Skip to content


पाइला निरन्तर बढिरहेकै छन्
लक्ष्य तैपनि अदृश्य नै छ ।
हातहरू निरन्तर खटिरहेकै छन्
पेट तैपनि भोकै छ ।
संघर्षहरू निरन्तर चलिरहेकै छन्
विभेद तैपनि बढ्दो छ ।
प्रगति निरन्तर छ
र पनि गरिबी बढेकै छ ।
शान्तिको भाषण निरन्तर चलिरहेकै छन्
विध्वंस तैपनि बढेकै छ ।
नेता जन्मिएका जन्मिएकै छन्
सोच खडेरी बढेकै छ ।
…भएको भयै छ ।
…बढेको बढ्यै छ ।
कति कहुँ म बुद्धका कीर्तिगाथा ?
कति बताउ“m म दिव्योपदेश ?
कति जन्माऊँ म रामशाह ?
कति उमारौँ शुक्र, धर्म, गंगा र दशरथ ?
भीम मल्लहरू काटिनुपरिरहन्छ भने
बीसेेहरू सधैँ थिचिएर मर्नु परिरहन्छ भने
अमर सिंहहरू सीमासँगै
खुम्चिनु परिरहन्छ भने… ।

भो अब चाहिन्न उपयोगितावाद
भो अब चाहिन्न सम्झौतावाद
भो अब चाहिन्न त्यागवाद
भो अब चाहिन्न केे के के के
वादैवादको वादविवाद
मेरो भोक म आफँैले मेटाउनुपर्ने हो भने
मेरोे न्याय म आफैँले गर्नुपर्ने हो भने
मेरो सन्तानको म आफैँ भविष्य हो भने
र यथार्थ सधैँ सधैँ यस्तै रहने हो भने… ।

भो आन्दोलन र क्रान्ति अब पुग्यो
सहादत र बलिदान पनि बढी भो
भ्रम चिरेर अब म
आफैँभित्र
आफ्नै लागि
आफैँ क्रान्ति गर्छु
म आफैँ जन्मन्छु र
म आफैँ बाँच्छु
पाखण्ड र झूटहरू चिरेर
दःुस्वप्न र मृगतृष्णाबाट पर
आफ्नै अस्तित्वमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *