Skip to content

लेख्ने कुरा कति छन्

कविता

“लेख्ने कुरा कति छन् ”

कति कति लेख्ने कुरा कति छन्
नभबिच ताराहरु जति छन् |
छताछुल्ल बेथितिहरू कति छन्
यो धर्तिमा प्राणीहरु जति छन् |

जतासुकै बेथितिको छ खेती
हत्या भयो थितिको घाँटी रेटी |
बढ्दो असन्तोष छ गाँउ घर्मा
खस्किरहेछ किन आज धर्म |

ठूलो र सानोको लडाई जारी
बांझियो त्यो उर्बर खेत बारी |
अकालमा काल पल्किरहे छ
विनाशको स्याल सल्किरहे छ |

शक्ति र सामर्थ्यको होडबाजी
ठान्छन् अरुलाई निरीह पाजी |
यौटा उचालेर अर्को पछार्ने
जानी-बुझी दृष्टी अन्तै बटार्ने |

कस्तो हुने हो अब आउँदा दिन्
वृद्धि हुने छाँट छ मृत्यु छिन् छिन् |
गोला र बारुद धुँवा कति कति|
न सुध्रने भो यिनका कुनै मति

उठौंसबै शक्तिविहीन उठौँ
यी शक्तिका स्वार्थ बिरुद्ध जुटौँ |
जिते सबै थोक सामुन्नेमा छ
हार्दा पनि के छ र हाम्रो जान्छ|

आउ सबै शक्ति बिहीन आउ
आवाज एकठा गरेर आउ |
यी धुर्त ब्वाँसाहरु खेद्नु पर्छ
बेथितिलाई अब रेट्नु पर्छ |

देविचरण भण्डारी “सरोज”

Leave a Reply

Your email address will not be published. Required fields are marked *