Skip to content


तिम्रो बाहुपाशमा कसैलाई देख्ता झन्डै मुटुले धड्किन छाडेथ्यो,
निद चोरिएका नयनहरूले वर्षाएको वर्षातको भेलले
बेरोकटोक सिरानी भिजाउन पुगेथ्यो,
अशान्त मनले रक्त प्रवाहलाई
धमनीसम्म जानै नदिने प्रयत्न गर्न खोजेथ्यो ।
तर मैले
सबैलाई सकि नसकी सम्हालेँ
सन्नाटा भरिएको रातमै किन नहोस, मनलाई ढाडस दिइरहेँ
सम्झाएँ, तिमी त्यस्तो होइनौ, मेरा आँखाहरू नै त्यस्ता
जो सत्य देख्नुभन्दा अगाडि नै सँवेदनशील हुन खोज्छन ।
तिम्रो उपस्थितिलाई आफ्नै परिधि भित्र मात्र कैद गर्न चाहन्छन ।
आफ्नै मनलाई फट्कारेँ, तेरो प्रेम किन भावपरक हुन सक्तैन?
किन त्यसले भावनात्मक सम्बन्ध गाँस्न सक्तैन?
एकपटक प्रेममा भावविभोर भएर त हेर्!
विश्वासको खम्वालाई डगमगाइ दिने हेराई त फेर्!
दृष्टिकोण फेर्ने बित्तिकै,
त्यहाँ तिम्रा निश्चल भावहरू मात्र देखिए;
तिम्रो चेहराको शान्त र स्निग्ध रुप मात्र अगाडि आए ।
तिमी प्रतिको समर्पणमा खोट लाग्न नदिने धोको बढ्यो,
भित्री मनले प्रेमलाई पूजा बनाउने अठोट गर्यो ।
किनकि,
प्रेम स्वार्थी हुँदैन…….!

मझेरीमा पहिलो पटक प्रकाशित – 2014-11-20 04:28:04 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *