Skip to content

नेपाली संस्कृतिमा शकहरूको योगदान


नेपाल-मण्डलमा लिच्छविकालको सुरुआतदेखि नै शकहरूको उपस्थिति थियो भन्ने कुरालाई हाँडीगाउँको उत्खनन्बाट प्राप्त सामग्रीहरूले पुष्टि गरेका छन् । शकहरू को हुन्, यिनीहरू कहाँबाट र कहिले यस उपत्यकाभित्र पसे भन्ने कुरालाई सबैभन्दा पहिले निर्क्योल गर्नु आवश्यक छ । शकहरूलाई सिथियन पनि भन्दछन् । यिनीहरूको मूल थलोबारे अझै पुरातत्त्वविद् र इतिहासकारहरूले टुङ्गो लगाउनसकेका छैनन् । यिनीहरूले इतिहासको विभिन्न समयमा चीनको सिमानादेखि दानुब उपत्यकासम्म बसोबास गरेका थिए भन्ने प्रमाणहरू पाइएका छन् । “महाभारत” र “भाष्यपुराण” आदि प्राचीनग्रन्थहरूमा पनि शकहरूकाबारे उल्लेख पाइन्छ । यिनीहरू उत्तर-पश्चिम भारतमा ईशापूर्व प्रथम शताव्दीदेखि नै देखापर्न थालेका थिए । यिनीहरू घोडचढीमा र धनुर्वाण चलाउनुमा सिपालु मानिन्थे । ग्रीकहरूसँग यिनीहरूको सम्बन्धले गर्दा यिनीहरूको राज्यव्यवस्था र समाजमा ग्रीक सभ्यताको ठूलो प्रभाव परेको देखिन्छ । भारतमा यिनीहरूलाई “म्लेक्ष्य” पनि भनिथ्यो । ईशापूर्व दोस्रो शताव्दीतिर “यिचि” चीनियाँ जातिका मानिसहरूले ब्याक्टेरियाको सिमानामा बसोबास गरी बसिरहेका शकहरूलाई त्यहाँबाट धपाई भारततिर पठाएका थिए । शकहरूले भारततर्फ आउँदा बाटोमा पार्थियनहरू र अन्य ग्रीक सामान्तहरूलाई हराई आफ्नो राज्य स्थापना गरेको देखिन्छ । ईशापूर्व पहिलो शताव्दीताकसम्म शकराज्य मथुरासम्म फैलिसकेको देखिन्छ ।

शकहरू भारतका विभिन्न ठाउँमा फैलिएर तक्षशिला, मथुरा, सौराष्ट्र र महाराष्ट्रसम्म पुगेका थिए । यिनीहरूलाई ती ठाउँहरूबाट ईशाको चौथो शताव्दीमा समुद्रगुप्त र चन्द्रगुप्त द्वितीयले उत्तर-पश्चिम भारततर्फ धपाएर पठाएका थिए । चन्द्रगुप्तले खेदेपछि यिनीहरू अन्य शरणार्थीहरूझैँ नेपाल उपत्यकाभित्र पसेका हुन् भन्ने धेरै सम्भव छ ।

नेपाल उपत्यकाको इतिहासको सुरूदेखि नै गान्धार र मथुरासम्म सम्बन्ध थियो भन्ने कुरा हाँडीगाउँको उत्खनन्ले प्रमाणित गरेको छ । मथुराको रातो चुनढुङ्गाको व्यायाम गर्न प्रयोग गर्ने तौल ढुङ्गाको टुक्रामा कृष्णले दानव अश्व केसिनलाई मार्न लागेको दृष्य अङ्कित गरिएको जस्तो बुट्टा अङ्कित छ । यो चुन ढुङ्गा ईशापूर्व प्रथम शताब्दीतिरको मानिन्छ । जुनबेला मथुरामा शकहरूले राज्य गरिरहेका थिए । यो तौल ढुङ्गा त्यतिबेला नै मथुराबाट यहाँ ल्याइएको हुनु पर्दछ । हाँडीगाउँको उत्खनन्मा प्राप्त एउटा प्राचीन पोखरीको भग्नावशेषले पनि त्यतिबेला नै उपत्यकाभित्र शकहरूको उपस्थिति थियो भन्ने प्रमाणित गरेको छ । शकहरूले आफ्नो राज्यकालमा मथुरामा धेरै पोखरीहरू निर्माण गरेको थिए । हाँडीगाउँ सत्यनारायण मन्दिरनजिकै पाइएको उक्त पोखरीको भग्नावशेष शून्य शताब्दीताकको मानिन्छ । यो नै हालसम्म उपत्यकाभित्र पाइएका सबैभन्दा प्राचीन वास्तुकलाको उदाहरण हो र यो पोखरी नै उपत्यकाभित्र निर्माण गरिएका अन्य पोखरीहरूभन्दा जेठो पनि थियो । त्यस उत्खनन्मा पाइएका इशापूर्व प्रथम शताव्दीका मकरका मूर्तिका टुक्राहरूले पनि यस उपत्यकाको मथुराका शक-पार्थियनहरूसँग सम्बन्ध थियो भन्ने कुरालाई प्रमाणित गरेको छ । धार्मिक सहिष्णुता र मेलमिलापमा विश्वास गर्ने यी शकहरूले नेपाल उपत्यकाभित्र “हिन्दू” धर्मलाई झन् बलियो र मजबुत बनाइदिएको देखिन्छ ।

नेपाल उपत्यका भित्र शकहरूको उपस्थितिमात्र होइन कि तिनीहरूले यस उपत्यकाको जल सम्पदा संरक्षण र संरचना, धार्मिक सहिष्णुता, गृह निर्माणकला (वास्तुकला), काष्ठकारी गरिता अर्थात् काष्ठकलाको विकास, गुठी व्यवस्थाको विकास आदिमा पनि ठूलो योगदान पुर्‍याएका थिए । शक राज्यकालमा मथुरामा बौद्ध धर्मको साथसाथै जैन धर्म र हिन्दू धर्मलाई पनि उत्तिकै महत्त्व दिएको पाइन्छ । भारतमा मन्दिर बनाई देवदेवी स्थापना गर्ने चलन पनि शकहरूले नै चलाएका थिए । नेपाल उपत्यकाभित्र लिच्छविकालमा निर्माण गरिएका मन्दिरहरूजस्तै पशुपतिको मन्दिर, चाँगुनारायणको मन्दिर आदिको निर्माणमा पनि शकहरूको ठूलो योगदान थियो होला भनी अनुमान गर्न सकिन्छ । लामो लबेदा र सुरुवाल लगाउने चलन पनि उपत्यकाभित्र यिनीहरूले नै ल्याएका हुनसक्ने, धेरै सम्भावना छ । शकहरूले बीचमा चोक राखी चारैतिर घरहरू बनाई बस्ने वास्तुकलालाई व्यवहारमा अपनाएका थिए । नेपालमा पनि लिच्छविकाल र मल्लकालसम्म पनि यसै वास्तुकलाको विधिबाट उपत्यकाभित्र घरहरूको निर्माण र सहरहरूको विकास भएको देखिन्छ ।

तक्षशिलाको उत्खनन् गर्ने सर जोन मार्सलका अनुसार शकहरूले निकै उच्चस्तरीय कारिगरीले भरीपूर्ण काष्ठकलाका झ्याल, ढोका र अन्य वास्तुकलाका ढाँचाहरू प्रयोग गर्ने गर्दथे । काठमाडौँ उपत्यकाभित्र विकास भएको उच्चकोटीको काष्ठ कारिगरीमा शायद यसै समुदायको योगदान थियो । कुशानकालमा र गुप्तकालमा विकासको उत्कर्ष विन्दुमा पुगेको गान्धार कलाको सुरूआत शक राज्यकालमा नै भएको मानिन्छ । विभिन्न संस्कृतिसँग स्वतन्त्रताका साथ घुलमिल हुन सक्नु शकहरूको विशेष गुण थियो । यो कुरा तिनीहरूले कला र वास्तुकलामा मात्र होइन समाजका अन्य अङ्गहरूमा पनि अनुशरण गरेका देखिन्छन् । जस अनुसार विभिन्न सभ्यताका गुणहरू मिश्रति एउटा उच्चकोटीको संस्कृतिको जन्म दिएर भारतीय संस्कृतिलाई शकहरूले ठूलो गुण लगाएको देखिन्छ । यिनै विभिन्न गुणहरूले भरीपूर्ण संस्कृतिलाई यिनीहरूले नेपाल उपत्यकाभित्र पनि फैलाए ।

शकहरूले चाँदी र तामाको सिक्काको प्रचलन पनि सुरू गरेका थिए । लिच्छविकालदेखि नै नेपालमा पनि चाँदी र तामाका सिक्काहरू चल्न थालेको देखिन्छ । मथुराको उभिएको बुद्ध र बोधिसत्वका मूर्तिहरू सबै शक-कुशान परम्परामा नै बनेका थिए । त्यस्तै नेपाल उपत्यकाभित्र पाइएका प्राचीन मूर्तिहरू, जस्तै- जयवर्माको मूर्ति, बोधिसत्वको शिर नभएको मूर्ति आदि पनि शक-कुशान ढाँचामा नै बनेका हुन् । शकहरूले भारतमा संस्कृत भाषा र त्यसमा पनि काव्य र नाटकको क्षेत्रमा ठूलो योगदान पुर्‍याएको देखिन्छ । नेपालमा पनि लिच्छविकालमा संस्कृतभाषा र साहित्यमा ठूलो विकास भएको थियो ।

नेपाल मण्डलभित्र शकहरूको सबैभन्दा ठूलो योगदान भन्नु नै यस उपत्यकाभित्र लिच्छविकालदेखि चलिआएको गुठी व्यवस्थाको परम्परालाई नै मान्नु पर्दछ । शकहरूले भारतभित्र प्रवेश गरिसकेपछि पनि यो व्यवस्थालाई निरन्तरता मात्र दिएनन् विकास गरी आफ्नो सम्पूर्ण राज्यभर लागुसमेत गरेका थिए । नासिकका गुफाभित्र पाइएका अभिलेखहरूबाट यस किसिमका गुठी व्यवस्थाबारे निकै धेरै जानकारी प्राप्त हुन आएको छ । नासिकको गुफा नं. १२ मा प्राप्त सन् १२० का अभिलेखमा शकनायक नाहपनाका ज्वाइँ उसभदत्ता (रासवदत्ता) ले ३००० क्रसापनाको कोष खडा गरी दुईवटा गुठी स्थापना गरेका थिए । पहिलो २००० क्रसापनाको कोषबाट एक प्रतिशतप्रति महिनाको दरले उठ्ने व्याजको रकमबाट त्यस गुफाभित्र बस्ने २० जवान भिक्षुहरूलाई प्रत्येकलाई १२ क्रसापनाको दरले लुगा खर्च दिने, अर्को १००० क्रसापनाको गुठीबाट तिनीहरूलाई पाकेट खर्च रकम दिने व्यवस्था गरिदिएका थिए ।

नासिककै अभिलेख नं. १५ मा ईशाको तेस्रो शताव्दीका शक राजा ईश्वरशेनले विरामी भिक्षुहरूको औषधोपचारका लागि गुठी राखेको कुरा उल्लेख पाइन्छ । शकहरूले विभिन्न पेसाकर्मीहरू, जस्तै- तीलापिसक (तेल पेल्ने जाति), ओडएनत्रिकाज (जल संरचनासम्बन्धी काम गर्ने), कुलारिकाज (कुमाले माटाका भाडाकँुडाहरू बनाउने) आदिको पनि बेग्लाबेग्लै गुठीहरू खडा गरी तिनीहरूलाई मिलिजुली काम गरी व्यवसाय गरी बस्न प्रोत्साहित गरेका कुराहरू पनि यी अभिलेखहरूबाट थाहा पाइन्छन् । त्यति मात्र होइन यी गुठीहरूले जनतालाई केही नियमहरू बनाई आफूसँग भएको बचत रकममध्येबाट सापटी दिने चलन पनि चलाएको थियो । यस्तै चलन उपत्यकाका नेवाः गुठीमा पनि पछिसम्मै चलेको थियो । बैङ्क नभएको समयमा गुठीहरूले यस्ता कामहरू गर्ने गरेको कुरा उल्लेख गरिएका नासिकमा धेरै अभिलेखहरू प्राप्त भएका छन् । यस्ता गुठीहरू भिक्षुहरूलाई खुवाउनेदेखि लिएर बुद्ध मूर्तिको अगाडि बत्ती बाल्ने गुठीहरूसमेतको उल्लेख पाइन्छ ।

शकहरूको ठूलो गुण भन्नु नै जुन देशमा गयो त्यही देशको संस्कृतिमा घुलमिल भएर बस्ने र त्यसैलाई फलाउने, फुलाउने र मलजल गर्न दियो । भारतभित्र प्रवेश गरेपछि हिन्दू संस्कृतिलाई पूर्ण रूपमा आत्मसात गरी यो संस्कृति फलाउन, फुलाउन र फैलाउन तिनीहरूले ठूलो योगदान गरेको देखिन्छ । शक राजपरिवारले बिना कुनै हिचकिचाहत भारतका क्षेत्रीय र ब्राहृमण वंशका राजवंश तथा अन्य परिवारहरूसँग आफ्नो विवाहवारी चलाएका थिए । यिनीहरूले इच्छाकु र सातवाहनहरूसँग निर्धक्कसाथ घुलमिल गरे । काठमाडौँं उपत्यकाभित्र ठाउँठाउँमा देखिएका लामो बुटजुत्ता र इरानी ढाँचाका पोसाक लगाएका सूर्य मूर्तिहरू यिनीहरूकै देन हुन् । यस उपत्यकाको संस्कृतिको उत्थान र विकासमा जग हाल्ने केही पहिला समुदायहरूमध्ये शकहरू पनि हुन् । शकहरूले नेपाल उपत्यकाको संस्कृतिलाई वैभवशाली बनाउन, यहाँका मानिसहरूमा धार्मिक सहिष्णुताको भावना जगाउन र बृद्धि गर्नमा जुन योगदान गरेका थिए त्यो नेपालको इतिहासमा स्वर्ण अक्षरले अङ्कित छ ।

मधुपर्क २०६८ मंसीर

1 thought on “नेपाली संस्कृतिमा शकहरूको योगदान”

  1. mero yo pahilo choti ho yo
    mero yo pahilo choti ho yo site ma bhayaka lekhahatu manparo. ani yo ta chutari po rahe6. thanks “majheri”

Leave a Reply

Your email address will not be published. Required fields are marked *