Skip to content

तनाव ग्रुप अफ ल क्याम्पस


एस एल सी परीक्षा पछि मेरो पहिलो क्याम्पस पाटन संयुक्त थियो जहाँ विज्ञान विषय लिएर अध्ययन गरें । तर मैले देखेको र परिवारले सोचेको म डा बन्न सकिन त्याहाँबाट । एक वर्ष पढाइको नाममा रमाइलो र आवारागिरीमा वित्यो । त्यस्पछि बुवाले मलाई वकिल बनाउने इच्छा पाल्नुभएको रहेछ । ल क्याम्पसमा भर्ना गरिदिनु भयो । मैले यो अवसरलाई कुनै हालतमा नगुमाउने प्रण गरेको थिएँ ।

पाटनमा पढ्दाको कमी कमजोरीहरूलाई नदोहोर्याउने गरी मैले साथी छनौटदेखि नै ध्यान दिएँ । तीन वर्षे पढाइमा एक वर्ष पनि फेल नभई सरासर आइ एल र बिएल को अध्ययन पुरा गरें । धेरै साथीहरू मध्ये सधैंजसो साथै हुने हामी थियौं तुफान निराजन अच्युत आनन्द र म । हामी ५ जना साथीको पहिलो पहिलो अक्षर मिलाउँदा तनाव भन्ने शव्द बन्यो । यही तनाव ग्रुप अफ ल क्याम्पसको नामले एफ एमहरूमा हाम्रो फर्मायस गीतहरू बज्थ्यो । साथी तुफान हामीलाई छाडी सल्यान गएको बेलामा मेरो दिमागमा यो ग्रुपको एउटा गीत यसरी फुर्यो

तुफानले उडाइ लगे आनन्दी पलहरू
साथै लगे सुखदुखका भग्नावशेष महलहरू

खुशी थियो माया थियो थियो मनको राज
कोही छैन केही छैन कठैवर आज
आज शुन्य विहान शुन्यशुन्य दिन साँझ
तनावकोव रन्का गड्यो मनमुटु माझ

बिजयीमुस्कानले सदा सजाउँथ्यो
मनको निराजनले शान्तिदिप जलाउँथ्यो
आज आँशुले त्यो दिप निभायो
निभेको दिपले हाँसीहाँसी गिज्यायो

निराशीको अतिक्रमण झन् बढ्ने भयो
अब सारा जीवन तनावमै डुव्ने भयो

काठमाण्डौ उपत्यकाका अच्युत निराजन र आनन्द हुन् । तुफान सल्यानका हुन् । अच्युतको टाइटल निराशी थियो । हाल निराशी लेख्दैनन साथी । निराश नै किन हुनु पर्या छ र साथीलाई । यसरी यो ग्रुप बने तापनि यस् भित्र एउटा अर्कै ग्रुप पनि थियो । त्यो एनटीबी हो । निराजन तुफान र बिजयको । बी एल सकेपछि हाल अच्युत नेपाल सरकारको उपसचिव सरहको जागिरे भएका छन् आनन्द सशश्त्र प्रहरीको डिएसपी बनिसकेका छन् । निराजन कलेजहरूमा पढाउने गर्छन्। तुफानले दाङमा औषधीको होलसेल व्यापार गरी आएका छन् । म साथीहरूको यादमा सम्झनाका यी हरफहरू कोरिरहेको छु । ल क्याम्पसमा भेटिएका अन्य धेरै साथीहरूमा करुण कुमार बलामी एक अर्को भुल्न नसकिने र नहुने मित्र हुन् जो काठमाण्डौ सितापाइलाका स्थानीय वासिन्दा हुन् । यिनीसङ्ग पनि क्याम्पस जीवनमाभन्दा अहिले झन् गाढा सम्वन्ध रहि आएको छ । त्यसै गरी ल क्याम्पसमा सङ्गै पढेर पनि नजिक हुन नसकेका काभ्रेका साथीहरू नवराज वडाल रमेशप्रसाद हुमागाइ टीकानारायण श्रेष्ठ तिर्थमान तामाङ प्रताप कर्माचार्य जयराम कर्माचार्य हाल एउटै पेशामा छौं । हामी साथीहरूको उहिलेको विशेषता भनेको सबै ल क्याम्पसमा अध्ययन गर्नु थियो भने अहीलेको विशेषता भनेको हामी सबै वकिल भयौं र हामी सबैको विवाह भैसकेको छ आआफ्नो परिवारका मालिक भएका छौं । पढाइको हकमा तुफान र म बाहेक अरु साथीहरूले स्नातकोत्तरको डिग्री हासिल गरिसकेका छन् । म थेसिसमा अल्झिरहेको छु त्यो पनि राजनीति शास्त्रको । नेपाली राजनीति र मेरो राजनीति शास्त्रमा मैले निकै समानता पाएको छु ।

सिन्धुलीको गौमतीबाट प्रारम्भ भएको शैक्षिक यात्रा सञ्जीवनी पाटन क्याम्पस ल क्याम्पस त्रिचन्द्र जहाँ समाजशास्त्रको दुई वर्ष अध्ययनका लागि भर्ना भएँ । पढें पनि । तर समाजशास्त्री बन्ने मौकाबाट अहिलेसम्म टाढै छुँ हुँदै त्री वी किर्तिपुरमा पुगेर अनकनाएर बसेको छ । पढाइको यात्रा कहिल्यै नसकिने यात्रा हो । हेरौं अँझै केही कदम चाल्न सकिएला कि भन्ने छ । बुढा भइञ्जेल पढ्ने रहर छ । अध्ययनले तनाव कम गर्छ । तनावका साथीहरूलाई सुझाव छ । साथीहरू के भन्नुहुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *