Skip to content


– उठ्नुस ! पिइस्सिन्न ?

– ओहो ! कति बज्यो हँ ?

– आठ बजिसक्यो त !

– चिया लिइस्योस्। हजुरले आज भिनाजुसँग के तरकारी खाइसिन्छ ? तराईमा भनेजस्तो तरकारी यहाँ पाइँदैन। पाइए पनि महङ्गो। मासु रुचाइसिन्छ ? तरकारी भने पछि हामी त खाए पनि मासु नखाए पनि मासु। मासु नै सस्तो र मीठो लाग्छ। हजुर यसपाली अचानक आइस्यो। सुकुटी बनाउन पनि पाइएन। अलिक दिन पहिला खबर पाएको भए सुकुटी बनाएर राख्‍नु हुन्थ्यो। मासु, साग, कालो दाल र करेलाको अचार भए ‘भूजा’ रुच्ला नि ? हुन्न हजुर ? अँ ! अस्ति नै काकाकी सानी छोरी दार्जीलिङ्ग पढ्छे भनेकी थिएँ नि। ऊ पनि आएकी छे – हप्ता दिन भयो। स्कुल छुट्टी भएकोले पहाड घर आएकी रै’छे। गाउँमा नियास्रो लाग्यो होला, केही दिन यहाँ बस्न आइज भनेकी थिएँ। आइछे। ऊ पनि उठी होली। अहिले हजुरलाई चिनाउँछु।

एकहोरो साधना बोलीरही। मनमोहनले चियाको चुस्की लिँदै सुनिरह्यो। साधनाले धेरै बोलेको मन परेको थिएन। त्यसैले चुपचाप कोठाको चारैतिर आँखा घुमाइरह्यो। कोठामा धेरै परिवर्तन भइसकेको रहेछ। चार महिनाअघि कोठामा नभेको बेल्जियम कार्पेट ओछ्याइएछ। १४ इन्ची ‘ब्ल्याक एण्ड व्हाइट’ टेलिभिजनको ठाउँमा २० इन्चीको रङ्गीन टेलिभिजन आएछ। सोफा, टेबुल, पङ्खा, फ्रिज, स्टिल दराज थपिएछन्। झ्यालको पर्दा फेरिएछ। खाट पनि पहिला सानो थियो। अहिले डनलप भएको घर्रावाल डबल खाट आएछ। कानमा टप, हातका दश औँलामध्ये चापँ औँलामा औँठी, नाडीमा ब्रासलेट, घाँटीमा लकेट भएको सिक्रीले सजिएकी सजिएको साधना पनि पहिलेभन्दा हँसिली, पोटिली, उज्याली भइछे। मनमनै मनमोहनले यहाँको परिवर्तनलाई विचरण गर्‍यो। चार महिनाअधि छोडेर गएको आफ्नी ‘स्वास्नी’ पनि आज अर्कै पो हुन कि जस्तो नौलो लागिरह्यो। हिजो मध्यरातमा घर पसेकाले यी सबै परिवर्तन हेर्न/बुझ्न भ्याएको थिएन।

– हजुर कता हराइस्यो ? कतिबेर भो म यहाँ उभिइरहेकी यहाँ हजुरले देखिस्या नै होइन। यिनी नै हुन् बहिनी रुवि। सात वर्ष पूरा भएर आठ वर्ष की भै। दुई कक्षमा पढ्छे। रवि ! भिनाजुलाई ‘दर्शन’ गर।

– भिनाजु ‘दर्शन’ ! भिनाजुको नाम के हो दिदी ?

– भिनाजुलाई सोध्न। भिनाजुको नाम मसँग सोध्ने हो ? लाटी !

– मेरो नाम। मनमोहन।

– विनय भिनाजु ! भीमसेन भिनाजु ! मनमोहन भिनाजु ! अस्ति विनय भिनाजु। हिजो भीमसेन भिनाजु। आज मनमोहन भिनाजु। राति तपाईँसँग यो कोठामा सुत्‍ने सबैलाई भिनाजु भन्नुपर्छ हो दिदी…..?

– के भनिस् ? बढ्ता बोल्छेस् !

रुविको कुराले झल्याँस्स झस्कँदै मनमोहनले परिवर्तित कोठामा साधनालाई हेर्‍यो। साधना रुविलाई पिट्न लखेट्दै थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *