Skip to content

आमा जानुहोस् कथासङ्ग्रहको सङ्क्षिप्त विवेचना

  • by


परिचय

आमा जानुहोस् कथासङ्ग्रहकी कृतिकार हुन् माया ठकुरी । माया ठकुरीको जन्म सन् १९४६ जुलाई २मा भएको र उनका हालसम्म ६बटा कथाका कृतिहरू प्रकाशनमा आएका छन् । इन्द्रधनुष (२०६१) उनको गीतसङ्ग्रह हो । माया ठथकुरी एउटा कथाकारमात्र नभएर सङ्गीतकार पनि हो । उहाँको नाम मैले अल इन्डिया रेडियोबाट सुन्न पाएको थिएँ भने २०६१ सालमा एक पटक जाउलाखेलमा सात्क्षातकार भएको थियो । उहाँको जीवनीको अध्ययन गर्दा जीवन संघर्षमा वितेको देखिन्छ । त्यो संघर्षको उपलब्धी आज उनका कथाहरू त्रिभुवन विश्वविद्यालयदेखि भारतको नर्थ बंगाल युनिभर्रिटीसम्मको पाठ्यक्रममा समावेश भएको पाइन्छ भने उनका केही कथाहरू हिन्दी अंग्रेजी, तमिल र जापानी भाषामा समेत अनुदित भएका छन् । सङ्क्षिप्तमा भन्नु पर्दा माया ठकुरी राष्ट्रियमात्र नभएर अन्तराष्ट्रियस्तरमा समेत आफ्नो छविलाई पुर्‍याउन सफल बहुआयामिक व्यक्तित्व, शिक्षिका, गायिका, लेखिका र अनुसन्धान कर्ता हुनुहुन्छ । माया ठकुरीको यथार्थ परिचय पाउन त यस किताबमा रामप्रसाद ज्ञावलीले लेखेको भूमिकालाई अध्ययन गर्नुपर्दछ तवमात्र यर्थाथता पत्तालागछ । उनको भूमिका लेखाईलाई अध्ययन गर्दा के प्रष्टिन्छ भने उनको बाल्य जीवन अति सङ्घर्षमयरूपमा वितेको थियो र उनको बाल्य जीवनको भोगाइले उनलाई भावप्रधान, साहसी, चिन्तलशील कर्मठ र आत्मनिर्भर बनाउने कामलाई सिकाएको थियो ।

पुरस्कार र माया ठकुरी

माया ठकुरीले धेरै पुरस्कारहरू प्राप्तगर्नु भएको छ । रत्नश्री सुवर्ण पुरस्कार, (२०३५), मैनाली कथा पुरस्कार (२०४१), शिक्षा पुरस्कार (२०४४), मैना पुरस्कार (२०६१) खिलशर्मा राजीव लोचन जोशी स्मारक पुरस्कार (२०६३), आदि ।

विभिन्न साहित्यकारको नजरमा माया ठकुरी : –

माया ठकुरीको यस कृतिको बारेमा भवानी घिमिरे, डा. गोविन्दराज भट्टराई, रामप्रसाद ज्ञावली भूमिका र शुभेक्ष्या लेख्नु भएको छ हेरौं केही अभिव्यक्तिहरू –

भवानी घिमिरे लेख्नु हुन्छ : –’कथा कथ्ने र बुन्ने सीप चाँहि उनको आफ्नै तर समग्रमा पीडा र ‘प्रताडना’ र ‘पीरैपीर’को मर्मस्पर्शी उदघाटन र त्यसमा कलासंयोजन नै उनको कथा कारिताको वैशिष्ट्य हो’ ।

डा. गोविन्दराज भट्टराई लेख्नु हुन्छ –

‘प्रस्तुत बर्तमान समयका कतिपय छाप र कतिपय मानवीय प्रवृतिका सर्बकालीन चरित्र बोकेर आएको छ । प्रत्येक कथाको सहजताले र स्वभावीकताले गर्दा त्यो जीवन्त लाग्दछ । ‘

रामप्रसाद ज्ञावली लेख्नु हुन्छ : –

‘माया ठकुरीका कथाहरू पढेर म सबैभन्दा बढी प्रभावित भएको पक्षचाँिह, तिनमा भेटिने संवेदनाको प्रगाढता र सामान्य घटनालाई दिइएको मार्मिक र कौतुहलपूर्ण विस्तृति एवं प्रस्तुति हो । ‘

माया ठकुरीको आफ्नै कथनः –

मानिसमा ब्रह्माण्डनै अटाउन सकेको कारणले गर्दा नै होला उनीहरूको कथा कहिलै सकिदैनन्, त्यसैकारण मैले पनि मानिसहरूकै विभिन्न पक्षहरूलाई समेटी उनीहरूका भोगाइ र अनुभूति सामेल गरेर कथा रचना गरी रहेकी छु ।

कथामा प्रवेश गर्दा–

माया ठकुरीका यस कथासङ्ग्रहमा १५वटा कथाहरू समावेश गरिएका छन् । आमा जानुहोस् यो कृतिको प्रथम कथा हो । यही कथाबाट कृतिको नामाकरण गरिएको छ । आमले छोरालाई मायासँग पालन पोष्ण गरेको कुराहरू छोराले सम्झन्छ तर आमाको बृद्ध अवस्थामा पक्षघात हुन्छ । मलमूत्रहरू तर्काउन कठिन पर्दछ । उनको शरीर नै ह्वास्स गनाउने हुन्छ । उनका छोरा बुहारी तथा नाति नातिनी, समाज डेरावाला सबैलाई यो उनको गन्दगीले सताउँछ । उनी छोरा बुहारी नाति नातिनीसँग बस्ने इच्छया हुन्छ तर उनी जव कोठामा पस्न थाल्छिन् आमा जानुस् कोठामा गएर बस्नु होस् भनिन्छ । उनलाई पनि आफ्ना सन्तानसँग बस्न पनि नपाउनु अपहेलित हुन्छिन् आमा । यहाँ छोरा बुहारी विवस् छन् । बृद्धा तिरस्कृत छन् । कारुणिक छ कथा जो हरेक घरघरले धेरथोर भोग्न पर्ने देखिन्छ । आमा आमा नै हुन् उनलाई के गर्न सकिन्छ र? यस कथाले आर्थिक, सामाजिक, शारीरिक, धार्मिकक र मानशिक पक्षलाईस समेटेको छ । यस्तै कारुणिक तथा मार्मिक कथाहुन् अनन्तहीन प्रतीक्षा र अर्को पाली दशैंमा पनि ।

यथार्थता

यो कथासङ्ग्रहको दोस्रो कथा हो यथार्थता यस कथामा दीपिकाको यौनेन्द्रियमा परिवर्तन आउन थाल्दछ । उनी एक युवतीबाट युवकतिर परिवर्तन हुन थाल्दछिन् । उनी आफ्नो परिवर्तन कसैलाई बताउन चाहादिनन् । यस्तो परिवर्तनले उनी आँफै पनि चिन्तित छन् र घरका पनि उनको बदलिदो व्यवहारबाट चिन्तित छन् । उनको मनमा धेरै किसिमका धारणाहरू पलाउँछन् । उनी आफ्नो बदलिदो परिस्थितिको समस्यालाई उजागर गर्नु भन्दा भारतिर पलायन हुने निर्णय लिन्छिन् । उनी भारतमा गएर दिपक भएर केटाको कर्मको थालनी गर्दछिन् । यस्ता पात्र समाजमा विरलै पाइन्छन् ।

युद्ध

यो कथा यौन मूलक कथाको रूपमा लिन सकिन्छ । दाम्पत्यजीवन सफल हुन त पति अनि पत्नी बिचको सम्बन्ध सुमधुर हुन पर्दछ । सम भवनामा दुबै अट्न सक्दैनन् भने त्यहाँ विश्वासको वातावरण विग्रन्छ । जीवनको उतार चढावमा एकले अर्कालाई साथ दिन सक्दैनन् । यस कथा सङ्ग्रहमा युद्ध, गल्ती, र पिशाचिनी तीनवटा कथाहरूमा यौनमा देखिएको समस्यको आधारमा लिन सकिन्छ । युद्धमा विवाह हुन्छ दुबैको चाहना बच्चा जन्माउनेमा केन्द्रित छ तर श्रमिानमा बच्चा जन्माउने क्षमता रहँदैन भन्ने थाहा लागे पछि पत्नीले नचाहीने बाटोमा तथा नहुने कुराको चिन्तामा लाग्न हुँदैन सुखमय जीवनको कल्पनामा जीवन बिताउने पत्नीको अनुरोधलाई पतिले मान्दैन र जोगीबाट उपचार गराएर बच्चा जन्माउन चाहान्छ । त्यसमा पत्नीले एउटा लामो पत्र लेखेर श्रीमानको धारणामा उनी सहमत नभएको र आफ्नो श्रीमान बाहेक अरुले उनलाई भोग्ने अधिकार नभएको हुँदा यस्तो युद्धमा पत्नीले आँफुले युद्ध जित्ने धारणा राख्दै घरबाट बाहिरिछिन् ।

निर्मला

यो कथा चौथो हो । यो कथा पनि अतिकारुणीक छ । यो कथा बालमनोवैज्ञानिकताले भरिएको छ । निर्मलाको उमेर ७ बर्षको हुँदा सुत्केरी व्यथाले आमाको मृत्यु हुन्छ । बाबाले अर्को बिबाह गर्दछन् । सौताने आमाले छोरीलाई माया प्रेम दिनुको सट्टा आँफू र बाबाबाट यातना दिने काम गराउँछिन् । निर्मलालाई नदीमा फालहालेर मर्ने गाली दिंदा एक दिन निर्मलाले भाइलाई उठाएर नदीमा आमाछन् जा जा भनि पेरित गर्दा एक घाँस काटेर आउँदै गरेकी महिलाले देखेर बचाउने काम हुन्छ भने सौताने आमाबाबु अरुहरू पनि जम्माहुन थाल्दछन् तर निर्मला भने नदीमा हामफालेर मर्दछिन् ।

प्रतिघात

सामाजिक विकृतियुक्त कथाहरूमा यो पनि एउटा कथा हो र माता पितालाई सोध भन्ने कथा पनि विकृतिपूर्ण कथा पर्दछ । प्रतिघात र मातापितालाई सोध भन्ने कथाहरूमा घरका ठूलाबडाले गर्र्ने (समाजमा गरिने तथा हुने खराव कामको) नकरात्मक कामको नराम्रो असर आफ्नै छोराछोरीमा पर्दछ भन्ने पुष्टि यी दुबै कथाले गरेका छन् । प्रतिघातमा बाबु घरबाट अनेक बहाना बनाएर वेश्यालयतिर जाने क्रममा एकदिन त वेश्यालयमै आफ्नी छोरीपो स्वागत गर्न देखा पर्दछे ।

भोक

यो पनि गरिबीले थिचिएको कथा हो । सेती खोलाको माझमा एउटा लास भेटिन्छ । कोही लास निकाल्न तत्पर छन् भने कोही हेर्नमा व्यस्तछन् मृतकी पत्नी तीनवटा छोराछारी भोकले ग्रसितसँग शोकमय अवस्थामा छे । धेरैले धेरै कुराहरू काटिरहेका हुन्छन् सानकान्छाले जेरी ल्याएर बच्चाहरूलाई दिन्छ लास अस्पतालमा लगिन्छ पोष्टमार्टन सके पछि फूलमायाले लास बुझ्छे र सानकान्छाले चन्दाउठाएर लास घाटतिर लान्छ भने केही पैसा फूलमायालाई दिन्छ र घरतिर जान भन्दछ । फूलमाया बाटोतिर लाग्छे बीच बाटोमा छोरीलाई मासु चिउरा र जेरी खुवाउँछे । उनी स्वयम् पनि भोकले अति सत्तिएकी हुन्छिन् । भेक थाम्न नसके पछि धर्मकर्म के गर्न हुन्छ केर्गा हुँदैन भन्ने कुरालाई छाडी मासुचिउरा मागेर खान थाल्छिन् । यस कथामा सामाजले मान्दै आएके संस्कार भन्दा भोक ठूलो हो भन्ने दर्शाएको छ ।

