मेरो घरको आँगनबाट सधैँ सधैँ
तिमीलाई हेर्ने गर्थेँ
उत्सुकता जाग्थ्यो मनमा
त्यो के होला ?
मेरी हजुरामाले हिमाल भनेर चिनाउनु भा’थ्यो
म हिमाल देखेर माेहित हुन्थेँ
र सधैँ सधैँ दर्शन गर्थेँ
कस्ले हो कुन्नि, मलाई भन्यो
त्यो मकालु हो भनेर
म कालु; तिमी मकालु
हामी दुवै अब मितलाउने
तिमीलाई भेट्न म कति दौडिएँ
तर, सकिन भेट्न; पटक्कै सकिन
लाचार छु म, तिमीलाई नभेटी घर फर्केँ
एकदिन फेरि तिमीलाई भेट्ने क्रममा
खाँदबारीसम्म पुगेँ; तिमी त लुकि पो दिएछौ
तिमी लुक्तै छिप्तै हिड्ने
म पच्छ्याइरहने
र फेरि पुगेँ परसम्म
छ्याङ्कुटी पुगेँ; अनि पुगेँ चिचिलासम्म
तिमी ठिङ्गउभिएर हेर्दै थियौ
म तिमीसँग मित लाउने प्रस्ताब राख्तै थिएँ
मित्र ! तिमीले मान्दै मानेनौ
म निरास भएर फिरेँ
मलाई धेरै छटपटी भयो
म भौतारिएर हिड्न थालेँ
तिमी मेरा आँखा भरी छाइरह्यौ
म अन्यौलमा परेँ तैपनि
मअँझै प्रयास गर्दैछु मित्र !
तिमीसँग मित लाउन
तिमीलाई भेट्न म अँझै पनि आउन सक्छु
नुममा बास बसेर सेदुवासम्म आइपुगेकये छु
किन लुक्छौ मित्र ! आउ, यहाँसम्म
हामी दुवै यहाँ मित लाउनु पर्छ
यदि तिमी मान्दैनौ भने
अँझै म टासीगाउँसम्म आउन सक्छु
जाँते ओडारसम्म धाउन सक्छु
स्वीकार गर यो कालुलाई
बिन्ती छ तिमी मकालुलाई
२०४६।५।२६ मकालु– ६, मुर्मिडाँडा
