‘जग्गा कसको जोत्नेको, घर कसको पोत्नेको ।’ यो नारा मैले म सानो हुँदा नै मेरो बाको मुखबाट सुनेको हुँ । त्यसपछिका समयमा अलि सेलायो । पछि आफू पनि बा भएदेखि उही नारा घन्कन लागेको पाएको छु । भन्छन्, यो नारा त २००७ साले क्रान्तिदेखिको हो । शब्दालङ्कारको प्रयोगले नारा ज्यादै कर्णप्रिय बनाएको छ । छन्दोबद्ध कविता लेख्ने कुनै कविको राम्रो रचना हो यो । छन्दोबद्ध कविता लेख्ने/लेखाउने कुरा गर्दा मलाई मेरा कवि साथी कवितारामको याद आउँछ । आईए दोस्रो वर्ष पढ्दाको समय हो, कविताराम र म छन्दोबद्ध कविता लेखनमा खप्पिस थियौँ । क्याम्पसवरपरका सारा कविता प्रतियोगितामा हामीहरू नै पुरस्कृत हुने गर्थ्यौं । कवितारामका रूम पार्टनरले कक्षाकी एउटी केटीलाई मन पराएका रहेछन् । तर, तिनलाई कसरी प्रस्ताव राख्ने भन्ने समस्या रहेछ । उनले कवितारामलाई छन्दोबद्ध कवितामै एउटा चिट्ठी लेख्न लगाएछन् । कविताराम पनि कविता चिट्ठीबाट ती दुईको पिरम बसाल्दिन पाए क्याम्पसनजिकको होटलमा कचालु पनि खान पाइने, बिहे नै हुनसके भतेरै पनि खान पाइने भनी लागेछन् छन्दोबद्ध कवितात्मक चिट्ठी लेख्ने काममा । कविता-चिट्ठी तयार भयो र प्रेषित पनि भयो । चिट्ठी हात परेको अर्को दिन क्याम्पसपछाडि रूम पार्टनर बोलाइए र केटीका हातको दुईचार झापट खाए । उनी कविता लेख्न जान्दैनन् भन्ने त सबैैलाई थाहा थियो । दोस्रो चरणमा बोलाइए छन्दोबद्ध कविताका धुरन्धर कवि कविताराम र यस्तो विछट्ट साहित्य लेखेबापत कान पक्रेर ५० पटक उठबस गर्न लगाइएछ । त्यसपछि कवितारामको छन्दोबद्ध कविता-यात्रा पनि सधैंका लागि समापन भयो ।
यो जग्गा कसको जोत्नेको, घर कसको पोत्नेको भन्ने तुकबन्दी मिलेको पङ्क्ति लेख्ने कवि पनि कवितारामजस्तै कुनै छन्दकवि होलान् । यस्ता तुकबन्दी मिलेका नारा निकै धेरै बनाउन सकिन्छ । जस्तै:
नोट कसको गन्नेको
बाटो कसको खन्नेको
कपडा कसको बुन्नेको
पानी कसको थुन्नेको
गाडी कसको चलाउनेको,
सुन कसको गलाउनेको ।
यस्ता नारा २४ घन्टामा २४ सयवटै कथ्न सकिन्छ । कति नचाहिने कुरा गर्न सकेको ? ००७ सालदेखि ०७० सालसम्म एउटै नाराले जनता छक्याउन सक्ने नेताहरूको चातुर्यलाई चाहिँ सलाम गर्नैपर्छ । समस्या जग्गाको होइन, जग्गा जोतेर पाउनुपर्ने पारश्रिमिकको हो । माटो न खान मिल्छ, न लाउन नै मिल्छ । जग्गा वितरणलाई व्यवस्थापन गर्न क्रान्तिकारी हदबन्दी लागू गर्नुपर्छ तर यहाँ हदबन्दी तोक्नुभन्दा एक महिनाअघि नै लोग्नेस्वास्नीबीच छोडपत्र गरेर जग्गा बाँड्न भ्याउँछन् । मेरो गाउँमा एउटी वृद्धा थिइन् । उनको एउटा छोरो र एउटी छोरी थिए । छोरी विवाह भएर