Skip to content


सधैँ झै उनी आउछिन् र भर्याङको माथिल्लो खुड्किलोबाटै हातको गिलास देख्नासाथ हतार हतारमा छिटो छिटो तल ओर्लिदै त्यही भन्छिन् – आज पनि उस्तै ? हिजो भन्नुहुन्थ्यो भोलि छोड्छु, भोलि भन्नुहुन्छ भोलि छोड्छु, हैन तपाईँको यो भोलि कहिले आउँछ ? ……….’

र यति भन्दासम्म उनले मेरो हातको गिलास खोसिसकेकी हुन्छिन् र म टुलुटुलु उनको अनुहार हेरिरहन बाहेक केही गर्न सक्दिनँ । नसक्ने होइन, तर उनको त्यो मुहार देख्दा आफूलाई क्षीण पाउँछु । उनलाई हेरेर टोलाउन बाहेक म केही गर्न सक्दिनँ । एकटकले उनलाई हेरेर टोलाइरहन्छु, टोलाइरहन्छु………

मेरो हातको गिलास खोसिसकेपछि भन्छिन् – अब त भो, या यो रक्सी छोड्नुस् या मलाई ।’

न म उनलाई छोड्न सक्छु, न म रक्सीलाई । उनको यो शर्त निरुत्तर रहन्छ । महिनांै दिनदेखि उनले यो शर्त राखेर मेरो र रक्सीविच तगारो हाल्ने कोसिस गरेकि छिन् तर हरेकपल्ट उनी असफल भएकी छिन्, यो रक्सीको अम्मल छुटाउनबाट । र मैले हरेक पल्ट त्यही आश्वासन दिंदै आएको छु, ‘आजमात्र, भोलि त पक्का पिउदिनँ ।’ कहिलेकाहीँ निकै कस्छिन् । मैले वाचा गर्नुपर्छ । रक्सीको साथै उनको कसम पनि खानु पर्छ ।

उनलाई थाह छ, मैले कसम मात्रै खाने हो, पूरा गर्ने होइन त्यसैले कहिलेकाहीँ केही छिन्सम्म उनी त्यसरी नै एक्लो सुरमा आफ्ना कुरा सुनाइरहन्छिन् र रक्सी र मनका कुरा ध्यान दिएर सुनिरहनेछु । केहीछिनपछि उनी आफंै शिथिल हुनेछिन् र आफ्नो कार्यतिर लाग्नेछिन् । म चाहिँ त्यही हुन्छु, त्यस्तै ……….।

यो मेरो कुनै एक दिनको घटना होइन्, विगत दशवर्षदेखि निरन्तर चल्दै आइरहेको नित्यकर्म नै हो । सधैँ वातावरण एकनासको हुन्छ, पात्र तिनै हुन्छन्, संवाद त्यही हुन्छ फरक यती समय मात्र हुन्छ । दिन, महिना ऋतु अनि साल मात्र फेरिएका हुन्छन् बाँकी त्यही हो । र म चाहन्छ,ु यो यस्तै चलि नै रहोस् सधैँ ।

मैले यसो गर्नुको अर्थ मैले उनलाई वेवास्ता गरेको हैन, उनीप्रति माया नभएको होइन । माया छ, अथाह । मलाई नै थाहा छैन म उनलाई कति माया गर्छु । उनलाई काडाँले मात्र छुँदा मेरो यो छाती चक्सिदिन्छ । उनीसँग झुठो बोल्नु उनीप्रतिकै अपार माया हो । उनी प्रतिकै सम्मान हो । र अटुट रूपमा यो माया यस्तै चलिरहन्छ । जुन दिन उनी त्यसरी रक्सीको गिलास खोस्दिनन्, त्यो दिन रक्सी पिएझैं लाग्दैन । रक्सीको मात भन्दापनि उनको त्यो आग्रह, उनको त्यो रिसाइ, उनको त्यो रिसाइले मलाई मात दिन्छ ।

मलाई थाहा छ – उनले भनेको कुरा मैले मानेकोे छैन । उनका कुरालाई नसुनेझै वेवास्था गरेको छु तर उनलाई पनि थाहा छ किन मैले उनलाई बेवास्था गरेको छु, उनका कुरा सुने पनि नसुनेझै गरेको छु । उनले मलाई बुझेकी छिन्, त्यसैले त मैले उनलाई जे जति वेवास्ता गरे पनि उनले मप्रति आस्था नै राखेकी छिन् । मेरा हरेक पाइलामा उनले साथ दिएकी छिन् । र मलाई विश्वास छ आगामी दिनमा पनि उनको यो निश्छल माया अविरल रूपमा प्रवाहित भइरहनेछ । मैले उनको आग्रह स्वीकारूँ या नकारूँ । मैले उनलाई वास्ता गरूँ या नगरूँ…………….

उनले रिसाएको मलाई असाध्यै मन पर्छ किनकि उनी रिसाउँदा उनलाई फकाउनु पर्छ । उनलाई फकाउन मैले अनेक प्रयत्न गर्नुपर्छ । उनलाई फकाउन जब मैले कान समाछु अनि उनी बल्ल मुस्कुराउछिन र मेरा हात समात्दै अङ्गालोमा बाध्छिन् । त्यतिमात्र होइन, कहिलेकाहीँ उनका लागि मौले बाललिला देखाउनु पर्छ ।उनलाई फकाउन जब म बालक बन्छु अनि उनी खित्का छोड्दै हाँसिछन् र आफ्न ओठहरू च्याप्दै ‘यो के गरेको’ भन्दै मलाई काखीमा सामात्न खोज्छिन, मानौँ म उनको छोरा हुँ ।

यही क्षणका लागि म उनीलाई सुनेर पनि नसुनेझै गर्छु ।

मैले रक्सीको मातमा रमाउनुको कारण पनि उनको यही माया हो । मन हो, अनके कुरा खेलिरहन्छ । जब मेरो मनमा उनीसंगको विछोडको कल्पना आउछ तब मैले आत्मनियन्त्रण राख्न सक्दैन र त्यो संबेगलाई थाम्न मैले रक्सीको सहारा लिनुपर्छ । रक्सीको मादमा लठ्ठिएर मैले त्यो तीतो कल्पनालाई हटाउनु पर्छ । तर उनलाई के थाह, मेरो मनमा के बित्दै छ । जीवनका हरेक कुरा उनीबाट लुकेका छैन्न तर यो कुरा मैले लुकाएर राखेको छु । ‘म किन रक्सी पिउँछु ? ’ मलाई थाहा छ, तर म उनलाई बताउन सक्दिनँ, किनकि मेरो त्यो कुराले उनको पनि मन दुख्नेछ । र त्यो मनको दुखाइ यो मनमा सर्छ ।

हामी दुवैको यो सहयात्रा यसरी नै चलिरहोस् – हरेक दिन म कामना गर्नेगर्छु । तर मलाई थाह छ एक दिन हाम्रो यो सहयात्रामा तगारो आउनेछ । नचाहँदा नचाहँदै पनि एक दिन विछोड हुनुपर्ने छ । यो अविरल मायाबाट बञ्चित हुनेछु । त्यो दिनको सामना मैले कसरी गर्ने ? मेरो मनमा यही कुरा काँडासरी बिझेको छ । उनीबिनाको मेरो जीवन यात्रामात्र होइन, म बिनाको उनको जीवनयात्रा पनि त्यति नै गाह्रो नहुने होइन तर हामी दुवैको बाध्यता, एक दिन खोलाका दुई किनार हुनु छ ।

मलाई अँझै स्मरण छन् हाम्रा दाम्पत्य जीवनका ती आदिम निदहरू, तिरहेक पल, हरेक क्षण अँझै उस्तै ताजै छन् । दाम्पत्य जीवनका यी तीस बसन्त कसरी पार भए, म हरेक पल वर्णन गर्नसक्छु । अन्तिम स्मरणशक्तिरहेसम्म ती पलहरू यसरी नै मसंग, मेरो प्रतिबिम्ब बनेर रहनेछन् । र कहिले भुल्ने छैन, उनीसंगको यो सहयात्रा, उनको साथ, उनको त्यो माया ।

हरेक दुखमा मैले उनको साथ पाएको छु । मेरो सुखमा उनी हाँसेकी छिन् र दुखमा आँखाबाट आँशु झरेका छन् । गहभरी आँशु लकाएर उन मेरा लागि मेरा सामु मुस्कुराएकी छिन् । उनको रुवाइमा मेरो आँखा रसाउँछ भन्ने थाहा पाएरै उनले आफ्ना आँशु लुकाएकी छिन् । गहभरिका आँशु कसरी परेलीको डिलमा लुकाएकि छिन्, मैले देखेको छु । अभावग्रस्त मेरो संसारमा उनी मसँग रमाएकि छिन् । मलाई थाह छ, मेरो संसार अभावै अभावमा बाँचेको छ तर मैले कहिले उनका आँखामा अभाव देखेको छैन ।

उनको ठूलो गुन यही हो– काँडामाझ उनी हाँसो खोज्ने । दुःखमा पनि उनका ओठ मुस्कुराए । उनको यही गुनले मलाई बाँच्ने सहारा मिलेको छ र म बाँचेको छु ।

जीवनको यो गोरेटोमा आरोह अवरोह नआएका होइन्न । सुखदुख आए, र त्यस्तै गएपनि । सायद जीवनमा सुखभन्दा दुख बढि पाए हुला तर एक अर्काेको सुखमा रमाउँदै जाँदा दुख कहिले आयो, कहिले गयो पत्तौ लागेन ।

यसका लागि म उनको आभारी छु । कहिले नबिर्सने गुन लाएकी छिन् । मेरा हरेक पाइलामा साथ दिएकी छिन् र मेरो प्रतिछाया झै सधैँ मसँग डोरिदै आएकी छिन् । म जता जाऊँ, उनले कहिले मेरो साथ छोडेकी छैनन् । उनको उही साथले नै मलाई आज यहाँसम्म पुर्याएको हो । आज म जे छु, जस्तो छु उनकै कारण छु ।

आज मेरो मनका एउटै काँडा बिझेको छ– कुनै दिन हामी टाढियौ भने…………………. र यही दुखाइ क मगर्न मैले रक्सीको साथ लिनु पर्छ ………….. र रक्सीको मातमा लठ्ठ भएर मदहोशीमा विलाउनुपर्छ …………………।

भावना क्षितिज
महेन्द्रनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *