Skip to content

तुम्लिङटारदेखि सेदुवासम्म


तुम्लिङबाट उठेर गयो उकालो चढेर
खाँदबारी बजार राम्रो छ हेर अघाडी बढेर
मरुवा हुदै भञ्ज्याङ पुगो यो पाङ्मा गाऊँ हो
रमाइलो फाँट हरियो वन सेखाहा गाउँको

चिप्लेगाउँबाट सीतल ताप्दै भोटेबास पुगियो
उकालो काटी रमिते डाँडा छ्याङ्कुटी पुगियो
शिरिरी हावा छ्याङ्कुटी भञ्ज्याङ्ग रमिता हेरेर
सुस्तरी हिड्यो गोगने हुँदै चिचिला पातल

पहाडी शिखर मैदाने बाटो घना छ जङ्गल
हिडेर पुग्यो चिचिला गाउँ सुरम्य मङ्गल
पहाडी बाटो जङ्गली फाँट भिरका टाकुरा
वनमा बास्छन् बिभिन्न जन्तु बनैका च्याखुरा

उकाले हैन ओरालो हैन पहाडी पच्याङ्ग हो
हरर आयो सितल हावा हुरुरु डाँडाको
सधैँको चिसो सँधैंको जाडो त्यो सुकेपातलको
त्यसैले गर्दा लाएछन् बस्त्र बृक्षले झ्याउको

वारी र पारी हरियोवन हेर्दैमा रमाइलो
यो मुडे गाउँ पहाडी शिखर अतिनै घमाइलो
मुडेको बाटो ओरालो सिधै नुममा झरिन्छ
पुर्वको पाटो ओरालो लागे फ्याक्सिन्दा पुगिन्छ

शिरको सामु उत्तर पटि मकालु हिमाल
त्यै बाटो ताकि ओरालो झरे अरुण किनार
अरुण नदी झोलुङ्गे पुल तरेर गइन्छ
उकालो बाटो कठिन साथ लुम्लुमा पुगिन्छ

हेर्दैमा उँभो रिङ्गटा लाग्ने उकालो चढेर
सेदुवा गाउँ पुगियो बल्ल गलेर–थाकेर
बल्ल र तल्ल कठिनले पुग्यो सेदुवा गाउँमा
लेखाली फाँट हरियो वन रमाइलो ठाउँमा

२०४६।२।२२ मकालु—७ मुलगाउँ, संखुवासभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *