Skip to content


साहित्यिक पत्रकारितासँग जोडिएका मेरा धेरै स्मरणहरू छन् । कतिपय प्रकाशन पनि गरेको छु भने कतिपय स्मरणबाट टाढा भइसके । समय व्यतीत हुँदै जाँदा र उमेरको कारणले कतिपय स्मरणहरू त्यसै हराउँदै जाँदा रहेछन् । त्यतिबेला म वामआन्दोलनमा थिएँ । पञ्चायती सरकारको विरोधी आन्दोलनका क्रममा जेलनेल पनि भोगियो । पञ्चायतकालको जगजगीमा पत्रिका निकाल्नु वा सरकारको विरोधमा बोल्नु कठिन काम थियो । केही पत्रिकाहरूले जनपक्षीय धारबाट आफूलाई उभ्याएका थिए भने सरकारको नियन्त्रणमा रहेको सञ्चारमाध्यम गोरखापत्रले आफूलाई समयानुकूल पस्केको हुन्थ्यो । सरकारी पत्रिकामध्येकै कोटिमा पर्ने मधुपर्कको जन्म पनि पञ्चायतकालमै भयो । सरकारको नियन्त्रणमा रहनु एउटा बाध्यता भए पनि हामी साहित्यकारका लागि र भाषासेवीका लागि साहित्यिक पत्रिकाको प्रकाशन हुनु सुखद् कुरा थियो ।

म वामआन्दोलनमा लागेको भए पनि मधुपर्कले हाम्रा रचनालाई स्थान नदिएको जस्तो मलाई लाग्दैन । बरू प्रत्यक्षरूपमा पञ्चायतमाथि प्रहार गरिएका रचनाहरू चाहिँ छापिन गार्‍है थियो तर पनि लेखकहरू समावेश गर्नेक्रममा घुमाउरो पाराले पञ्चायतको विरोध गरिएका रचनाहरू पनि छापिने गर्थे । त्यहाँभित्र पनि चेतना भएका र जनताको पक्ष लिने मानिसहरू थिए । सकेसम्म उनीहरूले सबै विचार र विधाका सामग्री समेटेको जस्तो लाग्छ । मसँग पनि नियमितजस्तो मधुपर्कबाट सम्पर्क हुन्थ्यो । रमेश विकलका कारणले पनि विजय चालिसेसँग मेरो घनिष्ठ सम्बन्ध थियो । उहाँलगायत त्यहाँ रहेका धेरैजसो साहित्यिक कर्मचारीसँग मेरो सम्पर्क रहिरहेको छ । उहाँहरूले केवल जागिरका लागि काम गरेको जस्तो लाग्दैन । हाजिर गरेर मात्रै बिताएको भए आज मधुपर्क ५०० अङ्कमा पुग्ने थिएन । यतिका वर्ष साहित्यिक पत्रिका चलाउनु भनेको गाह्रो कुरा हो ।

भूमिगतकालमा गोरखापत्र संस्थानका रामराज रेग्मी, प्रेमराज उपाध्याय, कृष्णचन्द्र अर्याल आदिसँग मेरो सम्पर्क हुन्थ्यो । उहाँहरू सरकारी जागिरे भए पनि पञ्चायतविरोधी हुनुहुन्थ्यो । कृष्णलाल अर्याल त मेरा गायत्री गुरु पनि हो । उहाँ त्यतिबेला त्यहाँ भाषा सम्पादनको काम गर्नुहुन्थ्यो । लेखक पनि हुनुहुन्थ्यो । मधुपर्कको योगदान वा यसले बोल्ने वैचारिकताका बारेमा कुरा गर्नुपर्दा यसको साहित्यिक पत्रकारिताका क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको छ । वैचारिकतालाई तत्कालीन समय र परिवेश अनुसार मूल्याङ्कन गर्नुपर्दछ । सरकारलाई नाघ्न नसक्ने यसको आफ्नै बाध्यता छ तर रचनामा यसले कहिल्यै पनि विभेद र पूर्वाग्रह गरेको जस्तो मलाई लाग्दैन । पञ्चायत सरकारले पत्रिकालाई नियन्त्रण गरेका कारण त्यस्तो भएको हो भने त्यसको दोष मधुपर्क वा यसमा काम गर्नेलाई जाँदैन, त्यो पञ्चायत सरकारको सोचको दोष हो । त्यतिबेला अरू पत्रिकाको स्वीकृति लिन पनि गाह्रो हुन्थ्यो । सायद मधुपर्कलाई त्यो समस्या परेन । सरकारले प्रत्यक्ष-अप्रत्यक्षरूपमा नियन्त्रण गरिरहेकै हुन्थ्यो । त्यसको प्रभावमा स्रष्टाहरू पनि पर्दै आएका हुन् ।

अहिले प्रजातन्त्र हुँदै गणतन्त्र आएको छ । हामीले वर्तमानको सामयिकीमा हेर्दा गणतन्त्र वा लोकतन्त्रको अनुकूलमा मधुपर्क छ कि छैन भन्ने मूल्याङ्कन गर्ने हो । मुख्य कुरा पत्रिकाले सङ्कुचित भएर प्रस्तुत हुनु हुँदैन । खुल्ला र उदार हुनुपर्छ । यसले सरकार पक्षका विचारलाई मात्रै स्थान दिनु हुँदैन । अब त त्यस्तो गर्नुपर्ने बाध्यता पनि छैन । मेरो विचारमा यस पत्रिकाले स्वदेश र विदेशमा रहेका नयाँ/पुराना सबै स्रष्टालाई भ्याएसम्म स्थान दिएको छ ।

मेरै हकमा पनि लेख, संस्मरण, वार्ता, सन्दर्भ र विशेष अङ्कहरूमा मधुपर्कले स्थान दिइरहेकै छ । मेरै घरमा आएर त्यहाँका सम्पादकहरूले लेख, निबन्ध, डायरी, विचारवार्ता र सल्लाह लिने काम पनि गर्नुभएको छ । विभिन्न गोष्ठीहरूमा पनि बोलाउने गरिएको छ । गोरखापत्रसँग पनि मेरो लामो सम्पर्क छ । मैले वि.सं. २०१६ सालमा त्यस पत्रिकामा प्रकाशन गरेको भीमनिधि तिवारीको ‘नोकर’ कृतिमाथिको समालोचनाको फोटोकपी हालसालै विजय चालिसेले उपलब्ध गराउनुभएको छ । म मेरा हालसम्मका समीक्षाहरूलाई सङ्कलन गर्दैछु । मधुपर्कमा पनि मेरा समीक्षा प्रकाशित भएका छन् । मैले पनि सकेसम्म यो पत्रिका किनेरै पढ्ने गरेको छु । आफ्नो लेख निस्किएको अङ्क सङ्कलन पनि गर्ने गरेको छु ।

मधुपर्कले आर्थिक अवस्थाले भ्याएसम्म पारिश्रमिक पनि दिँदै आएको छ । यो लेखकका लागि प्रोत्साहन र लेखकस्वको कुरा हो । मैले त वि. सं. २००५ सालमै ‘हामीलाई ज्याला दिनुस्’ भनेर ‘शारदा’ पत्रिकामा लेख लेखेको थिएँ र गोविन्दबहादुर मल्ल ‘गोठाले’ले त्यसलाई स्थान दिनुभएको थियो । लेखकले निःशुल्क लेख्नु नपरोस् भन्ने मेरो भनाइ हो । अर्को कुरा हामीले पत्रिका पनि किनेर पढ्ने बानी बसाल्नुपर्छ ।

मधुपर्कको ५०० अङ्क प्रकाशन हुन लागेकोमा मलाई खुसी लागेको छ । अझ राम्रो काम गर्दै जाओस् । यसको निरन्तरता रहिरहोस् ।

प्रस्तुति ः यशोदा अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *