Skip to content


बल्खु खोलाको पुल रहेछ जीवन जसमा कहिले हलुका साइकल सवार हुन्छ त कहिले भारी सामान लादिएका ट्रकहरू गुड्छन् । बल्खुको पुललाई तीन दशकदेखि र जीवनरूपी खोलाको पुललाई पाँच दशकदेखि नियालिरहेकी छु । ट्रक हिँड्छ, पुल हिँडदैन । समय हिँड्छ, जीवन हिँड्दैन । ट्रक र समय, पुल र जीवन । सायद यही सादृश्य रहेछ जीवनको सार । ठूला ठूला ट्रक गुडेनन् भने बल्खु खोलाको त्यो बडेमाको पुलको के मूल्य ? जीवनरूपी पुलमाथि पनि समय अनेकन् स्वरूपमा हिँडेन भने जीवनको पनि के मूल्य ? समयपीडारूपी बडेमानका ट्रकहरूको कुल्चाइले मेरो जीवनलाई मूल्य प्रदान गरिरहेछ । लाग्छ, सङ्घर्ष नै गर्नुपरेन भने जीवनको मूल्य के ? आस्थाको मूल्य के ? निष्ठाको मूल्य के ? रागविरागको मूल्य के ? आत्मीयताको मूल्य के ? सङ्घर्षले जीवन र समाजका यावत् कुराहरूलाई मूल्य प्रदान गर्दछ, शक्ति र वजन प्रदान गर्दछ । यसैले मलाई त सङ्घर्ष प्रिय लाग्छ, आत्मीय लाग्छ र लाग्छ जीवनको भरोसा पनि । सङ्घर्षले मसँग सहयात्रा नगरेको भए अहिले म जहाँ आइपुगेकी छु त्यहाँ कुनै पनि हालतमा पुग्ने थिइनँ ।

पीडा र सङ्घर्षले खाली भएनन् मेरा जीवनका पलहरू । पूर्व फर्कंदाको बेग्दै पीडा, पश्चिम फर्कंदाका बेग्लै पीडा । बोल्दाका बेग्लै पीडा, चुप लाग्दाका बेग्लै पीडा । विवाह अघिका बेग्लै पीडा, विवाहपछिका बेग्लै पीडा । पीडा हुँदा पनि र नहुँदा पनि मलाई एकान्त खुब मन पर्छ । त्यही एकान्तमा एक्लै बसेर सङ्घर्षका तानाबाना बुन्छु र आफ्नै निर्णयका रूपरेखाले पीडासँग पञ्जा लडाउँछु । म सङ्घर्षका क्षणमा प्रायः अरूका सल्लाहअनुसार चल्दिनँ र यदि अरूका सल्लाहका मार्गदर्शनमा चले पनि मैले अधिकांशतः पछुताउनै परेको हुन्छ ।

म एउटै जीवनमा अनेकन् जीवनहरू भोगिरहेकी छु र यसो हुनु सङ्घर्षकै बहुआयामिकता हो । म पूर्ण रूपमा गृहिणी हुँ, सारा गृहस्थीकर्मको जिम्मेवारी बोकिरहेकी छु । दुई सन्तानकी आमा हुँ र हरपल मलाई आमा हुनुको जिम्मेवारीले पछ्याइरहेको हुन्छ । म एउटी श्रीमती हुँ र परम्पराले जिम्मा लगाइदिएको भन्दा केही फरक र केही उस्तै कर्तव्य पनि पूरा गरिरहेकी छु । परिवारकी जेठी छोरी हुनुका नाताले छुट्टै जिम्मेवारी छ र मेरा पिताको निधनले त्यसलाई अझै बढाइदिएको छ । नेपालको केन्द्रीय विश्वविद्यालयको केन्द्रीय क्याम्पसकी प्राध्यापक हुनुको जिम्मेवारी, सामाजिक रूपान्तरण अभियान साहित्यिक राजनीतिक कार्यकर्ता हुनुको जिम्मेवारी ।

उफ् ! सम्झँदा पनि थकाइ लाग्छ । बरू यस्ता जिम्मेवारी र तिनलाई पालन गर्दाको सङ्घर्षको त गणना नै नगर्नु जाती हो कि जस्तो लाग्छ । एकैचोटि दुईवटा नाउमा गोडा नहाल्नु भन्छन् । मेरा गोडा त अनेकन् नाउँहरूमा पालैपालै नाचिरहेका छन् । कुन दिन, कुन क्षण जीवन झ्वाम्म पानीमा खसेपछि झस्याङ्ग हुने हुँ, पत्तो छैन ।

मलाई आफू आफ्नो जीवनका हरेक सन्दर्भमा सङ्घर्षरत रहेको अनुभव हुन्छ । लैङ्गकि नाताले चरम उत्पीडन भोगेको आफ्नो पेसागत क्षेत्रमा आन्तरिक र बाहृय दुबै खाले सङ्घर्ष गरेकी छु । कमै पुरूषले मात्र प्राध्यापकीय पेसामा मेराजस्तो चरम अपमान र पीडा भोगेको हुन्छ । मलाई उत्पीडित गर्नेमध्ये एकजना सेवानिवृत्त भइसके भने अर्का एकजना मेरा सहकर्मी छन् । यही घटनादेखि हो मेरो मनबाट डर भन्ने कुरा साट सुट्टै हराएको पनि लैङ्गकि सङ्घर्ष भोग्नेले मात्र देख्ने कुरा रहेछ र जीवनका हरेक पाइलालाई लैङ्गकि सङ्घर्षले पछ्याइरहेको छ ।

प्रायः सबै जिम्मेवारी बोकाइमा त म असन्तुष्ट छैन तर साहित्य लेखनको जिम्मेवारी भने आफैँलाई सन्तुष्टि मिल्ने गरी पूरा गर्न पाउने दिनहरूको प्रतिक्षामा छु ।जीवनमा सबै थोक बिर्सेर साहित्य सिर्जनामा लाग्न सक्ने दिन आएपछि बल्ल म आफैलाई आफू साहित्यकारजस्तो लाग्ला कि ! नागरिक हुनुको परिसरमा त झन् सर्वत्र अभाव, पीडा, कुण्ठा, वैमनष्य आदि कुराले घेरिरहेकी छु र तीभन्दा माथि उठ्नका लागि सधैँ सङ्घर्षरत रहेकी छु ।

मेरा जीवनका विवाह गरेको वर्ष (२०४६ साल) देखि २०६६ सालसम्मका वर्षहरू अत्यधिक सङ्घर्षमय रहे । हामी दुईजनासँग नेपालीमा एम.ए. उत्तीर्ण गरेका १-१ वटा प्रमाणपत्र थिए र दबैतिरबाट पैतृक सम्पत्ति नल्याइकन आफूलाई भौतिक एवं बौद्धिक रूपले स्थापित गर्ने संयुक्त जिद्दी थियो । दोस्रो सन्दर्भले हो जीवनलाई अधिक सङ्घर्षमय बनाएको । घरमा सहयोगी राखेर आर्थिक सङ्घर्ष गर्नु नपरीकन बौद्धिक ढङ्गले मात्रै आफूलाई स्थापित गर्न प्रयत्न गरेको भए अवश्यै सहज हुने थियो तर काँडैकाँडाको बाटामा हिँडेर गन्तव्यमा पुगेपछिको आनन्द थोरै सङ्घर्ष गरेर उच्च उपलब्धि हासिल गर्नेहरूले के बुझून् ? अझ आफ्नो सम्पन्नताले विद्यावारिधिसम्मका डिग्री र अरूले लेखेका पुस्तकले साहित्यकार बनेकाहरूले के बुझून् ? व्यक्तित्व विकासका लागि आशीर्वादका हातहरू पाउनेले के बुझून् ? यो बुझाइ मेरो जीवनको सबभन्दा ठूलो सम्पत्ति हो ।

यस अवधिमा काठमाडौँमा बास जोडियो, दुईवटा सन्तान जन्माउने र आफ्नै हातले हुर्काउने काम भयो, विद्यावारिधिको डिग्री हासिल भयो, सहप्राध्यापकको पदमा पुगेँ, एक दर्जन पुस्तक प्रकाशित भए र आधा दर्जन प्रकाशनका प्रतिक्षामा छन् । यसै अवधिमा केही आजीवन बेहोर्नुपर्ने रोगहरू कमाएँ र निरन्तर औषधि सेवन गरिरहेकी छु । नयाँ बुहारी हुँदाका सङ्घर्ष र आफूलाई कठोर रूपमा प्रस्तुत गर्नु परेको क्षण सम्झँदा पनि अहिले म आफैँ रोमाञ्चित हुन्छु । त्यस सङ्घर्षमा मैले आफूलाई टिकाउन नसकेकी भए म कुनै पनि हालतमा म आफ्नो व्यक्तित्व (शारीरिक होइन, यसतर्फ त आजसम्म लागेकै छैन) बनाउन सक्ने थिइनँ । यति चरम सङ्घर्ष गरिरहेकी मलाई पेसागत जीवनका मेरा सहृदयी मित्रहरूले अनावश्यक दुःख र असीमित मानसिक पीडा दिए जसलाई मैले उच्च मनोबलका साथ परास्त गरेरै छाडेँ । यी दुई दशकमध्ये पनि अघिल्लो दशक चरम सङ्घर्षका थिए । अब विस्तारै जीवनका सङ्घर्षहरू निष्कर्षतिर पुगिरहेका छन् ।

मेरा जीवनका यी सङ्घर्षले मूल रूपमा महिलाहरूलाई जीवन सङ्घर्षमा अविचलित रहन प्रेरित गर्न सक्छ । मैले एकीकृत रूपमा गरेका सङ्घर्षका विविध पाटामध्येको एउटै पाटोलाई मात्र कारण देखाएर महिलाहरू व्यक्तित्वविकासबाट पन्छिने गरेको पाएकी छु र आरक्षणका नाममा सङ्घर्ष नै नगरीकन उच्च उपलब्धि हासिल गर्ने कुरातर्फ लहसिएको बोध पनि मलाई भइरहेको छ । शारीरिक श्रमलाई सीमाहीन बनाउन र उच्च मनोबलका साथ लक्ष्यतर्फ अग्रसर भइरहन सकियो भने सफलता आफैँ जीवनमा ‘कहाँ कहाँ बसूँ ?’ भन्दै ठाउँ खोज्न आइपुग्छ ।

जीवनको यही अथक सङ्घर्षले मलाई उच्च मनोबल, नझुकेको स्वाभिमान, अपार सन्तुष्टि प्रदान गरेको छ । भौतिक ढङ्गले सम्पन्न व्यक्तिहरूभन्दा म आफूलाई अधिक सम्पन्न सम्झन्छु । सङ्घर्ष नै नगरिकन रातारात चर्चाको उच्च शिखरमा पुग्न क्रियाशील आर्थिक रूपले सम्पन्न तर आक्तिक मानसिक रूपले विपन्न व्यक्तिहरूलाई देख्दा मेरा मनमा दयाको छाल उठिरहेको भान हुन्छ । यही कारणले होला मेरो मूल्याङ्कन राष्ट्रिय तहमा हुन नसकेको पनि । आखिर त्यस मूल्याङ्कनले व्यक्तित्व बनाउने होइन । व्यक्तित्व बनाउने त सङ्घर्षले नै हो र त्यो जति उच्च व्यक्तित्व अरू हुँदा पनि हुँदैन ।

नेपाली समाजमा महिला हुनु, आर्थिक ढङ्गले कमजोर हुनु, कम्युनिष्ट हुनु र नारीवादी हुनु – असीमित दुःख पाउनका लागि यति कुरा पर्याप्त छन् । अर्को कुरा सङ्घर्षले मानिसलाई इस्पात बनाउँछ भन्ने कुरा पनि भोगेरै चाल पाएकी छु । यिनै दुईवटा हुन् मेरो जीवन सङ्घर्षका निष्कर्ष ।

शनिबार, गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *