Skip to content


यहाँ
खसिको मासु पाईन्छ भन्ने ठाउमा
बुढी बाख्री काटिन्छ
भागवानको घरमा नयाँ जुता
पुरानो जुता सँग साटिन्छ
हरेक दिन
नयाँ कुराको हल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।

यहाँ
काम नगर्नेहरू बाट नै
भाषण ठुलो ठुलो छाटिन्छ
टिटिमाइले आकाश आटे झै
आश्वासन ठुला ठुला बाटिन्छ
भुसिया कुकुरबाट
जनताको दिमाग चाटिन्छ
आज एउटा कुरोको सल्लाह
भोलि अर्कै कुरोको हल्लाह छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।

यो शहरको बाहिर एउटा
भित्र अर्कै खोल छ
मान्छे पिच्छे यहाँ
मान्छे मान्छे बिच मोल छ
निमुखाहरू बिचरा छन
बलिया बाङगाको बोल छ
हेर्दा तडक र भटक सबैको
बुझ्दाभित्र धेरै डामाडोल छ
आजको भाले त्यो
भोलि त त्यो चल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।

यहाँ घरै पिच्छे
तुम्बा र ठर्राको भट्टी छ
भट्टीभित्र
मन बहलाउने अधबैसे पट्ठी छ
नगद नारायणलाई स्वागत
उधारो माग्नेलाई कट्टी छ
बहिर छेक्ने पर्दा भए पनि
भित्र सबै खुलम खुल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।

ठग्नेहरू पनि यही
ठगिनेहरू पनि यही
जती शुद्दता कुरा गरे पनि
हरेक खाधान्यमा माटोको डल्ला छ
हिजो पनि
आज पनि
सरकारको सधैं
करबाही गर्छु भन्ने हल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।

यहाँ
हरेकको आफ्नै दाउ छ
सोझा साझालाई घुमाउ छ
टाठा बाठाको सधैं भाउ छ
मै हुँ भन्नेको पनि यहा बाउ छ
हिजो कै नहुनेहरू आज
गगन चुम्बी भब्य गाऊ छ
देखाउने एउटा
बेच्ने अर्कै गल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *