेकी छन्, भारतवर्षका अनेक ठाउँमा टाढाको पूर्वी प्रान्त हानिएर असमसम्म देखेकी छन् । त्यहाँका घर, मानिस, तिनीहरूका आभूषण, वस्त्र, बोली धेरै कुरासँग उनी परिचित छिन् ।

बाटाका छेउमा ससाना झुपडी र बाँझो चौर आयो । त्यहाँ मानिस झुरुप्पै थिए, अलिपर सिलिङ्बिलिङ् वर र पर गर्थे । उज्यालो मेटिने बेला भएको थियो तर ढाकीमा आलु, पिँडालु, लट्टे, घिरौँला, लौका, गोलभेंडा फिंजाएर पर्खिरहेका नारी थिए । अरू पनि सर्दामका यस्ता थुप्रा बिक्रीमा थिए । बेच्ने ती बूढी र अधबैँसेहरू कोही टुक्रुक्क बसेका, कोही भुइँमा पलेँटी कसेका, जुत्ताचप्पलबिनाका थिए । पर्तिर कोही रिबिन, चुरा, केही किन्नेजस्तै, अझै कोही नाङ्गा खुट्टे बालबालिका भुस मिठाइको वरिपरि झुत खेल्दै थिए । लट्ठीमा उनेका भुस मिठाइका राता पोका सकिनै आँटेका थिए । एउटाको अघिल्तिर पिँडालुका पातमा ससाना हिलेमाछा उफ्रिन्थे, आफ्ना छेउमा माटाको हाँडी छोपी राखेर त्यो तराजु पुछ्तै थियो । रूखको फेदमा एउटाले जिलेबीको अन्तिम बाहान कराइमा घुमायो । खाने सर्दाम के थियो प्रस्ट भएन, घर जान ठिक्क परेका चनाचटपटी टाउकामा सामान राखेर चानचुने गन्दै थिए । एउटा जीवन्त सलबलाहट झििलक्क हेर्‍यौं । ती फुपूले छक्क परेर सोधिन्, ‘ह्वाट इज् ह्यापनिङ हियर, हेमन्ट ?’ आज यहाँ के हुँदै छ ? ‘दिस् इज् विक्ली मार्केट बार्बरा’ मैले भनेँ । ‘फ्राइडे मार्केट ?’ उनले स्वीकृति खोजिन्, ‘यस’ मैले भनेँ ।

राजमार्ग पुगेपछि हाम्रा गुरुजीले गाडी उडाए । नौली मान्छे, अतिथि लिएर आएका छौं । उदयपुरमा अंग्रेजीको गोडमेल गर्न हिँडेका हामी । गुरुजीले बाटैमा कतै जोत्ने हुन् कि । डरडर पनि लाग्यो तर ठाउँठाउँ भेटिने घरतिर र्फकेका बथानले, बालुवा बोकेर पश्चिम उडेका ट्याक्टरले अवरोध गर्दाहुँदी हाम्रो गाडीको गति टुंगामा आयो तर गुरुजी शान्त स्वभावका मृदुभाषी अधबैंसे थिए । राजमार्ग छाडेर उत्तरतिर लागेपछि मात्रै उनी निकै मत्थर भए । सायद अब तिनी भोकले गले हुनन् । हामी पनि गल्न थालेका थियौं । उज्यालैमा गाईघाट पुगौंला भन्ने थियो तर चुरेको जंगल प्रवेश गरेपछि केही कतै नदेखिने भयो । तलका बस्तीहरू छेलिए । अलिअलि उचालिँदै गएका समथरिलो भूमिमा घुम्तीहरू आउन थाले । बाहिर निस्पट्ट अन्धकार बढ्यो । हेडलाइटले देखिने वृक्षका फेदहरू ससाना सुरिला उचाइका यी सालसखुवा हुनुपर्छ आकाशमा जोडिएका लाग्थे । यो भित्री मधेसको भावरमा यसरी उत्तीस पलाउन सक्तैन । कि पछि रोपिएका कुनै नक्कली जात हुन् कि ? हुन सक्तैन । यति धेरै घुम्ती काट्यौं, यति निस्पट्ट अँध्यारोभरि लहरैलहर एकनाशका वृक्षले ढाकेको जंगल घना र गम्भीर हुँदै आयो । बाहिरी दृश्यमा जुध्ने आँखाहरू लोलाउन थाले, बोली रोकिँदै गयो ।

प्रकाशित मिति: २०६७ कार्तिक १३ ०७:१८
कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *