रफ्ता-रफ्ता वो मेरी हस्तीका सामां हो गए
पहेले जां फिर जानेजां, फिर जानेजाना हो गए।
मेहदी हसनले गाएको यो गजल कोठामा बजिरहेको थियो, हामी ध्यानमग्न भएर सुनिरहेका थियौँ। मेहदी हसनका गजलहरू एकपछि अर्को बज्दै गए। एकसे एक थिए। हामी विस्तारै कुराकानी पनि गर्न थाल्यौँ। पहिले मैले लेखेको ‘हामी’को परचिय दिऊँ। उत्तम नेपाली त लेखिहालियो। उनको परचियको आवश्यकता छँदै छैन। नेपाली चित्रकलाका एक ‘ट्रेन सेटर’मा आउँछन् उनी। अलग्गै शैली, अलग्गै विषय, अलग्गै रङको प्रयोग यी सब उनका निजी विशेषता हुन्। उनका कति शिष्य छन् साक्षात् र परोक्ष पनि। एक-दुईलाई म चिन्छु। प्रा राजेश गौतम पनि उनीकहाँ आउँथे। चेतना आउँथिन् शिष्यकै रूपमा। मैले सोधेँ पनि चेतनाबारे। उत्तमले भने, “अस्ति गुरुपूणिर्माका दिन आएकी थिइन्।”
यसपटक बनेको कला एकेडेमीको चयन समितिका सदस्य थिए उनी। यी सब थाहा भएकै कुरा हुन्। एउटा कुरा कतिलाई थाहा नहुन सक्छ। उत्तम नेपाली पोहोर अमेरिका गएका थिए। त्यहाँ एक्कासि उनलाई हृदयाघात भयो। ‘म्यासिभ’ भन्छन् नि त्यस्तै! तीन साता अमेरिकाको अस्पतालमा बसेर फर्के। त्यहाँ छोराहरू थिए। हेरचाह पुग्थ्यो। उनी आफैँ भन्छन्, “अमेरिकाजस्तो ठाउँमा नभएको भए…!” के हुन्थ्यो के हुन्थ्यो भन्ने कुरा हो! हामी पहिलोपटक भेट्न जाँदा उत्तम दाइलाई निकै परविर्तित पायौँ। केही ‘अनमनापन’ देखा पर्थ्यो, एउटा नयाँ लक्षण विकसित भएको रहेछ रोगपछि। बिर्सने बानी। उनले भने, “अहिले तिमी छौ, यहाँबाट गएको पाँच मिनेटपछि तिमी आएको याद रहँदैन।”
अब त्यो लक्षणका साथै निर्वाह गर्नुपर्छ होला। तैपनि, पहिलेभन्दा यसपटक केही सुधार भएको देख्न सकिन्छ। उनको अहिलेको दिनचर्या यस्तो छ : बिहान ७ बजे उठेर न्यास, ध्यान, आसन, आधा घन्टाजति घरबाहिरको बगँैचामा हिँडडुल गर्ने, १० बजेतिर खाना खाने आदि अनि राति १० बजेतिर सुत्ने।
सोधेँ, “पेन्टिङ् कत्तिको गर्नुहुन्छ दाइ?”
“बहुत कम,” उत्तमले संक्षिप्त जवाफ दिए।
“तपाईंले अहिलेसम्मको अन्तिम चित्र कुन बनाउनुभयो?”
“छन् चार-पाँचवटा।”
“केका?”
“के सोध्छौ यार, केका भन्ने?”
“अमूर्त होला ठीक छ, केका होइन, रङहरूको कस्तो प्रयोग छ?”
“डार्क रङ छ।”
“वाटर हो?”
“हो।”
उत्तम नेपालीसित म धेरै घुमेको छु। देशभित्र त उत्तम नेपाली, धुस्वाँ सायमी र म धेरै नै घुमेका छौँ। उत्तम नेपालीसँग चीन भ्रमणमा पनि गएँ, प्राज्ञ नरराज ढकाल (अहिले दिवंगत) पनि थिए। चीन भ्रमणमा जाँदा नै ८० वर्षका थिए। चीन भ्रमणका अनेक रोमाञ्चक अनुभव छन्, जुन उत्तम नेपालीलाई पनि थाहा रहेछ। पूरै नभए पनि आंशिक रूपमा होला, उत्तम नेपालीको हामीलाई मनपर्ने पाटो हो । उनी चित्रकलापछि साहित्यमा पनि राम्रो दखल राख्छन्। गीत, भजन, कविता सब लेखेका छन्। कहिलेकाहीँ भन्थे, “तुमलोग हमे साहित्यकार ही नही मानते।”
म भन्थेँ, “साहित्यकार भी हैं लेकिन चित्रकार बहुत बडे हैं तो साहित्य थोडा दबेगा ही।”
उत्तम नेपाली यस्तो प्रश्नोत्तरका बेलामा प्राय: मलाई भन्थे, “तुम बढे डबला हो यार !”
हो, हामी अहिले यस्ता उत्तम नेपाली पाउँदैनौँ। त्यसकारण हामीलाई लाग्छ, उनमा परविर्तन आएको छ। एकदम सक्रिय मान्छे, एकदम शान्त भइदिँदा कस्तो लाग्छ? त्यस्तै लाग्छ, अहिले उत्तम दाइलाई भेट्दा। उनीसँग चीनको ‘ग्रेटवाल’ चढेको सम्झना बारम्बार आइरह्यो। फोटो खिचेको कतै होला। उत्तम दाइसितै पनि होला, मैले सोधिनँ। हामी अघि भन्दा एउटा म भन्ने बुझ्न सकिन्छ। परचिय दिन्नँ। दोस्रो ‘हामी’ रबिन कोइराला थिए। रबिन ललितकला एकेडेमीका प्राज्ञ थिए। नयाँ पुस्ताका एक प्रतिनिधि चित्रकार। नयाँ पुस्ता किन भनेको भने एकपटक कुरैकुरामा सोधेँ, “नेपाली चित्रकलामा तपाईं आफूलाई कहाँ राख्नुहुन्छ?” उनले नअडिएरै उत्तर दिए, “म नयाँमा पर्छु।” भने, “उत्तम दाइहरूले नेपाली चित्रकलामा एउटा सूर्योदय ल्याउनुभयो। अब त्यो सूर्यलाई मध्यान्हतिर हामीले लैजान सक्नुपर्छ।”
छिट्टै रबिन कोइरालासित आत्मीयता अनुभव भयो। किन होला? यसका केही कारण त म बताउन सक्छु। उत्तम नेपाली रबिनलाई अत्यन्त स्नेह गर्छन्। साहित्यमा धेरथोर जति भए पनि अशेष मल्ललाई र मलाई उनको स्नेह प्राप्त भएकै हो। मित्रको मित्र पनि, पहिल्यै आधा मित्र भइसकेको हुन्छ, यस नियमले काम गर्यो।
अन्य कारणहरू रबिनभित्रै निहित छन्। हाम्रो रुचिमा साम्य छ। उनी पनि चित्रकलापछि साहित्य, फिल्म र संगीतका प्रेमी रहेछन्। आफ्ना अग्रजको आदर गर्छन्। शान्त स्वभावकै छन्। ‘टेम्पेरामेन्ट’ भनेर सोधेँ पनि। उनले बताए, “कहिलेकाहीँ बेठीक कुराको विरोध गर्दा अभिनयका लागि भए पनि उच्च स्वरमा बोल्नुपर्ने हुन्छ, ‘अदरवाइज’ म शान्त खालकै छु।” सम्भवत: हाम्रो निकटताको यो पनि एउटा कारण थियो। एउटा कुरो उनमा अर्को पनि छ। पढ्न पनि त्यत्तिकै रुचाउँदा रहेछन्। मैले रुसतिर रुमलिँदाको यात्रा संस्मरणको पुस्तक शुक्रबार उत्तम दाइ र उनलाई दिएको थिएँ। उनले त्यस राति छुट्टएिको मलाई शनिबार बिहानै पुस्तक पढेको, मन पराएको एसएमएस गरे। यस्ता पाठक साहित्यले पायो भने साहित्यको भलो हुनेछ। उनको पठनको तीव्रताले मलाई प्रभावित तुल्याएको थियो। पछि थाहा भयो, शुक्रबार राति नै पढिसकेर पाँच-छ पृष्ठ बाँकी हुँदा छाडे। भोलिपल्ट सक्न त कति गाह्रो भयो र? “राति अलिकति पढ्ने मेरो बानी छ,” उनले बताए। यस्तो बानी मेरो पनि छ। यस्ता साम्य धेरै रहेछन्। जस्तो : त्यहाँ एकछिन पाथेर पाञ्चोली हेरयिो सत्यजित रेको प्रख्यात सिनेमा। विश्वमा उनलाई चिनाउने सिनेमा विभूतिभूषणको पुस्तक त पढेको थिएँ। फिल्म हेरेको थिइनँ, चर्चा सुन्नुबाहेक। त्यो फिल्म र पिकासोको एउटा वृत्तचित्र रबिनले आफ्नो संग्रहबाट झिकेर दिए मलाई। लेख्न सजिलो हुने भयो।
मध्यान्ह १२ बजेतिर हामीले ढिँडोको आनन्द लिएका थियौँ कोटेश्वरको थकाली भोजनालयमा। त्यहाँबाट सोझै रबिनको घरतिर लागेका थियौँ। “त्यहाँ म एक्लै बस्छु। साथीभाइ भेट्न सजिलो। त्यसभन्दा पनि चित्र बनाउने एकाग्रताका लागि हो। घरमा सधैँ त्यो सम्भव हुँदैन।” मैले पनि थपेँ, “पहिले एकान्त आवश्यक लाग्दैन थियो लेख्न। मनले नै एकान्त पाउन सकिन्थ्यो। अब उमेरले हो कि केले हो, वातावरणीय एकान्त पनि आवश्यक लाग्छ।” रबिनले त्यस घरमा त्यही एकान्त बनाएका थिए।
उत्तम नेपालीले एकपटक भनेका थिए, “रबिन हमसे बहुत प्रभावित है, गुरु मानता है।”
त्यसदिन मैले केही भन्नै परेन रबिनले भनिहाले, “उत्तम नेपाली नहीं होता तो रबिन कोइराला भी नहीं होता।”
म मनमनै सोच्न थालेँ, हिन्दी पनि राम्रै बोल्दा रहेछन्। जन्म उनको तराईकै रहेछ। सानो उमेरमा काठमाडौँ आएर पढेका रहेछन्। उनको राम्रो लाग्ने कुरा के पनि थियो भने उनी पुरानो परम्परालाई पनि अध्ययन गरेर आत्मसात् गर्दै आफ्नो नयाँका साथ अघि बढ्नुपर्छ यो सही कुरा हो। जग बलियो बनाउने कुराको पक्षधर रहेछन् उनी। त्यसतर्फ ‘क्लासिक’हरूको अध्ययन गर्नैपर्छ। उनको धारणा छ, “आफूले के बनाएको हो, त्यो चित्रकारले बुझ्नु पनि पर्छ, बुझाउन पनि सक्नुपर्छ। नत्र त ठमेलमा बिक्री हुने चित्र र हाम्रोमा के फरक भयो?”
त्यही क्रममा उनले आफ्नो एक चित्रको व्याख्या गरे। हेर्नु, त्यसमा प्रमुख थियो। निष्कर्ष थियो। आफूतर्फ हेर्नु। आत्मदर्शनको यो अवधारणा हाम्रो पूर्वेली चिन्तनसँग पनि मेल खान्छ। मैले सोधेँ, “कोइरालाजी यस अमूर्त खालको पारेर यसको अर्थ यो, यसको अर्थ यो भन्नुको साटो व्याख्या गर्नै नपर्ने गरी बनाउँदा के हुन्छ?”
“यसो गर्दा ठमेलको र हाम्रो चित्रमा के फरक भयो त? यस्तो चित्र बिक्न त चाँडो बिक्छ तर आफैँलाई भित्र सन्तोष हुनेगरी बनाउनु पर्यो नि त!”
उनको उत्तर ठीक थियो, कला-साहित्य ‘ओपेक’ भएकै बेस। सिद्धिचरण सम्झेर भन्छु, “केही बल्झेझैँ, केही अल्झेझैँ के भित्तामा झुन्डिरहेको?”
यो ओपेकपना सिर्जनामा भएन भने, त्यो ‘समरी’ हुन्छ, फ्ल्याट डाइमेन्सनरहित। अनि, सिर्जना कहाँ देखिन्छ भन्नू?
रबिन कोइराला कला-साहित्यको सबै पक्षमा रुचि राख्छन्। नाफामा पनि उनको स्टुडियो छ। एकदिन त्यहाँ पनि हेर्ने विचार छ। मैले संगत गरेकाहरूमा रुचिको यो विविधता उत्तम नेपालीमा देखेको छु। अहिले रबिनमा देख्दैछु। उत्तम नेपालीको सिर्जनात्मक प्रभाव कति छ भन्नेबारे त धेरै कुरा गर्न पाइएन। तर, उनैले भने, “म उहाँबाट प्रभावित छु।”
शुक्रबार बिहानसम्म मैले यी कुरा बिर्सेको थिएँ। एक्कासि नै भन्नुपर्यो, बिहान रबिन कोइरालाको फोनले जुर्मुराएँ र उत्तम दाइसँग भेट्न उत्सुक भएँ। यस्तो वषौर्ंपछि भइरहेको थियो नि त !
रबिन कोइराला बाहिर गएका थिए, एकछिन। मैले उत्तम दाइसित सोधेँ, “के मनपर्छ दाइ?”
“कुछ भी अच्छा नही लगता,” उत्तमले भने।
“कुछ भी माने?”
“कुछ भी माने कुछ भी,” उनले भने।
यो प्रश्न कसरी उठेको थियो भने पिकासोको, फिल्म पाथेर पाञ्चोली, मेहदी हसनको गजल कुनैमा पनि उत्तम दाइको रुचि बसेको देखिएन। अनि, मैले सोधेको थिएँ, “भुख तो लगती होगी?”
“लगती है।”
“पेट भर्ने पर अच्छा लगता होगा?”
उत्तम दाइ हाँसे। मैले भनेँ, “अच्छा दाइ, तपाईं यो बताइदिनूस्, तपाईंले जीवनमा पहिलो चित्र केको बनाउनु भयो?”
त्यसको भने उनलाई टड्कारो सम्झना रहेछ। एक क्षण पनि बेर नलगाएर भने, “खजुरको !”
“कहाँ, यहीँ बनाउनु भयो कि?”
“होइन, लखनउमा।”
“उमेर कति थियो?”
“होला, १४-१५ वर्ष।”
“लखनउमा मरुभूमि त छैन क्यार?”
“मैले खजुरको चित्र बनाएको मरुभूमिको होइन।”
भोलिपल्ट रबिन कोइरालासित फोनमा कुरा हुँदा मैले भनेँ, “उत्तम दाइजस्तै कोइरालाजी पनि गीत सुनेरै पेन्टिङ् गर्नु हुन्छ कि भनेर सोध्न खोजेको थिएँ, सोधिनँ। यही लेखेर लेखको अन्त्य गर्न चाहन्थेँ।”
कोइरालाले भने, “ए ! त्यो त एकदम त्यस्तै हो। गीत बन्द भयो कि पेन्टिङ् रोकिन्छ।”
यो बानी पनि मिल्दो रहेछ। यसको अर्थ थियो उत्तम दाइबाट उनी साँच्चिकै प्रभावित छन्।
जुन पेन्टिङ् देखाएर उनले व्याख्या गरेका थिए, त्यसको एउटा शृंखलै तयार गर्दैछन्। जसको नाउँ उनले राखेका छन्, ‘गोल्डेन वेज अफ नोइङ्’ अर्थात् ज्ञानका स्वणिर्म मार्गहरू।
त्यो दिन जुन प्राज्ञिक तरिकाले बितिरहेको थियो, त्यो सधैँ सम्झिने लायक रहनेछ। भेट्न त फेरि पनि भेटिएला तर त्यस दिनको जुन एउटा विम्ब, एउटा चित्र अंकित भइसकेको छ, त्यो फेरि अर्को बन्नै सक्दैन ।
नेपाल साप्ताहिक ४६१
