Skip to content

छुट्यो नि – एउटा कविता

SaurabhKarki


यहाँबाट यस्तै डाँडा – यसैगरी – के देखिएला र फेरि कहिल्यै ?
यो हावाको – ठीक यस्तै – कहिले होला र सङ्गीत सुरम्य ?
कुनै अर्कोदिन – के उड्लान् र चराहरू – एकनास फेरि यहाँबाट – नाप्दै आफ्नो गन्तव्य ?
र तिमी सोध्छ्यौ मलाई – केही छुट्यो कि यही कतै ?

आखिर छुट्नु नै के छ र ?
मलाई नभनेर – तिमीले – मनमा नै राखेका केही मीठा बातहरू ?
वा – मैले केही बोल्न नसकेर – भर्खरै – खुईइय गर्दै निभाएको ठुटो चुरोट ?
आखिर छुट्नु नै पो के र ?

तिम्रा फिजारिएका केशराशी
जसको काप कापबाट – मेरो अनुहारसम्म घाम – चियाउन आईपुग्थ्यो ।
म कत्ति खुसी लुकामारी खेल्थे – तिमी पत्तै पाउन्नथ्यौ ।

तिमीले गायौ – एउटा गीत
मुटु – अल्झिरह्यो त्यही कतै ।
साँच्चै – कति कुरा नभनेर नै – नमीठा हुदाँरै’छन् ।

मसँग थियो समय – तिमी हतारमा थियौ ।
आखिर छुट्नु नै के थियो ?
सिवाय – एउटा बेरोजगार समय ।

विदाईको लागि मैले हल्लाउन नसकेको हात
तिमीबाट लुक्दै छिप्दै झरेका दश पन्ध्र थोपा आँसु
बोल्नै नसकेर – हात कपाएर शुभयात्रा एसएमएस लेखेको क्षण
वा जाँदै गरेकी तिमीलाई हेर्न नसकेर – झुकाएका आँखा
बोली अड्किएर – थर्थराएको अधर
तिमी र मैले सँगै नापेका पैतालाका डोबहरू
सँगै फेरेको एउटै बतास
तिम्रो घरछेउको गल्लीमा हामीले चिया पिएको स्टिलको गिलास
वा तिमी र मैले सँगै गाउदै हिडेको गीतहरू
यी बाहेक छुटेको छैन – अमूल्य अरु केही ।

थियो तिमीलाई पुग्नु टाढा,
सक्दैनथे म रोक्न तिमीलाई ।
र पनि छाडेर जानु अघि – फर्केर हेरेकी भए हुने ।
कमसेकम थाहा त पाउथ्यौ
तिमी जानेबित्तिकै एउटा मन – हाँगाबाट चुडिएर खस्यो – सुकेको पातजस्तै – चुपचाप चुपचाप ।
र त्यही मनबाट निस्कियो – तिम्रो याद सँगालिएको – यो छुटेको कविता ।

– सौरभ कार्की-
झुले – ४, दोलखा
हाल : बुध्द एयर, चन्द्रगढी, झापा

https://www.facebook.com/Canvassss

Leave a Reply

Your email address will not be published. Required fields are marked *