आफ्नो घर गइन् । सम्म्पत्तिको नाउमा पाँच कट्ठा बारी र एकतले सानो घर थियो । गरीबीले गर्दा छोरो भारतको दिल्लीमा एउटा होटलमा भाँडा मोस्ने काम गथ्र्यो । बिचरी वृद्धा घरमा एक्ली थिइन् । दसैँ लाग्दा दुई-चार पैसा दिएर घरमा कमेरो पोत्न लगाउँथिन् भने अलिकति भएको बारीमा गाउँलेलाई ज्याला दिएर मकै, गहुँ, छराउँथिन् । एकपटक त्यही ००७ साले नाराले वृद्धालाई ठूलो सकसमा पारेको थियो । अब जग्गा जोत्नेको र घर पोत्नेको नै हो भने घरमा बस्ने र जग्गा मालिकले घर पोत्ने र जग्गा जोत्ने पेसा अँगाल्नुपर्यो । जग्गा जोत्नेले अन्य पेसा गर्नु नै भएन । घर पोत्न नसक्नेहरू घर मालिक भएर बस्न सक्ने त कुरै भएन । नोट कसको गन्नेको, बाटो कसको खन्नेको भन्ने नाराको त झन् के कुरा गर्नु र ! सम्पूर्ण नोटहरू राष्ट्र ब्याङ्कका कर्मचारीहरूकै हुने भए । बाटो खन्न नसक्ने वा नभ्याउनेहरू आकाशमै उड्नु पर्ने भयो । अभिधार्थ प्रयोग भएको रचनालाई साहित्यमा अधम साहित्य भनिएको छ । व्यङ्ग्यार्थ प्रयोग नै उत्तम साहित्य हो । त्यसैले ती नारा साहित्यलाई पनि व्यङ्ग्यार्थमा हेर्नुपर्ने हो कि !
हामीकहाँ यस्ता नारा-निर्माताहरू नै उत्तम कोटीका नागरकि मानिन्छन् । उनीहरूले बोलेका कुरा मात्र होइनन्, बोल्न खोजेका कुरा सबै गहन र गम्भीर हुन्छन् । मेरो कार्यालयका मित्र श्रीधरजीले लालटिन र बालटिनको कुरा गरेर सधैं हँसाउनुहुन्थ्यो । हामीले पानी राख्ने टिनको भाँडोलाई बाल्टिन भन्छौँ र टिनकै बाल्ने भाँडोलाई लालटिन भन्छौँ । वास्तवमा नाम अनुसारको काम हेर्ने हो भने लालटिनलाई बाल्टिन -अर्थात् बाल्ने टिन) र बाल्टिनलाई हाल्टिन -अर्थात् कुनै वस्तु हाल्ने टिन) भन्दा ठीक हुन्छ । त्यसैगरी केरा पसाउने होइन नि, केरा निस्केको हो । भात पकाउने होइन, चामल पकाउने हो । रोटी पकाउने होइन, पीठो पकाउने हो । हामीकहाँ जे गरिन्छ, त्यो नभन्ने र जे भनिन्छ त्यो नगर्ने चलन छ । अर्काको घरमा हली बसेको व्यक्तिको नाम धनीराम र करोडपतिको गरबिदास नामकरण हुनु पनि यस्तै विसङ्गतिको दृष्टान्त हो । यी नाराहरूजस्तै बिरामीले खाने औषधि र किसानले खेतबारीमा हाल्ने मल पनि आलङ्कारकि हुने हो भने के अवस्था होला ? नारा भनेको बिरामीलाई दिने औषधि र खेतमा हाल्ने मल हुन्, त्यसैले यी धरातलीय सत्यमा आधारति र व्यावहारकि हुनुपर्छ । म यहाँ प्रचलित नाराहरूका विश्लेषणमा छु । यो पनि मेरो काम सकिएको लक्षण हो ।
हाम्रो देशमा नौ वर्षपछि निर्वाचन भयो । यहाँ निर्वाचनको मौसम ज्यादै रमाइलो हुने गर्छ । हाम्रा भाग्यविधाता नेतागणहरू हात जोड्दै आए । यो विनयशीलता सधैं रहे कस्तो हुन्थ्यो ? आरामै हुनुहुन्छ ? नेताले हात जोडेर सोध्थे । आरामै छौँ हजूर यहाँका कृपाले गाउँले बिन्ती गर्थे । टुरिस्टजस्ता लाग्छन् हाम्रा नेताहरू । १० वर्षसम्म जनता दिनदिनै मरे, कताकति बाँचे । नेताहरूले राजधानीबाट मरेकाहरूलाई ओढ्ने झन्डा पठाउँथे । बाँच्दासम्म गरीबीले नाङ्गै बस्नेहरूले मरेपछि भने झन्डा ओढे ।
दाङतिर पञ्चायतकालमा एक जना ठूला नेता थिए, उनले चुनावको अघिल्लो दिन राती गाउँगाउँमा जर्किनका जर्किन रक्सी र मासु बाँड्थे । अर्को दिन सबै भोट सोहोर्थे । त्यस बेला पनि माननीय हुनु भनेको राजधानी बसाइँ सार्नु थियो । समय अनुसार कसैले रक्सीका जर्किन देखाए, कसैले गुलेली त कसैले बम-पिस्तोल देखाए । यहाँ यो सांसदको प्रमाण-पत्र भनेको राजधानी बस्ने भिसा बनेको छ । विजयी भएपछि जनताले नेतालाई भेट्ने भनेको सपनमा नै हो । भेट्नका लागि अर्को निर्वाचन पर्खनु पर्छ । अर्को जिल्ला र क्षेत्रबाट उठे भने त जिन्दगीभरि भेट हुँदैन ।
इतिहासदेखिका निर्वाचन हेर्दा यहाँ कसैले सोझो हिसाबले चुनाव जितेको छैन । कसैले मरेकाका नाममा भोट हाल्थे, कसैले जन्मदै नजन्मेका नाममा भोट हाल्थे । कतैकतै त मतपेटिका नै कब्जा गरेर आफैँ भर्थे । हामीकहाँ निर्वाचनको कुनै वैज्ञानिक व्यवस्था छैन । यसरी आउने गरेका बहुमतको के अर्थ छ ? यसरी चुनाव जितेपछि बन्ने सरकारका प्रथम कार्य हुन्छन्, आफूसँग विमति राख्नेहरूका जरा उखेल्नु र आफन्ततिरका जरामा मल हाल्नु ।
डेमोक्रेसीको बाइ द पिपुल, फर द पिपुल र अफ द पिपुललाई मान्ने हो भने निर्वाचनमा संलग्न भई निर्वाचित सम्पूर्ण दलहरू आफ्नो हैसियत अनुसार सरकारमा सहभागी हुनुपर्छ । हामीकहाँ एउटा नेताले ‘कमैया मुक्ति’ गरेर ठूलो धर्म लुटे तर ती कमैयाहरूले आफ्ना समस्याबाट कहिल्यै मुक्ति पाएनन् । बस्ने बास छुट्यो छुट्यो, खाने गाँस पनि छुट्यो । खोला र सडकछेउका चोइटामा छप्पर हालेर समस्या रूङेर बस्नुपर्यो । लालपुर्जा पाए, जग्गा पाएनन् । अचेल ती मुक्त कमैयाहरू, नेताका भाषणहरूमा ताली ठोक्ने साधनजस्ता बनेका छन् ।
जे पनि भन्ने र भनेको कहिल्यै नगर्ने यहाँ सबै क्षेत्रको रोग हो । बोलीको ठेगान पनि छैन, भोलिको ठेगान पनि छैन । अन्यत्र एकपटक प्रधानमन्त्री बनेकाहरू राष्ट्रमा सधैँका लागि सम्मानित पात्र बनी बाँच्छन् र बाँचुन्जेल राष्ट्र निर्माणमा योगदान गर्दै रहन्छन् । हामीकहाँ प्रधानमन्त्री पदबाट कोही हट्दैनन् । हटाउनुपर्छ । हटेको अर्को दिनदेखि चक्काजाम सुरु गर्छन् । यहाँ आधा दर्जनपटकसम्म प्रधानमन्त्री बनेका नेताहरू पनि जनताका समझमा समेत नआउने बन्छन् । यसको के कारण हो ?
हाम्रातिरका नेताहरूको जनता फकाउने शैली र तन्नेरीले तरूनी फकाउने शैलीबीच धेरै समानता छ । तन्नेरीले तरूनी फकाउँदा भन्छ, ‘हे कान्छी तिमीलाई सुनको तारा झारििदम्ला ।’ विवाहपछि कान्छी सुनका तारा माग्न थाल्छिन् र लोग्नेले भन्छ, ‘बङ्गारा झारििदम्ला ।’ यसले म्यान डोमिनेटेड सोसाइटी पनि देखाउँछ । हाम्रा नेताहरू पनि चुनावताका जनताले मागेका सबै कुरा पूरा गर्ने आश्वासन बाँड्छन् । पछि उही बङ्गारा झारििदम्ला । जनतामा पनि एउटा फोबिया छ, सत्तामा बसेकालाई गुल्ट्याउने । यो फोबिया नेताले सुखभोग गरेको देख्न नसक्दा हुने जेलसीबाट निर्मित मनोदशाबाट जन्मन्छ ।
एकदिन हाम्रातिर एक जना भयङ्कर क्रान्तिकारी नेताको चुनावी भाषण दिवस थियो । उनका कार्यकर्ताहरूले जनतालाई भाषण सुन्न भेँडाबाख्रा खेदेझैँ खेदेर भेला गरे । नेताजी गरबिका छाप्राहरूमा धूलो छर्दै एयरकन्डिसनल पजेरोबाट आएर भाषण छर्न थाले, “आदरणीय दाजुभाइ दिदी-बहिनी, फुपू-फुपाजू, बाजे-बज्यैहरू, सर्वप्रथम महान् अभिवादन ! हामी अहिले समयको विशिष्ट क्षणमा छौँ -किनभने, यतिबेला खुस्केमा पाँच वर्षसम्म घरकुरूवा बनिन्छ) । अन्य सबै दलहरूले देश बर्बाद गरेको देखिहाल्नु भयो । हामी मात्रै यो देशका निर्माता र गरबिका सहारा बन्न सक्छौँ । आफ्नो भविष्यको निर्माण गर्न हामीलाई जिताउनुहोला ।” आफ्नो चुनाव चिन्हकै बखान गरे १० मिनेटजति । जति उनले गरबि, पीडित, शोषितका पक्षमा भाषण छाँटे पनि त्यहाँका सबैभन्दा धनाढ्य सामन्त र शोषक उनै हुन् भन्ने सबैलाई थाहा थियो । हरेक सहरमा उनका घर-घडेरी थिए । छोराछोरीहरू विदेशमा पढ्थे । घरमा कमैया, कमलरी, सुसारे राख्ने पनि उनै र बीसको उन्नाइस ब्याज असुल्ने पनि उनै । देशभरमिा उनको नाममा एकधुर जग्गा छैन, भएको जति उनकी श्रीमतीको नाममा थियो ।
हाम्रो देशको टिमुर सधैं भारततिर जान्छ, दाल्चिनी सधैं भारततिर जान्छ, रठिो सधैं भारततिर जान्छ । सुठो सधैं भारततिर जान्छ र यिनैबाट बनेका सरसामान आयात गर्न नोटको मुठो पनि सधैं भारततिरै जान्छ । यहाँ उद्योगहरू खोले युवाशक्तिले रोजगार पाउँथ्यो । तर, सत्तासीनहरू यस्तो गर्न चाहन्नन् । सबैले रोजगार पाए भनेपछि लाग्ने कार्यकर्ता पाइँदैनन् भन्ने चिन्तन होला नेताको ।
हरेक चुनावमा युवाहरू दुई-तीन महिना नेताका प्रचारमा लाग्छन् । चुनावको घोषणा भएको अर्को दिन दिल्लीको पहाडगन्जतिर भाँडा मिस्न जान्छन् । यो क्रम कहिलेसम्म चलाउने हो ? यो प्रथा त केवल जनताले आशामा जीवन गुजार्ने बाहना मात्रै बन्ने गर्यो ।
म राजनीतिबिनाको विश्व सरकारको पक्षमा छु । भएभरका वाद हेरियो । ‘इजम’ भन्ने कुरा सत्ता चढ्ने भर्याङ मात्रै । सत्तामा पुगेपछि भर्याङ फाल्छन् । सत्तामा पुग्नुलाई मोक्ष प्राप्ति ठान्ने संस्कृति । विकास गर्ने भन्ने कुरा सम्बन्धित क्षेत्रका दक्ष जनशक्तिले हो । नेपालमा त क्रियटिभ भिजनको कुरा छाडौँ, मन्त्रीका शुभ-कामना मन्तव्य पनि अरूले नै लेख्नुपर्छ । कखरा र एबीसीडी नजान्नेहरू विज्ञानमन्त्री भएका घटना धेरै छन् । योग्यता र दक्षताको आधार भनेको ‘जेलजीवन’ हो । ‘चुनाव हारे पनि मन्त्री बन्न पाइने’ विधानलाई पनि के विधान भन्नु ! परीक्षामा अनुत्तीर्ण भए पनि कक्षा चढ्नुजस्तै ।
मानव समुदाय आ-आफ्ना भाषा संस्कृतिले परििचत हुन्छन् । सबै समान, महान् विश्व राज्यका नागरकि । कुबेतको तेल निर्वाध हामी नेपालीले प्रयोग गरौँला, कुबेतमा बस्नेहरूले पनि निर्वाध जुम्लाका स्याउ खालान् । यो दिन भित्र्याउने नेता र मन्त्री कहिले जन्मेला ! सबैको प्रतीक्षा छ यसमा ।
नेपाल साप्ताहिक अंक ३२५
