Skip to content


काठमाडौँ गणेशस्थानको अगाडि मरूसत्तल छ । यसलाई काष्ठमण्डप पनि भनिन्छ । यस काष्ठमण्डपको विषयमा वंशावलीहरूमा रमाइलो कथा लेखिएको छ । सो कथा यसप्रकारको छ –

काठमाडौँका राजा लक्ष्मीनरसिंह मल्लको राज्यकालमा मत्स्येन्द्रनाथको जात्राको अवसरमा मानिसको रूप लिएर कल्पवृक्ष जात्रा हेर्न आएछन् । मत्स्येन्द्रनाथका एकजना पूजारीले कल्पवृक्षलाई चिनेछन् र समातेछन् । एउटा रूखले एउटा सत्तल बनाइदिने प्रतिज्ञा कल्पवृक्षले गरेपछि उनलाई छोडियो । यो घटना घटेको ४ दिनपछि कल्पवृक्षले एउटा रूख पठाइदिए र त्यही रूखबाट सत्तल बनाइयो । त्यसको नाउँ मरूसत्तल राखियो । यसैलाई काष्ठमण्डप पनि भनिन थालियो र यतैबाट यस सहरको नाम काष्ठमण्डप भयो । यही बेलादेखि यो सहर काष्ठमण्डप नामले पनि पुकारिन थाल्यो ।

वि.सं. १६७७ देखि १६९८ सम्म राज्य गरेका लक्ष्मीनरसिंह मल्ल प्रसिद्ध राजा प्रताप मल्लका बाबु हुन् । छोरा प्रताप मल्ल शक्तिशाली भएपछि लक्ष्मीनरसिंह मल्ल कैदमा राखिए र छोराको राज्यकालमा वि.सं. १७१४ मा यिनको मृत्युभयो । यसकारण वंशावलीको माथिको कुरा पत्याउने हो भने विक्रमको सत्रौं शताब्दीदेखि मात्र काष्ठमण्डप भन्ने नाउँ रहेको देखिन आउँछ तर मरूसत्तलमै टाँगिएका ताम्रपत्रहरूले पनि यो कुरा ठीक होइन भनेर हामीलाई बुझाउँछन् । मरूसत्तलमा टाँगिएको रत्न मल्ल र अरि मल्लको शासनकालको वि.सं. १५४२ को ताम्रपत्रमा काष्ठमण्डप सहर भनी लेखिएको छ । त्यसैगरी मरूसत्तलमा रहेको अर्को ताम्रपत्रमा रत्न मल्लको शासनकालमा वि.सं. १५६९ मा काष्ठमण्डप भनी लेखिएको छ । रत्न मल्लको शासनकालमा कुँदिएका वि.सं. १५६५, १५६७ र १५७१ का तीनवटा ताम्रपत्रमा पनि काष्ठमण्डप महानगर लेखिएको छ । रत्न मल्ल लक्ष्मीनरसिंह मल्लका बराज्यू महेन्द्र मल्लका पनि बराज्यू हुन् र अरि मल्ल रत्न मल्लका भाइ हुन् भन्ने कुरा यस प्रसङ्गमा स्मरणीय छ ।

हाम्रो देश नेपालका इतिहासका कुरा प्रामाणिक रूपमा बुझाउने साधनहरूमा अभिलेखका साथै विभिन्न समयमा सारिएका पुस्तकहरू पनि पर्छन् । त्यस्ता सारिएका पुस्तकहरू नेपालमा मात्र नरहेर विदेशका विभिन्न ठाउँमा पनि पुगेका छन् । नेपालका पुस्तक पुगेका त्यस्ता ठाउँहरूमा भोट अर्थात् तिब्बत पनि पर्दछ । नेपालमा सारिई पढिई कालान्तरमा त्यहाँ पुगेका पुस्तकहरूबाट तथा नेपालमै रहेका पुस्तक र अभिलेखहरूबाट पनि काष्ठमण्डपको विषयमा विचार गर्न हामीलाई मद्दत मिल्छ ।

तिब्बतको सक्यमठमा वि.सं. १२०० मा सारिएको नामसङ्गीति नामक पुस्तक पाइएको छ । राजा नरेन्द्रदेवको पालामा काष्ठमण्डपमा बस्ने वसुधुजीवले यो पुस्तक सारेका हुन् भनी त्यहाँ लेखिएको छ । नेपालका प्रसिद्ध पुस्तकालयहरूमध्ये राष्ट्रिय पुस्तकालय पनि पर्दछ । विद्धच्छिरोमणि हेमराज शर्मा (वि.सं. १९३५-२०१०) को सङ्ग्रहमा रहेका पुस्तकलाई उनको शेषपछि उनको परिवारसँग श्री ५ को सरकारले खरिद गरी स्थापना गरेको राष्ट्रिय पुस्तकालयमा वि.सं. १३०० मा सारिएको परमार्थनाम सङ्गीतिनामक पुस्तक पाइएको छ (हाल यो पुस्तक राष्ट्रिय अभिलेखालयमा छ) । त्यस पुस्तकमा राजा अभय मल्लको शासनकालमा काष्ठमण्डप सहरमा बस्ने जिनरसितले यो पुस्तक सारेका हुन् भनी लेखिएको छ । उपर्युल्लिखित तिब्बतकै सक्यमठमा वि.सं. १३४० मा सारिएको शतहाससि्रका प्रज्ञापारमितानामक पुस्तक पाइएको छ । त्यसमा राजा अनन्तमल्लको शासनकालमा काष्ठमण्डपमा बस्ने नारायणले यो पुस्तक सारेका हुन् भनी लेखिएको छ । अर्जुनदेव र स्थितिमल्लको शासनकालको वि.सं. १४२९ को अभिलेख स्वयम्भूमा छ । त्यसमा काष्ठमण्डप सहरमा बस्ने राजहर्षले बङ्गालका सुल्तान शमसुद्दीनले उठाएको स्वयम्भूको स्तूपको जीर्णोद्वार गरे भनी लेखिएको छ । उपर्युल्लिखित राष्ट्रिय पुस्तकालमा वि.सं. १४३७ मा सारिएको विदग्धमुखमण्डन नामक पुस्तक पाइएको छ (हाल यो पुस्तक राष्ट्रिय अभिलेखालयमा छ) । त्यसमा स्थिति मल्लको शासनकालमा काष्ठमण्डपमा बस्ने लुन्तभद्रले यो पुस्तक सारेका हुन् भनी लेखिएको छ । इटुम्बहालमा जयसिंहमद्धर्नको पालाको वि.सं. १४३९ को अभिलेख छ । त्यसमा काष्ठमण्डपमा बस्ने भिक्षु आरजयोनको उल्लेख छ ।

वीर पुस्तकालयमा (हाल यो राष्ट्रिय अभिलेखालयको नामले प्रसिद्ध छ ।) वि.सं. १५०१ मा सारिएको कुब्जिका पूजानामक पुस्तक छ । त्यसमा राजा यक्ष मल्लको शासनकालमा काष्ठमण्डपमा बस्ने राजसिंहपाल भल्लोकको लागि यो पुस्तक सारिएको हो भनी लेखिएको छ । नेपालका केही पुस्तक बेलायतको इन्डिया अफिस लाइबे्ररीमा पनि पुगेका छन् । त्यसैमध्येका वि.सं. १५३१ मा सारिएको स्रग्धरास्तोत्रनामक पुस्तकमा राजा यक्ष मल्लको शासनकालमा काष्ठमण्डप महानगरमा यो पुस्तक सारियो भनी लेखिएको छ । उपर्युल्लिखित वीरपुस्तकालयमै वि.सं. १५३३ मा सारिएको पञ्चरसानामक पुस्तक छ । त्यसमा राजा यक्ष मल्लको शासनकालमा काष्ठमण्डपमा बस्ने देवचन्द्रको लागि यो पुस्तक सारियो भनी लेखिएको छ । फिल्डमार्शल केसरशमशेर (वि.सं. १९४८-२०२१) को मृत्युपछि उनको सङ्ग्रहमा रहेका पुस्तक उनको परिवारले श्री ५ को सरकारलाई हस्तान्तरण गर्‍यो पुस्तकालयमा वि.सं. १५३५ मा सारिएको पञ्चरसानामक पुस्तक छ । त्यसमा राजा सदाशिव मल्लको शासनकालमा काष्ठमण्डप महानगरमा यो पुस्तक सारियो भनी लेखिएको छ ।

लक्ष्मीनरसिंह मल्लभन्दा अघि काष्ठमण्डपको उल्लेख आएका धेरै उदाहरणमध्ये माथि केहीको मात्र उल्लेख गरिएको हो । सबैको उल्लेख यहाँ गर्नु सम्भव छैन । यतिबाट पनि लक्ष्मीनरसिंह मल्लभन्दा साढे ४ सय वर्षअघि नै काष्ठमण्डपको अस्तित्व रहेको स्पष्ट हुन्छ र लक्ष्म्ीनरसिंह मल्लको पालादेखि मात्र काष्ठमण्डप नाम चल्यो भन्ने वंशावलीहरूको भनाइ अशुद्ध ठहर्छ । यसै गरी अहिलेभन्दा झण्डै पौने ९ सय वर्षअघि स्पष्टसँग काष्ठमण्डपको उल्लेख आइसकेको छ भन्ने कुरा पनि यताबाट स्पष्ट हुन्छ । भविष्यमा हुने थप अनुसन्धानले यो मिति अझ माथि जाने कुरामा कुनै शङ्का छैन । नेपालको सहरी विकासको सन्दर्भमा यतातिर पनि सम्बद्ध सबैको ध्यान जानु वाञ्छनीय छ ।

शनिबार, गोरखापत्र
श्रावण २१, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *