सत्य आजभोली कसलाई पो मन पर्छ र किनकि युग नै कलिको हो रे । रमितै रमिताको रमाईलो संसार हरेक समय एउटा अचम्मको रमितामा रमिरहेको छ संसार । सत्य त अब एउटा कथाहो कथा !केवल किँवदन्तिका कथा…… सायद सत्य पनि हुन सक्छ अथवा सम्पूर्ण काल्पनिक पनि ।
बिहिवारको रात सायद महिनाको पहिलो रात नै हो । ऊ खुल्ला आकाशमुनि समुन्द्रको किनारमा एक्लै लखतरान परेर सुतिरहेको छ हरियो चौरमा । रात त अन्धकार नै हो छिप्पिएको रात मध्यरात जताततै सुन्य हुनुपर्ने तर छैन । कर्निश्च पार्कको बिचै बिच राजमार्गमा सल-सलाउदा गाडीहरु रफ्तारको साथ कुदिरहेका देखिन्छन् । पार्कभरि नै मान्छेहरु ओहोरदोहोर गरिरहेका छन् । कोहि आफ्ना परिवार सहित त कोही साथी-संगीका साथ सुनौलो सांझको मनोरम आनन्द लुट्दै छन् । तर, ऊ नजान्नु एक्लै छ हरियो चौरमा लम्पसार परेको छ मानौं ऊ अब सदासदाको निम्ति सुत्ने निधो गरेको होस् मानौ अब ऊ आफ्ना सारा थकाई मार्ने निधो गरेको होस् । ऊ त आफनो धुनमा सुतिरहेको छ । तर जाग्नेहरुको व्यस्तता अर्कै छ । हो ऊ पो सुतेको छ उसको मानसपटल नजान्नु जागेको छ कि भागेको आफैलाई पनि थाहा छैन । अनगिन्ति प्रश्न मनदेखि मनसम्म जुधिरहेका छन् । मन साँच्चै घाईते छ, यो कस्तो चोट हो ? चोट त उसले धेरै पायो हिड्दा हिड्दै लागेको ठेंसवाट उब्जेको चोट, फूल टिप्दै गर्दा हातमा कोपिएको काँडावाट उब्जेको चोट, घाँस काट्दा औला काटिएको चोट, अरु धेरै चोट तर… तर आजको चोट पृथक छ । हो जटिल छ परिस्थिति भन्दा बाहिरको । कुनै दिन ऊ यस्तै कयौँ रात उसले साथी बीच रमेर विताएको थियो यदाकदा एक्लै भए पनि शान्त वातावरणमा आनन्दभास पाएको थियो तर आज त्यस्तो छैन । उसलाई सम्झना छ ती पनि त यस्तै रात नै थिए जति नै सुन्य भएपनि वास्तवमा सुन्यताको आभास हुदैन्थ्यो । किनकि ऊ उसकी प्रीयसीको साथमा हुन्थ्यो आजपनि संभव त थियो तर पनि ऊ एक्लै छ एकांकी साँच्दै ।
दुई वर्ष पहिला गोरो-दुब्लो ख्याउरीको शरीरले धान्नै नसक्ने ऋणको भारी बोकेर ऊ यस मरुस्थलमा प्रवेश गरेको थियो । सोझी तर सुशिल श्रीमती अनि उनका साथमा दुई अवोध शिशु सुम्पेर आएको थियो उसले । अविश्वस्निय अपरिपक्व सपना बुनेर सफल बन्ने, जमर्को कसेर ऋण तिरी गरिबिको मुखमा थप्पड हान्ने, एउटा सतुष्ट जीवनको खोजीमा असल व्यवस्थापक वन्ने रहर सायद त्यसैले होला मनभरि अथाह पिडा,विदाइको पिडा, विछोडको पिडा हुदाहुदै पनि आँखामा एक थोपा आँशुसम्म टिलपिलाउन दिएन । केहि बोल्ने रहर हुदाहुदै पनि अखिरएका ओंठबाट नसुहाउदो मुस्कान निकाल्ने प्रयास गर्दै साझा बसको झ्यालबाट विदाईको हात हल्लाएको उसलाई राम्रो सम्झना छ । उत्तानो छ,, लखतरान छ भित्रैदेखि एकपटक लामो स्वास लिन्छ सायद पिडा पचाउने एउटा अर्को असफल प्रयास । जवदेखि घर छाड्यो एक्लो त ऊ थियो नै तर यति तितो पिडा उसले कहिल्यै महसुस गरेको थिएन । आज किन उ सबैदेखि अलग छ के आजको रात उसको लागि अर्कै प्रकारको रात हो रात जति सबै उस्तै हुन फेरि ऊ किन आज संवेदनशिलताको अति अशान्त स्थितिसंग मरेतुल्य भई लडेको छ दश कक्षा पढ्दै गर्दा माया गरेर बनेकी उसकी मायालु उसकी जिवन-संगिनी, उसको आगमनको प्रितामा कति तड्पेकी होलिन ? तर फेरि उ एकपटक लामो सुस्केरा तान्छ । कन्चटमा जोरले हात्ले थिच्दै छट्पटिन थाल्छ मानौं टाउको माथि वज्रपातको आशंका छ उसलाई ।
अस्तिमात्र पत्रमा लेखिएको थियो गाउँमा चर्चा चलेछ-बच्चाहरु बोकी फिलिम हेर्न जाँदा हलमा उसकी जिवन संगिनी, उसकी मनकी रानी, उसकी अर्धङ्गगिनिको मास्टरसंग हाँसो ठट्टा पर् यो रे । मस्की-मस्की क्यान्टिनमा कोला पिएको पनि देखे रे ! चरित्रमाथि प्रश्न उठेछ विचरी ? उनी क-कसको मुख थुनेर सक्ने सामाजिक ढाँचा नै बिग्रेको हाम्रो समाजमा कुरै कुराको खुट्किलो थप्ने त परम्परा नै छ । एक कान दुई कान मैदान खबर बिष बनि मरुस्थलमा तातो हावा बनी पुगेरै छाड्यो । कुरा चरित्रमाथि उठेको प्रश्न भन्दा पनि मौकाको फाइदा उठाउनेहरुको थियो तर उसले यो किन सोच्ने ? उ त छोरो मान्छे न हो पितृको बाहुल्यतामा हुर्केको सामाजिक परिवेश किन पो सत्यको खोज गथ्र्यो र । भित्रको के, खोलको महत्व हुन्छ सबैलाई । कुनै दिन माया पिरतीका गीत लेखेको थियो उसले तिनीमाथी तर अचानक तथानाम भनेर एकै झट्कोमा संसार नै एक्लो वेसहारा बनाइदियो । ति वाचा ति कसम जुन उसले भन्ज्याङ्गको चौतारीमा उनको हात समातेर गरेको थियो जिवन पर्यन्तसम्म साथ नछोड्ने भनि, भताभुङ्गा भयो आज खोक्रो साबित भयो । आह ! सम्झना अतितको, सम्झना ति विगतको सम्झना ति हरेक जुन जताततैबाट ऊसंग आवद्ध छ……। कहि कतै खुशी छ तर के खुशी क्षण भरमै एउटा ठक्करले सिसा सरह चक्नाचूर ! अब त कतै खुशीको झिँनो संकेतसम्म देख्दैन उसले । जता पुग्छ उतै पिडा, बसे पिडा उठे पिडा, मानौं उसको जिवन प्वाल परेको डुङ्गा हो जुन लहरसँग ठक्कर लिने जमर्को गर्दैछ । लम्पसार शरीर सोचको बोझले ग्रस्त उसको छाती एकपटक चसक्क परेको अनुभव गर्छ उसले तर अचानक झस्केर उठ्छ । चिसो बतासको परवाह नगरी निधारवाट चिटचिट पसिना चटपटाहट मानौ एउटी नारी शिशु जन्माउने सघंर्ष गर्दै छिन् ।
कुरा सत्यको हो सत्यको सामना गर्न धेरै कठिन हुन्छ । तसर्थ हामी बनावटी सत्यको पछि भाग्छौं । हर कुनै भागिरहेका छन् । तर सत्य पनि त कसैको फन्दामा परेको चरो होइन जुन िपंजडाभित्र बसेर विवशताको गीत गावस ! सत्य र समयको मतलव कसैले गरोस वा नगरोस आखिर यसले कसैलाई पनि पछ्याउन छाड्दैन । यो कुरा उसले पहिला त ख्याल राखेन तर आज जब कुनै पिडाले तड्पेको छ जताततै सत्य देख्दैछ देख्दै छ समय उसको हावी बन्दै छ । समयको तिखो प्रहारले मानौ छियाछिया बनाउदै छ उसको शरीरलाई अंग-अंगबाट प्रवाहित रगतका थोपा आज उसका विरुद्ध उत्रेको महसूस गर्दै छ । एक पटक फेरी आफ्नो कन्चिडोलाई जोरजोरले थिच्छ मानौं उसको टाउको विस्फोट हुनेवाला छ । त्यसो त केहि होइन तर उ ग्लानीले ग्रस्त छ पछुतो छप्रायश्चितको मार्ग खोज्दै छ हो प्रायश्चित गर्न चाहन्छ ।
लामो आर्तनाद भित्रैदेखि उर्लेर आउँछ, मनमनै चिच्याउँछ मनमनै सेलाउछ । एकपटक लामो सुस्केरा हाल्छ । कम्पनीको काममा कतै जाँदा त हो ऊ संग आँखा जुधेको ! साँच्चै कति राम्री सलक्क परेका जिउडाल, सिल्की कपाल, जुन गर्दनसम्म मिलाएर काटेकी, अंग-अंगको परिचय दिने उसको आधुनिक पहिरन, सुनमा सुगन्ध नै थियो । छातीमा टम्म मिलेर उठेका वक्षस्थल मंगोलियन अनुहार, कुनै सानी केटी जस्तै मुदुल मुस्कान, मानांै अवोध नानीको कलिलो हाँसो होस् । जो कोही मस्त हुने, जो कोही लपर्ने । उसका अंग-अंग जुर्मुराएर आयो अनायसै आखा जुधे, संवोधनका हात हल्ले, काँमेका ओठले बात मारेरै छाड्यो अनि ? अनि अब एउटा विचित्रको संसार सुरु भयो । कहिले कर्निश्च पार्कमा घण्टौं माया पिरतीका गीत गाउन थाल्यो कहिले झिलमिल रेष्टुरामा लाच र डिनरको कार्यक्रम हुन थाल्यो । समयको लहरसंगै यति व्यस्त हुन पुगेछ कि पछाडी फर्केर हेर्न पनि भ्याएनछ । छोटो अव्धिमा गन्तब्यसम्म पुग्न हतार, विचरा यात्री मानौ संसार रित्तो छ वाहेक उनी दुई । िहंजोसम्म साथि-संगिको अघिपछि देखिने ऊ अब त कतै लुक्न पुगेको छ अस्ती मात्र हो मार्केटमा मस्की मस्की किनमेल गर्दै गर्दा टाढैबाट गाउँको सानेले उनिहरुलाई देखेको । एउपटक बोलाउने चेष्टा त भयो तर जानी नजानी अपरिचित व्यवहार खेप्ने भयले ऊ चुप लाग्यो ।
सत्य कसलाई पच्छ प्रश्न त यहि हो उत्तर होला नहोला । तर प्रश्न त्यहि नै हो सत्य कसलाई पच्छ सत्य त आज भोली सानो खल्ती पो त जे राखे पनि हुने खाने राखेपनि जाने, राखेपनि हो…. सत्य त हिजो पो थियो आज त ऊ छ उसकी माया । अरु कोहि छैनन् । जीवन मरणका वाचा जति सबै हिजैका हुन् । आज त ऊ छ उसकी माया । उनलाई बिहे गरेर भित्र्याउंदा बाबुआमालाई मनाउन, हित्तचित्त मिलेर गरेको मायाको परिभाषा बताउन भोगेका कष्ट सबै हिजैका हुन् । दाम्पत्य जीवनको नविन शुरुवात गर्दाको कठिनाई पनि हिजैको हो । नौ महिनाको गर्वलाई त्यो सानो सागरको रुपमा धर्तीमा उतार्न नसक्दा विचरी अर्धाङ्गीनीले खेपेको तड्पन, त्यो कहाँ आजको हो र ? उनको सानो शल्यकि्रया गर्दा नसुति अस्पतालमा बेडको गोडानमा बसेर रोएकोपनि सबै हिजो नै हो । ती माया पिरतीका कथा ति हाँसो र रोदन त सबै िहंजै बगिसके, सायद मायाको तर आज हाँसो जति सबै छ केवल प्रेमको आह ! यो के हुन पुग्यो ? अकस्मात छाती समात्न पुग्छ ऊ । अस्तिका कुरा त हुन्; िहंजो छाडि एक दिन पहिलाको एका विहानै फोनको घण्टी बज्यो….. उसलाई भेट्ने तरखरमा थियो किहं आज पूनःमिलन थियो । पिरतीका फेरि अर्को पाना भर्नु थियो .. फेरि मायाको असिम आनन्दमा रमाउनु थियो अनौठो तर तृप्त मायाको रमाईलो कथा लेख्नु थियो.. पुरानो हैन अर्कै पाना नयु मायाको । नो नंबरको फोनको घण्टी बज्यो…काटियो अनी फेरि बज्यो । फोन उठ्यो एकै सासमा गालीका प्रहार क्षेप्यास्त्र झैं उनको मुटुमा लाग्ने गरी बसा्रउन थाल्यो । ऊ कति रमाईलो जीवनमा प्रवेश गरिरहेको छ रहस्यको जिवनगाथा सायद अरुको कल्पना भन्दा बाहिरको । उनलाई के थाहा मायाको उद्गारमा पौडेको छ भन्ने अनि उनलई के थाहा फिलिम हेर्न जाँदा मास्टरसँग हुसेको कथाभन्दा फरक कथा लेख्दै भन्ने ? तैपनि प्रतिबाद नगरी आंशुले भिजेको ओसिलो स्वरमा हालखवर सोधेरै छडिन् । आफ्नो व्यथा लुकाएर भएपनि हाँस्ने प्रयास गर्दै तर अलिकति खर्चका लागि पैसा माग्नु फेरि अर्को गल्ती ? क्षमा बाहिरको गल्ती ? तिर बस्र्यो आक्षेपको बिष पोतिएको । हो अस्ती कै कुरा हो “तेरो नाठोले दिएन” भनेको पनि त उसलाई सम्झना छ; एक पटक लामो सुस्केरा हाल्छ । सुस्ताएको छ, ऊ चिन्तित त पक्कै छ साथमा ग्लानी पनि … एक्लै तड्पेको त उसको निस्सासहाटले स्पष्ट छ । िहंजो अबेर रातीसम्म ऊ सँगको सामिप्यता र आज बिहानको फरक परिस्थिति सम्झेर ढुकढुक धड्कन वजाउँदै बसेको छ । अतितदेखि वर्तमान अनि भविष्यको जोड घटाउमा नजान्नु कुनै गोप्य योजना तयार गर्दै थिए िहंजो उनीहरु । िनंद्रा त िहंजो उनिहरुबाट बिशेष रुपले बिदा भएको थियो । चुम्वकिय ध्रुबको बिपरित मिलन जस्तै एक अर्कामा टाँसिएर हिजै राति क्याफेको क्यान्टिनमा कफीको स्वादमा हराएको मज्जा, आज अहिले यस बखत किन छैन ? किनकि त्यो हिजो थियो आज त अर्कै हो … समयको अर्कै पाटोहिजो भन्दा फरकहिजोको भन्दा पृथक ।
सत्य कसलाई मन पर्छ ? मिठास भन्दा परको तितो सत्य ? संवेदनशिलताले पोतिएको जहाँ पिर-चिन्ता तिरस्कार अनि भय… पिडाले उन्मुक्त सत्य …विहानै देखि ब्यस्त छ किनकि भोली त शुक्रबार बिदाको दिन । लगभग भोलीसम्मको काम फत्ते गर्नुपर्ने । बिहान अलिकति नास्तामात्र गरेर यताउता काममा दौडेको छ कुदेको छ । ऊ छ उसको काम । चर्को घाम सारा मानिस गर्मीको चापबाट बच्न आ-आफ्नै कोठामा छन् । बाहिर कताकति सडकको काम चलेको छ बाँकी सबै छुट्टी भै सकेको छ । अफिस बन्द, स्कुल बन्द, दोकानहरु सबै बन्द, दिउँसोको प्रभाव तर सडक भने व्यस्त जताततै मोटर गाडीको चाप । नब्बेको रप्तारमा कुदेको थियो उसको गाडी अचानक फोनको घण्टी बज्छ गाडी चलाउँदा मोवाइलको प्रयोग अवैधानिक हो भन्ने कुराको पर्वाह नगरी झटपट उसले फोन उठाउँछ गाडी रप्तारमै छ किनकि उसलाई समयमै गन्तव्यसम्म पुग्नु छ किनकि काम फत्ते गर्नुछ । आज अस्तिको जस्तो नो नंबरको घण्टी होइन घण्टी बज्यो काटियो फेरी बज्यो अनि काटियो यो फोन त अर्कै पो त उनको होइन उसको पो त ! समय र सत्यले सबैलाई पछ्याई रहेको हुन्छ । यस्तो यथार्थ जुन प्राणीको पल-पलसँग संवन्धित छ । आवाजमा मिठास थिएन दबेदबेको थाके-थाकेको हारे-हारेको मानौ तेल सिद्धिन आँटेको टुकी जस्तै । अचानक गाडीको रफ्तार कम हुन्छ । गाडी सडक किनार रोकिएको छ फोनमा कुरा समाप्त भएका छन । चर्को गर्मी भए पनि गाडीको कन्डिशनले गर्मीको महसुस त छैन । ति सारा काम … ति सारा व्यस्तता अकस्मात सबै सडक किनार रोकिएको छ मानौ काम अनि व्यस्तता सबै एउटा सपना मात्र थियो बिपना भन्दा बाहिरको । अठार डिगी्रको कन्डिशनको चिसोमा पनि निधारबाट चिटचिट पसिना उम्रेका छन्, मानौं वर्षाको पानी पचाउन नसकेको पहरा झैं । अकस्मात उसका हातपाउ कामेर आउँछ मानौं कतै भुकम्पको थर्थराहट उब्जेको होस् । उफ ! यो के भयो ? किन भयो ? अब के हुन्छ ? तृष्णाको आडम्वरमा गाँसेको माया स्वदेश संसारको कुनै समाजले स्वीकार गर्न मान्दैन भने यो देश उफ ! यो देश यो अर्काको देश । स्वदेश भन्दा परको देश । हो, ऊ अब भाग्न चाहन्छ यस्तो ठाउँमा कि सारा समस्याको निराकरण होस ऊ लुक्न चाहन्छ अब के हुने हो हे अल्लाह ! के भयो ? मैले के गरे यस्तो म बाट गल्ती भयो । अचानक गाडी भित्र पसिनाले निथ्रुक्क ऊ बडबडाउन थाल्छ ।
जब पहिलो पटक उसकी अर्धङ्गगिनिको पेटमा गर्व रहेको खबर उसलाई सुनाएकी थिइन । कति खुशी भएको थियो ऊ । खुशीले मात्तिएर उफ्रदा टाउकोले दलिनमा ठोक्किएर टाउको काटिएको, त्यो अतित… आह ! कति प्रफुल्ल लागेको थियो त्यो पल । बल्बली शिरको भुमरीबाट रगत बगेको त उसले बाबुको कुर्तामा लागेको रगतको टाटोले चाल पाएको थियो । घरको पहिलो सन्तान आउने वाला थियो …। घर, के घर ? सम्पूर्ण गाँउमै खुशीको मनोरम बखत छाएको थियो । ठट्टा मिश्रित बधाई…आशिर्बाद थाप्दाको सास्ती । तर त्यो सौगात िहंजो पनि लिएर आएको थियो । समयले फेरि आजपनि लिएर आएको छ । तर पनि ऊ दुःखी छ किनकी हिजोको मायाको सौगात आएको थियो तर.. तर आज तृष्णाको नतिजा आएको छ । हो .. मायाको कदापी हुनै सक्दैन यो त मनोराजनको प्रतिफल हो । यस्तो मनोराजन कि रमाईलो त असाध्यै हुन्छ अन्त भने नमिठो तितो सह्य भन्दा बहिरको । उसलाई अब भाग्नकालागि सारा ढोकाहरु बन्द भए झैं लाग्छ । चर्को गर्मीमा पनि अँध्ोरो महसुस हुन थाल्छ । पहिरन पुरानो भयो नयाँ सिलाउनु स्वभाविकै हो । तर माया पुरानो ? त्यो माया जस्तो निम्ति कुनै दिन संसार नै उसको शत्रु हुन्थ्यो लाग्थ्यो । यौवनको तिर्खा कसलाई हुदैन र ? भोक लाग्छ तिर्खा लाग्छ तर जीवन यति संवेदन्शिल छ कि यदि हामी समयसग सम्झैता गर्न कदाचित हेलचेत्रुयाई गर् यौं भने सायद भोक तिर्खा दोष बन्न पुग्छ । मनको भोक तनको भोक सबै जिवनका अंश नै त हुन् .. चकमन्न रात बन्द कोठामा दुई युगल जोडी एक अर्कामा समर्पित स्वर्गपारिबाट अचानक कतै अँधेरोमा हराउन पुगेकी परी जस्ती शुकोमल शरिर उसको शरिरसंग सलवलएको छ । बोल्न धेरै चाहन्छन् तर ओठ केवल थर्थाराइरहेका छन् । अचम्मको संघर्षमा व्याप्त युगल यौवनको समुन्द्रमा पौडन आतुर छन्.. उत्तेजनाको चरम उत्सर्गमा पुग्ने होडन चलेको छ । हो रात अँध्यारो नै छ तर पनि वासना बलिरहेको छ .. यौवन जलिरहेको छ भष्म-भष्म हुँदै छन् उनिहरु । ओहो …4; कति मज्जा कति अनौठो असमान्य तिर्खा .. उफ … जलन तड्पन । संघर्ष र छट्पटाहट अनि.. अनि णभरमै दुबै शिथिल । चरम आनन्द खेल हो, खेल अंग-अंगको खेल । तृप्तीको खेल दुर्गन्धको खेल ।
जब उसले फोनमा आफू गर्भवती भएको खबर सुनाउँछे उसलाई लाग्छ उसको टाउको माथि छानो खसेको छ । माया नै मायाको खेल थियो नतिजा वासनाको । खुशी उठाउने माया अब सारा क्षमता सामथ्र्यपनि खोस्दै छ । के साँच्चै उसले माया नै बसालेको थियो त ? प्रश्न सत्यको हो तर सत्य कसलाई पच्छ र ऊ अब कसैको काखमा टाउको टेकाएर रुन चाहन्छ । तर विडम्वना एक्लै छ । ऊ छ उसको वस्ताविकता छ । स्वास्नीको मायामा छुरा रोपेर खनेको बाटो अब त मायालाई अघात पुगेछ । ऊ अब साँच्चै डराएको छ । हरियो चौरबाट उसको हारेको शरिर उठ्न सकिरहेको छैन । एक पटक कटाक्ष भरिएको श्वास फेर्छ उसले । िहंजो र आजका कुरा त भए तर भोली के होला उनले चाल पाइन भने ति स-साना छोरा-छोरीको विचल्ली त हुदैन ? बावु-आमा छरछिमेक सबै सम्झन्छ उसले । कतै लुक्ने ठाउँ छैन । कुनै पनि बेला आकाशबाट झरी पर्न सक्छ ओत लाग्ने कहाँ ? अब त पार्क पनि खाली भइसकेछ । विहान हुन थालेछ । मस्जिदबाट प्रार्थनाको निम्तो पुकारेको चर्को आवाजले पुण्र्ँतयाः सोचको गहिराईबाट निक्लन्छ । मन नलागेपनि उठेर गाडीमा जान्छ । अचानक फोनको घण्टी बज्छ, नो नम्बरको घण्टी आज काटिन पाउँदैन । हेलोको सुरुवात संगै डाँको छोडेर रुन्छः उसकी धर्मपत्नीको आवाजको आगोशमा मुन्टो अड्काई रुन्छ रुदै जान्छ डाँको छाडेर । डाँको चित्कारको अनि.. पुकारको डाँको । रुदै जान्छ सायद रुने दिनको शुरुवातसँगै ।

tapaile lkheko ta attti ramro
tapaile lkheko ta attti ramro rahechha hau