तिम्रो बाहुपाशमा कसैलाई देख्ता झन्डै मुटुले धड्किन छाडेथ्यो,
निद चोरिएका नयनहरूले वर्षाएको वर्षातको भेलले
बेरोकटोक सिरानी भिजाउन पुगेथ्यो,
अशान्त मनले रक्त प्रवाहलाई
धमनीसम्म जानै नदिने प्रयत्न गर्न खोजेथ्यो ।
तर मैले
सबैलाई सकि नसकी सम्हालेँ
सन्नाटा भरिएको रातमै किन नहोस, मनलाई ढाडस दिइरहेँ
सम्झाएँ, तिमी त्यस्तो होइनौ, मेरा आँखाहरू नै त्यस्ता
जो सत्य देख्नुभन्दा अगाडि नै सँवेदनशील हुन खोज्छन ।
तिम्रो उपस्थितिलाई आफ्नै परिधि भित्र मात्र कैद गर्न चाहन्छन ।
आफ्नै मनलाई फट्कारेँ, तेरो प्रेम किन भावपरक हुन सक्तैन?
किन त्यसले भावनात्मक सम्बन्ध गाँस्न सक्तैन?
एकपटक प्रेममा भावविभोर भएर त हेर्!
विश्वासको खम्वालाई डगमगाइ दिने हेराई त फेर्!
दृष्टिकोण फेर्ने बित्तिकै,
त्यहाँ तिम्रा निश्चल भावहरू मात्र देखिए;
तिम्रो चेहराको शान्त र स्निग्ध रुप मात्र अगाडि आए ।
तिमी प्रतिको समर्पणमा खोट लाग्न नदिने धोको बढ्यो,
भित्री मनले प्रेमलाई पूजा बनाउने अठोट गर्यो ।
किनकि,
प्रेम स्वार्थी हुँदैन…….!
मझेरीमा पहिलो पटक प्रकाशित – 2014-11-20 04:28:04 +0545
