Skip to content


भरभराउँदो बैँसभरि
गरिबीको पानी पोखेर
काम खोज्दै विदेशिने
युवा देख्दा आँसु बरर ।

तस्करले सुशासनलाई
परित्याग गरिदिँदा
तेरो मेरो सीमा कोर्दै
धन मात्रै थुपारिदिँदा
आज हाम्रो यो गति भो
भोलिकालाई दुःख नपरोस्
जाँगरिला युवाहरू
परदेशमा जानु नपरोस्
मधुरात्रि नसकिँदै
मायालुलाई एक्लै पारेर
काम खोज्दै विदेशिने
युवा देख्दा आँसु बरर ।

धन मात्रै होइन तिनको
मन पनि आफ्नो रहेन
हाँसो मात्र होइन तिनको
आँसु पनि आफ्नो रहेन
पश्चात्तापमा जलिरहे
प्रायश्चित हुनै सकेन
जसका लागि धन थुपारे
‘ऊ’ नै आफ्नो हुन सकेन
बाबुआमा, दाजुभाइलाई
ऋणको गह्रौँ भारी छोडेर
काम खोज्दै विदेशिने
युवा देख्दा आँसु बरर ।

नेपाल साप्ताहिक ४८५

Leave a Reply

Your email address will not be published. Required fields are marked *