ढिलो भएछ

द्वन्द्व र युद्धसँग सम्बन्धित कथाहरूमा ढिलो भएछ पनि एक हो । देशमा चलेको यो लामो युद्धको बारेमा पनि लेखिएका दुई कथाहरू छन् । यी कथाहरू बडा मार्मिकरूपमा प्रस्तुत भएका छन् । ती हुन् –ढिलो भए छ र पहाड ओर्ललदै छ । ढिलो भएछ भन्ने कथामा बाबु मृत्युशैयामा परेको बेलामा तेरी आमा अवत अर्को घरबार गरिसकेकी होली तर जानमनलागे आमालाई भेट्न गए हुन्छ भने पछि युवा घरमा जान्छ र आमालाई बास माग्दछ र बास बसे पछि सुखदुखका कुरागर्दा गर्दै आमाले सानो अवस्थामा मौलान जान भनेको तर आमाले नमाने पछि बाबुले लिएर मुग्लान गएको रआजसम्म छोराको अनुहार देख्न नपाएको कुरा आमाले बताए पछि छोराले फोटो देखाएर आँफूनै छोरा भएको प्रमाणीत गर्न फोटोबाट आमालाई चिनाउन नपाउँदै बन्दुकधारीहरूले गोली हानी मारिदिन्छन् ।

गिद्ध

मानव प्रबृतिको उदाहरण बोकेको कथा हो गिद्ध । यस कथामा आडम्बरीताले सजिएको एक युवक र एक आधुनिकतामा हुर्केर पढेर पनि आफ्नो मौलिक परम्परा संस्कृतिालाई आधुनिकताको नाममा गुमाउन नचाहाने युवती भोजबाट फर्कदा वनमा नकापधारीहरूले रोकेर सबै धनमाल लुटेर पतिलाई रुखमा बाँधेर पत्नीलाई बरत्कार गर्दछन् । पत्नी होसमा आउ पछि उठेर पतिलाई बन्धनबाट मुक्त गरे पछि पत्नी जुठी भएकी र आफ्नो इज्जत थाम्नको लागि दुबैले अलग बाटो रोज्ने प्रस्ताव राखे पछि पत्नीले बलत्कारी र पतिमा केही फरक नभएको र पति पत्नीको सम्बन्ध मासुबाट सुरुभएर मासुमानै समाप्त भएको हुँदा यस्ता गिद्धको पञ्जाबाट अलगिएर स्वतन्त्रताको सास फेर्ने अठोटताको साथमा कोठाबाट पत्नी बाहिरिन्छिन् । यस कथाले पतिपत्नी बीचको अगाधप्रेम दायित्व, माया ममता, सुख दुखको भोगाइलाई व्यवहारमा उतार्नको सट्टा मासुले मासुलाई भोग्ने मानिस नै गिद्धहुन् भन्ने यथार्थता प्रष्ट्याएको छ ।

मातापितालाई सोध

यो कथामा एक सम्मन्न परिवारको बाबु धन कमाउन विदेश जान्छ आमा अधबैंशे भए पनि आफ्नो अर्धवैंशलाई सिङ्गारर्दै आफ्नो यौन तृप्तिको लागि अर्कै पुरुषसँग मनोरञ्जनमा लाग्छे । छोराछोरीले पनि आमाको सिको लिन्छन् र छोरीले गर्भधारण गरेर पतन गराउँदा पुलिसले समात्दछ र किन यस्तो कर्म गरेको भन्दा मातापितालाई सोध्नु होस् भन्ने जवाफदिएर जेलतिर पस्छे ।

गल्ती

गल्ती कथामा साली भिना बीचमा अनैतिक सम्बन्ध भएर गर्भ धारण गरेकी सालीलाई एकजना परिवार नियोजन गरी सकेको मित्रसँग बिबाह गराई दिएर सँगै बसेर तीन जनाले दारू खाने गर्दछन् र यसरी दारु खाने क्रममा भिनाले साथीलाई बच्चा जन्मने खबर गर्दछ । तर साथीले सबै क्रियाकलाप हेरीरहेको हुन्छ । एकदिन भिनाले सालीलाई घरलाने भनेर लिन आउँछ । साथीले भिनासँग खोलेको रक्सीको बोत्तल समेत राखी दिन्छ आँफू विराटनगरतिर लाग्दछ । ऊ बिराट नगर पुगेको चौथो दिनमा शाली भिना विषाक्त रक्सी सेवन गरेर आत्महत्या गरेको खबर सुन्न पाउँछ ।

पिसाचिनी

यस कथामा एका घरमा आमा दुई छोरी र एक छोर हुन्छन् । ठूली छोरीको विवाह भै सकेको हुन्छ । तर मस्त यौवन अवस्थामा लोग्नेको मृतु भए पछि उसलाई घरबाट अपहेलित भएर माइतमा बस्न पर्दछ । ऊ काम्न थाल्दछे । विजुवाल्याएर उपचार गर्न थालिन्छ । दाजुको पनि विवाह हुन्छ । बुहारीले यो काम्ने व्यथालाई नाटकको संज्ञा दिए पछि सासु बुहारीको झगडा हुन्छ र बुहारी माइत गएर बस्दछे । काप्नेवाली छोरीको विजुवासँग शारीरिक सम्पर्क हुन थाले पछि बिरामी सन्चो लाग्दछ ।

डा गोविन्दराज भट्टराई भन्नु हुन्छ यथार्थ र पिचासिनीका पात्रलाई पढ्न क्वीअर थेउरीको प्रयोग गर्नु पर्दछ ।

अर्को पाली दशैंमा

अर्को पालीको दशैमा कथाको सारमा गोबर्धन र जगदम्बाको छोरा विदेश जान्छ १० बर्ष बितिसक्दा पनि ऊ घर आउँदैन उतै बिबाह गर्द छ र जुम्ल्याहा छोरा र छोरी जन्मन्छन् । ऊ सपविार हरेक दशैमा घर आउने खवर दिन्छ । आमा बामबुलाई खवर पठाउँछ । तर हरेक दशैमा कुनै न कुनै वहाना बनाएर घर फर्कदैन । एक पटकको दशैमा ऊ निश्चित आउने खवर पठाउँछ र आमाले छोरा बुहारी नाति नातिनीलाई प्रतिक्षा गर्दै थरि थरिका खानाका परिकार र घर श्रृङ्गार गरिन्छ तर द्वन्द्वको कारण देखाई यस पटकको दशैमा पनि उनीहरू नआउने खवर आउँछ । आमाले यो खबर सुने पछि राती निद लाग्दैन तेस्रो प्रहरमा झपक्क निदाउँदा बालक छोराको गोरो अनुहारमा रातो अक्षता र कानमा पहेंलो जमरा लगाएर तिम्रै लगि बनाएको यी खानाहुन् खाऊ बाबु भन्दै सपनामा खुवाउँछिन् । बिहान गोबर्धनले उनको मृत शरीर पाउँछन् । यहाँ छोरा प्रतिको माया ममताले आमाको ज्यानै जान्छ ।

अनन्तहीन प्रतीक्षा

यो पनि मातृत्वले भरिएको कथा हो अन्त्यहीन प्रतिक्षा । यस कथामा शान्ताकी एघार बर्षिया छोरी जो दुई बर्षकी अवोध बालिका छतबाट खसेर चेतनाहीन अवस्थामा हुन्छिन् उनको कुनै दिन होस खुल्ला भन्ने धारणा राखेर खानपान तथा हेरबिचार शान्ताले गर्दागर्दै छोरीको मृत्यु हुन्छ तर शान्ताले भने छोरीको मृतुवरणामा आफ्नो मानसिक सन्तुलन गुमाउँछिन् । ममताले भरिएको मातृत्वको उदाहरण सहितको भरिएको कथा हो यो ।

भैसी र मान्छे

यो कथा एउटा गरिबीले सत्तिएको मार्मिक था हो यसकथामा जयसराको छोरालाई जरो आएको आठदिन भैसकेको हुन्छ बर्षा घनघोर हुन्छ । स्वास्थकेन्द्र पुग्न पनि बाटो सजिलो र नजिक थिएन । यसैक्रममा घरपालिएको भैंसी पनि बिरामी भएको हुन्छ । यसै अवस्थामा छोरीले कटेरो पल्टेर भैंसी अठिएको खबर ल्याए पछि हर्षमान मृत्यु अवस्थित छोरालाई हेर्दे गोठतिर लाग्दछन् ।

पहाड ओर्लदै छ

यो यस कथासङ्ग्रहको अन्तिम कथा हो । द्वन्द्वकालमा घटने घटनालाई यस कथामा समेट्ने प्रयासगरिएको छ । यस कथामा हत्याहिंसा, आतङ्कले आत्तिएर एउटा घरका आमाछोरी गाउँ छाडेर विदेशिनका लागि ओडारमा बास बस्न पुग्दछन् । एकहूल जड्याहाहरू जो गुरिल्लामा भर्ना भएका छन् तिनीहरूकै साथीले (यौवनमत्त थिएले) आमा छोरीलाई बलत्कार गर्न थाल्दा आमाछोरीको चित्कार त्यही समुहमा रहेको छोराले सुन्दछ र आमाको र बहिनीको आवाज हो भन्दै अघिबढ्न थाल्दा गोली लागि मर्दछ भने आमाछोरी पनि बलत्कारीबाट मारिन्छिन् । तीन दिन पछि विदेशिन लागेको लाहुरेले देख्छ र यी को होलान् र कुन पक्षले यसरी हत्या गरेहोला भन्दै अघि पाइला चाल्छ । यस कथामा त्रसादीता छरिएको छ र क्रुरताले भरिएको छ । व्यभिचारी प्रवृति, मदअन्धता र द्वन्द्वको अवश्थाको यथार्थ चित्रण गरिएको छ कथामा ।

भाषाशैली र प्रस्तुति

माया ठकुरीका कथाहरूमा प्रस्तुति अति सरल भाषामा, यथार्थ परक, समाजमा घट्ने खालका, सामाजिक पारिवारिक परिवेशमा घटनालाई सलल बग्ने गरी लेएिका कथा हुन् भन्न सकिन्छ । कथा पढ्दा यस्तो लाग्छ कि माया ठकुरीले कथामा गरिएका घटनाक्रमका प्रस्तुतिहरू काल्पनिक त हुन सक्छन् तर कसैले पनि काल्पनिक हुन् भन्न कठिन पर्दछ । कथा त सबैले लेख्छन् तर माया ठकुरीको लेखन शैलीले पाठकमा कौतुहलपूर्ण जिज्ञाशा राख्दछ । कथा पढ्न थाले पछि पाठकलाई समय गएको थाहै लाग्दैन । भषाशैलीको प्रकटी करण कलात्मक छ ।

कथाको परिवेश र घटनाक्रम

कथामा सामाजिक परिवेशलाई हेर्दा यी कथाहरू सबै पारिवारिक परिवेशमा लेखिएका छन् । पारिवारिक परिवेशमा लेखिएका भएता पनि यी कथाहरूले विविध परिवेश (गाउँ घर, प्राकृतिक सम्पदा, स्वदेशविदेश) लाई समेट्न सफल देखिन्छन् । धेरै कथामा मृतुवरण गरेको घटना भेटिन्छन् । समाजमा घट्ने घटनालाई कथाले समेटको पाइन्छ । बास्तवमा घर परिवारमा हुनुपर्ने मायाप्रेम, दायित्व, कर्तव्य, विस्वास, निस्वार्थता कताकता ह्रास भएको अनुभूति कथाले दिएजस्तो पढ्दा लाग्दछ । समाजमा हुने विविध खाले विकृति, विसङ्गति, सामाजिक, आर्थिक असमनता र विषमताबाट उत्पन्न विविध खाले पक्ष, वाल मनोवैज्ञानिक पच्छ, गरिबी, भोक, आदि विविध घटना मानवजातीले भोग्न परेका मानसिक पीडा, चिन्ता, नारीमा हुने सम्वेदना, सचेतता, दृढता, कठोरता, दया, सत्यता, नारीअस्मिता, नारी स्वतन्त्रताको धारणा र भावना, शारीरिक व्यभीचार, सुन्दर कल्पना, क्रमिक साधाना यथार्थताको प्रकटीकरणले कथालाई मीठो र सुन्दर पठनीय बनाएको छ । यौनताको प्रभाव, युद्धको प्रभाव, प्रेमको प्रभाव, पारिवारिक विखण्डनका कारकतत्वहरू के हुन् र संसार कसरी चलिरहेको छ, गरिबीको प्रभावले समाजमा कस्तो किसिमको प्रभाव पारेको छ सो सबै पक्षलाई समेटेर कथा लेख्न सफल देखिन्छिन् माया ठकुरी । अन्त्यमा कथा पठनीय छन् अनुकरणीय छन् । यथार्थताले भरिएरक छन् । सफल कथाकारिताको लागि मुरी मुरी धन्यवाद छ माया ठकुरीलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *