उत्तरहरू – भिकारी सौन्दर्यमा
क्लासिकल चेहेरा बोकी बसेका छन्
सुरुप सुरुप
सुरुप्प – चियाका सुर्प्याइहरूले
तात्तातो थप्पडी मार्ने बितिक्कै
सुरु हुन्छ – अखडामा प्रश्नहरूको औंलो ठड्याई
बुच्पचाएको मुद्रामा उपस्थित उत्तरहरू –
बेन्चीमुनी,
चप्पलका लोतीको चिल्लोभागमा,
सुरुवालका सुर्कनेहरूमा,
वा छातीका रोमकुपहरूतिरै
डरमर्दो -धक धक गरिरहन्छन्
तातो खाएर – तातै ओकल्नेको पंक्तिमा
प्रश्नहरू – सबैभन्दा अग्रभागमा छन् !
यी बिषेशत:
आफ्नी श्रीमती/प्रेमिकाको ओठचुम्बन छोडी छोडी
चियाप्रेममा फसेका छन्
र नजानी नजानी गिलासको तल्लो भागमा औंला अल्झाएर
ओठले गिलासको धार चुमिरहन्छन
उत्तरहरू न त तातीन सक्छन
न त छाम्दा चिसा नै भेटिन्छन
खै कुन अजीव छायाँको मायाले हो
यिनीहरू – प्रश्नबाचकहरूकै
आसपास,
माथि
मुनी
या
छेउकुनामा
कक्रिएर मध्येमार्गी
जीवनको रोपवे निर्माण गरिरहन्छन !
अखडामा प्रश्नहरूको तातोपन
र अखडाभित्रैका उत्तरहरूको मध्यमार्गीय चलन
खै ? अखडापसलेहरूले कसरी बुझ्छन कुन्नि ?
तर,
उनीहरू आधुनिक पसले जस्तै भने अवश्य देखिन्छन
उनीहरू – भिकारी उत्तरहरूको अवस्थाभन्दा
एक स्तर माथिका !
यसरी:
सत्य यस्तो देखिन्छ कि :
जीवन जिउने कलामा प्रश्नहरू – कामुक, चंचल
उत्तरहरू – स्थिर
अनि अखडा पसलेहरू चै – अलिकति चंचल र अलिकति स्थिर !
– बिप्र
