“…कीराले हीरा बिगार्यो … नीच दर्जाका सोसलिस्टले उचालेको … गान्धीलाई भेटी नेपालको कुरा गर्ने … यस्ता गाथगादी ताक्ने राजद्रोहीहरूलाई म के गरौँ ?” जुद्धशमशेरले खुट्टा बजारे ।
अनि, श्री ५ त्रिभुवनबाट हुकुम भयो, “मोडरेट गर्नुपर्छ ।”
माहिला गुरुज्यूले मनुस्मृतिको श्लोक उद्धृत गर्दै भने, “ब्राह्मण नै किन नहोस्, राजद्रोहीलाई प्राणदण्ड दिन सकिन्छ ।”
कर्नेल यक्षविक्रम धमलाले थपे, “महाराज, यी सबैलाई काट्नुपर्छ ।”
यत्तिकैमा हामीलाई उभ्याइएको लहरको उत्तर छेउमा खडा शुक्रराज शास्त्रीले आङ चलाउँदै, खुट्टा पनि बजार्दै नेल सिक्रीको आवाजका साथ भने, “धर्मशास्त्रमा प्रजालाई थिचोमिचो गरी आफ्नो स्वार्थपूर्ति मात्र गर्न खोज्ने शासकलाई पनि सजाय तोकिएको छ महाराज, उद्धृत गर्न पाऊँ!”
“यी सबैको नाइके तैं होस्, अझ कराउँछस् ? तँलाई पल्टनले कुल्चाएर मारौँला,” जुद्धशमशेर फेरि कुर्लिए ।
यति कुरा के भएको थियो, श्री ५ त्रिभुवन र युवराजहरू अप्रत्याशित ढंगले उठेर मोटरतर्फ गई सवारी फिर्यो । महाराज र उनका सेनामेना किंकर्तव्यविमूढझैँ भए । प्रधानमन्त्री सिंहदरबारतिर लागे । अरूहरू पनि छरिए । हामीलाई स्कुल घरमा लगियो । पालमा राखिएकालाई पनि त्यतै लगियो ।
यसैबीच, सिंहदरबारमा प्रधानमन्त्रीसहित चार कमान्डिङ् जर्नेल र उच्चपदस्थ राणाहरूको बैठक बस्यो । मुद्दाको फैसला सुनाउने कार्यमा श्री ५ को अप्रत्याशित फिर्ती सवारीले पूर्वनिश्चित योजनामा बाधा परे पनि सिंहदरबारअगाडिको माछापोखरीको पटांगिनीमा उभ्याई सजाय सुनाउने निर्णय भएछ । पहिले घन्टौँ उभ्याई थाकेका हामीहरू सुस्ताउन पनि पाएका थिएनौँ, पुनः त्यतै हिँडाइयो । छिन्दि्रङछिन्दि्रङ नेल-सिक्रीको आवाजसँगै हामी हिँडेर लामो माछापोखरीको दक्षिणतर्फको ढुंगेपथमा लहरै उभियौँ । हामी प्रत्येकका पछिल्तिर बन्दुकधारी सैनिक तैनाथ थिए । हाम्राअगाडि रुखकमलको बोटमुनि चौरमा चार कमान्डिङ्सहित अन्य राणा जर्नेल, काजी, सरदार र सुब्बाहरू थिए । रत्नमान काजीका हातमा बेरिएको नेपाली कागजको एउटा मुठो देखियो । आपसमा केही खासखुस गरेपछि त्यो कागज पढ्न काजीले महत सुब्बालाई कर गरे । निर्देशानुसार नाउँ बोलाउनासाथ हामी एक पाइला अगाडि बढ्थ्यौँ । आफूलाई भएको सजाय सुन्थ्यौँ र फेरि अघिकै ठाउँमा उभिन्थ्यौँ । हामीलाई आ-आफ्नो क्रियाकलाप अनुसार रोलक्रमजस्तो गरेर उभ्याइएको थियो ।
गंगालाल श्रेष्ठसहित हामी ४० जनालाई सजाय सुनाइयो, त्यहाँ । हामीमध्ये धेरैले जन्मकैद र सर्वस्वहरणको सजाय पायौँ । टंकप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा मुडी दामल अंश सर्वस्वको सजाय भयो । शुक्रराज, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाललाई ज्यान र अंश सर्वस्वको सजाय भयो । गंगालाल र दशरथ चन्दलाई त चार-पाँचपटक गोली हानेर मार्नू भन्ने आदेश भयो । यो विसं १९९७ साल माघ ७ गतेको दिन थियो ।
त्यो क्षणमा पश्चिम फर्केका हामी राजबन्दी र पूर्व फर्केका राणा तथा उनीहरूका भारदारबीच सोझो हेराहेर भइरहेको थियो । घन्टौँ हेराहेर भइरह्यो । राणाहरूमध्येका बुज्रुक केशरशमशेरको आँखाले राजबन्दीहरूको नापजाँच गररिहेका थिए भने हामी प्रजापरिषद्का सदस्यहरू पनि उनीहरूको आत्मबल आँकिरहेका थियौँ । धेरै बेरको प्रतीक्षापछि महाराज जुद्धशमशेर पूरै रवाफका साथ त्यस भारी भेलामा आए । क्रान्तिकारीहरुका विरुद्ध गरिने फैसला राजा र राजकुमारहरूको उपस्थितिमै सुनाउने राणाशासकहरुको चाहना भएका कारण हुन सक्छ । त्यसको केही छिनपछि नै श्री ५ त्रिभुवनलाई तीनै राजकुमारका साथ नरशमशेरले सवारी चलाई ल्याए । मौसुफहरू ठूलो पालको काउचमा राज हुनेबित्तिकै जुद्धशमशेर हुक्का गुडगुडाउन छाडेर उठ्याउठ्यै लिखित भाषण पढ्न थाले । जसमा सजाय सदर गरिएको थियो ।
गंगालालले १९९५ सालमा असनमा भएको पुराणको सांगेमा एउटा लिखित भाषण गरेको म अझै सम्झिन्छु, । शुक्रराज शास्त्रीले त्यसै साल इन्द्रचोकको डबलीमा श्रीमद्भगवत्गीताको दोस्रो अध्यायलाई लिएर छोटो भाषण गरेपछि जोसमा आउँदा गंगालालले त्यस्तै अर्को भाषण गरेका थिए । त्यसपछि गणेशमान सिंह र गंगालाल प्रजापपरिषद्को खोजीमा धेरै दिन भौँतारिए । तर, पछि उनीहरूले आफ्नै व्यायाम शिक्षक धर्मभक्त माथेमामा प्रजापरिषद् भेट्टाए ।
शोभाभगवतीमा दशरथ चन्दलाई गोली हानिरहँदा छेवैमा बाधिएका गंगालाल राणाशाहीलाई गाली गररिहेका थिए । त्यो देखेर रिसले चुर भएका नरशमशेरले गंगालालको घुँडा र तिघ्रामा तीन गोली हाने । गंगालाल भने आफूलाई लागेको गोली गन्दै थिए । यो सबै अत्याचारको दृश्य हेररिहेको दोस्रो पोडे, जसलाई गंगालाललाई गोली ठोक्न ल्याइएको थियो, त्यसलाई नरशमशेरले आखिरी गोली हान्न अह्राए । तर, त्यसले मरिगए गोली हान्न सकेन, बरु रुन पो थाल्यो ।
नरशमशेरले पहिलो पोडेलाई अँगालो हालेर फकाउँदै पेस्तोल समाउन सघाए । त्यसपछि चलेका दुई गोली गंगालालको पेट र कोखामा लाग्यो । १९९७ माघ १६ गते शोभाभगवतीमा पाँच गोली खाएर गंगालाल सहिद भए । यसरी मीनपचास अर्थात् माछा पनि काँप्ने जाडोको समयमा नेपाल आमाका चार सपुत सहिद भए ।
नेपाल साप्ताहिक ३३१
