Skip to content


बिहानको कलिलो घामको उज्यालोले दर्वेसा गाउँको मध्यभागमा रहेको एउटा सानो टोलको पाँच धुर जमिन ओगटेर बनेको आशादेवीको घरमा रङ बदलेको छ आज । सन्ठी र टाटीले बारेर माटोले लिपेको अनि गोलाकार फुसको छानो भएको यो सानो घर सधैँ नै आफूलाई आकर्षणको केन्द्रमा राखिरहन्छ । भित्तोमा कोरिएका सेता रङका कलश र फूलहरूमा राता किरणका हातहरूले एउटा अद्भूत स्नेहालु रङ छरिरहेको छ घरभरि । चित्रकला पनि त यस्तै हुन्छ ।

चित्रकलाभित्र पसौँ । भित्री क्यानभास तीन खण्डमा विभाजित छ । एकातिरको कुनोलाई बाँसको कप्टेराले बारेर भान्सा बनाइएको छ । त्यो कप्टेरेबारसँगै सटाएर बनाएको आँटाको खोपामा रङ र कुचीका भाँडा छन्-पोतारी । आँटामाथि विफरले बिगारेको अनुहारजस्तै भएर दुई वटा गाग्राहरू बसेका छन् । एउटाको त घाँटीभन्दा माथिको भाग पनि छैन । अहिले ती दुवै गाग्राहरू पानीले भरिपूर्ण छन् । तिनका छेउमा एउटा पितलको करूवा र दुईवटा सिलावरको आमखोरा पनि टलक्क टल्किएर आँटाको शोभा बढाइरहेछन् ।

आँटाको नजिकैको भुइँलाई केही खाल्टो पारेर बनाइएको एउटा सानो अँगेनो छ । सेतो फूलखरानीले भरिएको अँगेनामा गाडिएको तीनखुट्टे ओदानमाथि एउटा चियादानी बसालिएको छ । ओदानका तीन तिरका मुखबाट घुसारिएका सानासाना झिक्राहरूबाट निस्किएको पुतपुताउँदो धूवाँको मुस्लोलाई निस्तेज पार्दै बेलाबेलामा आगोको मलिन झिल्को फुत्तफुत्त नाचिरहेछ । आगो राम्ररी बल्न सकेको छैन । दाउरा काँचो भएर हो वा छेउछाउ आगो फुक्ने मान्छे नभएर हो । साधन र साध्य परिपुरक भएका छन् ।

अँगेनाकै छेउमा एक पाथी जति मुरइले भरिएको एउटा डालो छ । सेतो मुरइको शिरमा सखरको धूलोले भरिएको सानो कचौरा पहेँलो फूलको थुँगाजस्तै सुहाएको छ । भान्साले ओगटेको भन्दा बाँकी भागको जमिनलाई पनि बाँसकै कप्टेराले बारेर दुईवटा कोठा बनाइएको छ । एउटा कोठा राजाराम र आशादेवीको हो भने अर्को आशादेवीकी सासू अर्थात् राजारामकी आमा रामदेवीको । रामदेवी दुई नातानातिनालाई आफूसँगै सुताउँछिन् । साधारण एकसरो ओड्ने अेाछ्याउने र डोरीमा झुण्डिएका केही लुगा, एउटा पुरानो बाकस अनि भान्सामा केही भाँडाकुडाहरू छन् । घरभित्रको क्यानभासमा चित्र यस्तै भए पनि हिजो मात्र कुचिकारले एउटा रङ थपेको देखिन्छ । राजारामको कोठाको एक छेउमा एउटा नयाँ झोलाले प्रवेश पाएको छ । घरको कोही व्यक्ति परदेश लाग्दैछ भन्ने सूचक हो यो झोला । परदेशीलाई खोज्न निस्कौँ अब ।

सिकुवाको खाटमाथि झल्ला हालिएको छ र अहिले त्यहाँ दुई प्राणी बसेका छन् । परदेशी अर्थात् राजाराम र उसकी आमा रामदेवी । राजाराम आज कपाल दारी काटेर, नुवाईधुवाई गरेर सफा भएर बसेको छ । उसको शरीरमा हिजो मात्र सिएर ल्याएको नयाँ कमिज पेन्ट छ । आज राजाराम यसरी सफा भएर नयाँ लुगा लगाएर बस्दा आफैँमा अनौठो मानिरहेछ । हुनसक्छ, ऊ अहिले आफ्नो बिहेको दिन सम्झिरहेछ । यति फुर्सदिलो र राम्रो बिहेकै दिन त भएको थियो ऊ । हिजोसम्म उसले यतिबेला एक कठ्ठा जमिन जोतिसक्थ्यो ।

खाटमा राजारामको नजिकै समयलाई उछिनेर शरीरभरि चाउरीका मुजाहरूलाई निम्त्याइसकेकी उसकी आमा रामदेवी टुक्रुक्क घुडो दोब्राएर बसेकी छ । बेलाबेलामा उसका सुकेका हातहरू थाहै नपाई उठ्छन् चलमलाउँछन् र राजारामको ढाडलाई सुमसुम्याउँन पुग्छन् ।

रामदेवीको सम्पूर्ण शरीर हेर्दा लाग्छ यो बाँसको सानासाना लठ्ठीहरूमा पेच हालेर बनाइएको छ । मुखले व्यक्त गर्न नसके पनि उनको हृदयमा वर्षौँदेखि थुप्रिएर रहेका शब्दका ढिस्कोहरूमा आज कम्पन आएको छ र ती टुक्राटुक्रा भएर उनको आफ्नै पोल्टाभरि खसिरहेछन् । आँखाको नुनिलो सागरलाई परेलीका बाँधहरूले थाम्न निक्कै गाह्रो परेको स्पष्ट देख्न सकिन्छ । हिजोसम्म बिहान छोरालाई छिटो गरेर काममा जान भनिरहने मुखले आज कसरी बिदा दिने उसले सोच्न सकेकी छैन । खुसी, दुःख र डरको पीङ अलिक बढी हुत्तिए पनि उनी डराउँछिन्, नमच्चिँदा पनि डराउँछिन् । डरको कुनै सीमा छैन ।

घर अगाडि ठडिएको परेवाको गुँडबाट एउटा बचेराले टाउको बाहिर निकाल्छ । मुक्त आकाशमा फैलिएको रक्तिम आभाको किरणले उसलाई अलिकति चञ्चल बनाउँछ । फुत्त बाहिर मात्र के निस्केको हुन्छ ऊ भुइँमा पछारिन्छ । मूर्ख बबुरो तँलाई के थाहा त्यो अभेद्य आकाशगङ्गामा तेरो मन लोभ्याउने सुनौलो किरण मात्र विचरण गर्दैन । बिहानीको शीतल हावाको प्रदेशमा जिस्किँदै, मस्किँदै कावा खाँदै विचरण गरिरहेको चीलको आँखाको नानीमा ऊ टल्किहाल्छ । कसो बचेराका चलाख आमाबाबुले समयमै उसको उद्धार गरिहाल्छन् । बचेरा डरले थरथर काँपिरहेको हुन्छ । आमाको मौनता वाचाल हुन्छ सायद ऊ भन्छिन् –

– गर्भे टुहुरो भए पनि तँलाई मैले अनेक रङले हुर्काएँ । तेरो र मेरो दुःख र सुखका दिनहरू यही सङ्घारमा वामे सर्दै ठूला भए र साँझको कुइनेटोमा अल्झिएको घामजस्तै भएर भोलिको सुखद् क्षणको आशा गर्दै बितिरहे । रामदेवीका आँखाबाट दुई थोपा आँसु तप्पतप्प आफ्नै काखमा खस्छन् ।

– तँलाई जन्म दिँदा झण्डै मरिसकेकी थिएँ । आज त्यो दुःख सम्झदा पनि कहाली लाग्छ । यो धरतीमा आँखा उघारेदेखि आजसम्म तँ मेरो नजरबाट ओझेल भएको छैनस् । अब मेरो जीवनको प्रदोष कालमा तँ विदेसिन लग्दैछस् । म कुन मनले तँलाई बिदा दिउँ । फेरि बिदा नदिन पनि त सक्दिन । परिवारको भार तैँमाथि छ । समय पनि त अर्कै भइसक्यो । तेरो र मेरोलागि यो बिदाइ अन्तिम त हुनेछैन ?

रामदेवीको मनमा कुराहरू पहरोको झरनाजस्तै तीब्र गतिले झर्दै बगिरहन्छन् । त्यतिकैमा घरको दायाँ करेसाबाट राजारामकी ठूली आमाकी छोरी यशोदा सगुनको सामग्री लिएर आइपुग्छे । यशोदाको आगमनले आमाछोराको बीचमा अल्झिरहेको शून्यतालाई फुकाइदिन्छ ।

“यशोदा, यता आएर बस । एक्लै आएकी ?” रामदेवीले मनको बोझलाई पन्छाउँदै भनी । त्यतिबेलै आशादेवी पनि सबैलाई चिया लिएर निस्किन्छे । उसका दुवै छोराछोरी आमाको पछिपछि आँखा मिच्दै आउँछन् र खाटमाथि उक्लिन्छन् । यी सबै कुराले वातावरणमा नौलो चहक ल्याइदिन्छ ।

घरका सबैले चिया पिउँदै गर्दा गाउँका केही युवाहरू आइपुग्छन् । जसरी केही वर्षअघि खाडीमा काम गर्न गएका गाउँलेको सहयोगले राजाराम विदेशिन लाग्दैछ त्यसैगरी राजारामको मद्दतले भविष्यमा आफ्नो लागि पनि परदेशको ढोका खुल्नेछ भन्ने आशाको दियो उनीहरूले मनमा बालिसकेका छन् । राजारामलाई पनि आफ्ना छिमेकी भाइहरूको मनस्थिति पूरै थाहा छ तर पनि मनको अन्तरमा कताकता अल्झिन आइपुगेको आशङ्काको बादललाई हटाउन मुस्किल परिरहेछ । उसको मौनता पनि वाचाल भइरहेछ ।

– परार साल कत्रो धुमधामसँग हर्षबढाई गर्दै कतार पुगेको श्रीनिवास कागजपत्रको रीत नपुगेको बहानामा झण्डै जेल परेथ्यो । उसको बाबुले ऋण गरेर पचास हजार पठाएपछि बल्लतल्ल त्यहाँबाट उम्केर आइपुगेकेा थियो ।

– पाँच वर्ष खाडीमा काम गरेर फर्केको कालियाले पैसा कमाएर ल्याउनु त कता हो कता, उल्टो जाने बेलामा लिएको ऋण पनि तिर्न सकेन । ऊ हलियाको हलिया नै रहृयो ।

– उसको आफ्नै फुपूको छोरा बुधरामले केही धन कमाएर ल्यायो । साहूसँग जमिन निखन्यो । एक हल गोरु पनि किन्यो केही रकम बैङ्कमा पनि राखेको छ । छोराछोरीलाई पढाउन भनेर तर ऊ जीवनभर अपाङ्ग भएर रहने भयो । काम गरेकै समयमा मेसिनले उसको दुवै हातका औँलाहरू काटिदिएछन् ।

बब्लु काम गर्न गएको त झन् एघार वर्ष भइसक्यो । उसको बुबा भन्दै थिए बल्ल ऋण तिरिसकियो भनेर ।

राजारामलाई लाग्छ यस्तै केही भयो भने के गर्ने । त्यहाँ गएर कस्तो काम गर्नुपर्छ त्यो पनि थाहा छैन । महिनाको आठ हजार पाइन्छ भनेर एजेन्टले भनेको छ । खाइलाई गरेर पनि महिनाको पाँच हजार त जसरी पनि बचाउँछु भन्ने लागेको छ उसलाई । उसको मनले भन्छ-

“काम त जस्तो गाह्रो भए पनि गर्छु तर आफू लेखपढ गर्न जान्दिन त्यसैले कुनै लफडामा चाँहि नपरूँ हे भगवान् ।”

बिचरा राजारामलाई कति विश्वास छ भगवान्मा । उसलाई के थाहा भगवान् पनि मतलबी छन् भन्ने कुरा ।

“राजाराम दाइ । के सोचिरहेको ? आमा, भाउजू र केटाकेटीको चिन्ता लागेको हो कि ? हामी सबै छँदैछौँ नि दाइ । कुनै चिन्ता लिनुपर्दैन” भोलाले परिस्थितिको बोझिलतालाई मेट्ने प्रयास गर्दै भन्यो ।

तुरून्तै सन्तुले थप्यो “यो गाउँबाट अरबमा काम गर्न जाने धेरै छन् । सबैले पैसा कमाएर ल्याएर सुख पाएका छन् । तपाईँका पनि दुःखका दिन अब सकिन्छन् दाइ । हामी पो कस्तो कर्म लिएर आएका छौँ कुन्नि । दाइले अब हामीलाई पनि तान्नुहुन्छ भन्ने आशा छ । अब छिटै जाउँ । हामी तपाईँलाई बस चढाएर मात्र फर्कन्छौँ । बस छुट्यो भने बेलामा पुगिन्न । तपाईँसँग जाने साथीहरू पुगिसके होलान् । हिजो भेट्दा बिहान छिटै बस स्टप पुग्नु भनेका हैनन् ?”

भोला र सन्तुको कुराले राजारामको मनलाई हल्का गराउँछ । आफ्ना दुःखलाई चियाको सुर्कोसँगै निलिरहेकी आमालाई हेर्दै ऊ मनमनै भन्छ,

– आमा ! तिम्रो दूधको भारा चुकाउनेछु । म नफर्केसम्म आशिष दिइरहनु ।

कचौराको रातो चियाको झोलमा मुरइ डुबाएर खाइरहेका छोराछोरीलाई हेर्छ र सोच्छ

– तिमीहरूको भविष्य मेरोजस्तो हुनेछैन ।

पत्नीको हिसी परेको हँसिलो मुहार र सिउँदोमा चम्किरहेको सिन्दुरको चमकले ऊ आफूलाई शक्तिशाली भएको अनुभव गर्छ अनि अठोट गरेर सोच्छ,

– तिम्रो प्रेम र हौसलाले यति ठूलो आँट मनमा पलाएको छ । म तिमीलाई पक्कीघरकी मालिक्नी बनाएरै छाड्छु ।”

राजाराम आफ्नो मनबाट श्रीनिवास, कालिया, बुधराम र बब्लुलाई हटाइदिन्छ ऊ भोला र सन्तुले देखाएका सपनाको हाँगो समात्छ । ऊ हँसिलो हुँदै उठ्छ र भन्छ, “म झोला लिएर आइहाल्छु ।” अनि ऊ घरभित्र पस्छ । सबैजना टीका, माला सगुन लिएर उसको प्रतीक्षा गर्न लाग्छन् ।

मधुपर्क २०६७ फागुन
गोविन्द गोठाले विशेष

Leave a Reply

Your email address will not be published. Required fields are marked *