जुत्ताको तलुवामा प्वाल परेछ, ढुंगाले छाला नै छेडेपछि पो उसले चाल पायो । ऊ अर्थात् हीराबहादुर ! धनकुटा जिल्ला अखिल क्रान्तिकारी किसान संघको सदस्य ! लेगुवादेखि मास्तिर उक्लनु थियो, झन्डै सिधुँवा बजार नै भने पनि हुने । बजारदेखि अलि तलको माविमा मान्य आउने कार्यक्रम थियो । त्यहीँ हिँडेको हो हीराबहादुर पनि ! आकाशमा हेलिकप्टर देखेपछि जाडोमा पनि मध्याह्नमा तन्नेरी देखिएको सूर्यलाई हत्केलाले छेकेर मुन्टो आकाशतिर उचाल्दा तल ढुंगा देखेन । खुट्टामा राम्रैसँग बजि्रएछ, रगत बग्न थाल्यो । अलिकति धूलो छक्र्यो, एकछिन सुस्तायो । रगत रोकिएपछि ऊ फेरि हिँड्यो ।
बजार जाँदा लाउने गरेको उसका दुई जोर सर्ट छन्, एउटा ठूलो भ्याङ्ले ज्याकेट छ । अनि दुई वर्षदेखि एउटै जुत्ता लगाउँदै आएको छ । कटनको पाइन्ट जम्मै च्याङ्लिएको छ, कतै कतै दुलो पनि परेको छ । स्वास्नीले हिँड्ने बेलामा भनी, “ज्या ! पछाडि त गएछ ।” उसले पाइन्टभित्रको सर्ट बाहिर निकाल्यो ।
१२ बजेको भेला थियो, घरबाट ७ बजे हिँडेको ! फटाफट हिँड्दा तीन घन्टा लाग्छ तर खुट्टामा घाउ भएपछि उसको कदमको गति विस्तारै विस्तारै घट्दै गयो । “ट्याममा नपुगिने हो कि !” मनमनै बात मार्दै जाँदा माथिबाट एउटा केटो झर्दै गरेको देख्यो । केटो सहरतिरको जस्तो थियो । जिन्स पाइन्ट, जिन्सकै ज्याकेट लाएको ! कपाल पनि स्टाइलमा काटेकोे । अगाडि छोटो, पछाडि लामो ! जुत्ता हेर्दै सजिलाजस्ता थिए, गोडालाई कत्ति पनि तकलिफ नपर्ने खालको ! उसले काठमाडौँमा यस्ता जुत्ता पाइन्छन् भन्ने सुनेको थियो । जनआन्दोलनमा भाग लिन काठमाडौँ आउँदा आन्दोलन सकिनेबित्तिकै नेताहरूले गाउँ फर्किन भने । ऊ आज्ञाकारी भएर आयो, नआएको भए पनि जुत्ता किन्ने पैसा थिएन । हेर्नसम्मचाहिँ हेथ्र्यो कि !
“कति बज्यो भाइ ?” केटो नजिक आएपछि उसले सोध्यो ।
“११ ।” केटोले घडी हेरेर जवाफ दियो । हीराबहादुरले केटोको घडी हेर्यो । घडी दामी थियो, उसको मुखमा अमिलो पानी आयो । उसले निलेन, केटोकै अगाडि थुक्यो । पिच्च !
केटो जिल्ला सेक्रेटरीको छोरो थियो । उसले बल्ल पो चिन्यो । उसले फेर िकेटोको पाइन्ट, ज्याकेट, घडी अनि जुत्ता हेर्यो, हेररिह्यो । केटोलाई अप्ठ्यारो लागेछ, ऊ तल लाग्यो । हीराबहादुरले पछाडिबाट पनि हेर्यो, केटोको हात हल्लिँदा घामको कोण मिल्या बेला, घडी टलक्क टल्कन्थ्यो । उसले रमाइलो मानेर फेर िहेर्यो ।
मान्य आएका थिएनन्, हीराबहादुर अगाडि गएर बस्यो । चिनेजानेका कामरेडसँग हात मिलायो । हालखबर साटासाट गर्यो ।
“गाडी आयो, गाडी आयो,” बूढाबूढीले समेत रमाएर भने । टलक्क टल्केको गाडीबाट कालो चस्मा लगाएर एउटा मोटे मान्छे ओर्लियो । भुँडी ठूलो भए पनि उसले पाइन्टभित्र सर्ट घुसारेको थियो । सर्ट, कोट, पाइन्ट सबै भर्खर सिलाएका जस्ता थिए । खुट्टामा पालिस सक्दो घसेर टल्काएको जुत्ता थियो । हीराबहादुरले हेररिह्यो, त्यो मान्छे उसको छेउबाट हात हल्लाउँदै गयो । अत्तरको वास्ना उसको नाकमा पस्दा उसको मुखमा फेर िथुक आयो । उसले आपmना वरपरकालाई हेर्यो, सबका अनुहारमा अमिलो भाव थियो । उसले झैँ अरूले पिच्च नथुकेजस्तो थियो ।
मञ्चको सोफामा खुट्टामाथि खुट्टा चढाएर मान्य थचक्क बसे । चस्मा खोलेर एक नजर दिए अनि फेर िलगाए ।
झरी परेको रात हीराबहादुर छोराहरूसँग वात मार्दै थियो । गाउँका मास्टरले एउटा झुम्रे मान्छे लिएर आए । एउटै छातामा आएका हुनाले त्यो मान्छे आधा रूझेको थियो । जाडोले उसका ओठहरू नीला भएका थिए । चप्पलका लोती चुँडिन लागेको थियो, पातलो हाफ सर्ट लगाएको त्यो मान्छेको शरीरमा मासु भन्ने कतै थिएन । ननुहाएको धेरै भएजस्तो थियो, शरीरबाट नमीठो हस्को एकनासले आइरहेको थियो । मास्टरले सीताराम सरलाई एकरातको बास देऊ है दाइ भनेर त्यो मान्छे उसको जिम्मा लगाएर हिँडे ।
“ढिँडो चल्छ ?” हीराबहादुरले विस्तारै संकोच मानेर सोध्यो ।
“चल्छ होइन, दौडन्छ,” सीतारामका आँखामा उज्यालो देखियो ।
हीराबहादुर गाउँकै मुखियाको खेत जोत्थ्यो । दुई जवान छोराहरू पनि उसैलाई सघाउँथे । जेनतेन ढिँडो र गुन्द्रुकको जोहो भएको थियो । उसका धेरै सपना पनि थिएनन् । छोराहरूको बिहे गर्ने धोको थियो, त्यत्ति हो !
ढिँडो खाएपछि सीतारामको मुखबाट धाराप्रवाह वाणी फुट्यो । उनले ‘जसको जोत उसको पोत’ भनेको के हो सम्झाए । रूसमा भएका क्रान्ति, चीनमा भएका क्रान्ति सारासारा एकरातमा हीराबहादुरको कानमा भरििदए । “हो र ? हो र ?” हीराबहादुरले रातभर यही शब्द दोहोर्याइरह्यो । उसलाई सीतारामको मुखबाट निस्केको बोलीमा विश्वास भइरहेको थिएन । संसारको कुनै एउटा कुनामा त्यस्तो पनि भएको रै’छ भन्ने थाहा पाउँदा ऊ दंग पर्यो । उसको छेउमा बसेर छोराहरूले पनि ध्यान दिएर कुरा सुने । स्वास्नीलाई पनि उसले छेउमा बस्न भन्यो । सब परविार रातभर िक्रान्तिका कुरा सुने ।
बिहान जाने बेलामा सीतारामसँग हीराबहादुरले दह्रो गरी हात मिलायो । सीताराम हात उचालेर ‘लाल सलाम’ भन्दै छुट्टएि, उनले पछाडि फर्केर नहेरे पनि हीराबहादुर र छोराहरूले पनि दाहिने हात मुठ्ठी कसेर ‘लाल सलाम’ भने ।
सीताराम आउने-जाने क्रम बाक्लियो । मध्यरातमा आउँथे, क्रान्तिका कुरा गर्थे । हीराबहादुर कहिले ढिँडो खुवाउँथ्यो, कहिले मकै त कहिले चामलको भात ! सीतारामले कहिले केही गुनासो गरेनन्, जे पाउँथे त्यही मीठो मानेर खान्थे । खाएपछि, ‘भाउजू खाना मीठो थियो’ भन्न कहिल्यै बिर्सेनन् । पानी पिउँदै भन्थे, “यो पानी जति मीठो त के होला र अरू !”
एक बिहानीमा सीतारामसँग हीराबहादुरका दुवै छोरा जान तम्सिए । उसले रोकेन, बरू छोराहरूलाई ‘जाओ जनताको शासन स्थापित गर्न क्रान्तिमा वीरहरूले झैँ लड’ भन्यो । उसले यी शब्दहरू सीतारामबाट नै सिकेको थियो । गाउँमा सारा मान्छेहरू विस्तारै संगठित हुन थाले, ‘जसको जोत उसकै पोत’ ठूलो नारा बन्यो । किसानहरूले आवाज उठाउन थाले अनि एकदिन सीतारामको अगुवाइमा मुखियाको जग्गा कब्जा भयो । हीराबहादुरले जमिन पायो । उसले मुखियाको बाँझो जमिनलाई पसिनाले सिँच्योे र उब्जनी गर्यो । अनि, चामलको भात खान थाल्यो । उसले चाहेको यत्ति थियो । उसलाई लाग्यो, सीताराम जे बोल्छन्, त्यो गर्छन् ।
सीतारामले नै सुनाए, उसका दुवै छोरा सहिद भए । सहिद भनेको के हो भन्ने पनि उनैले सम्झाए । सहिदको अर्थ बुझेपछि हीराबहादुर र उसकी स्वास्नी दुवैले छोराहरूलाई सलाम गरे, रोएनन् । हीराबहादुरको मनमा आइरह्यो, “म सहिदको बाउ हुँ, मेरा छोराहरूले देशका लागि ज्यान अर्पण गरे ।”
दन्त्यकथाझँै जनआन्दोलन सफल भयो । क्रान्तिकारीहरू सरकारमा गए । सीताराम पनि काठमाडौँ गए । व्यवस्थापिका-संसद्मा सभासद् भए । विस्तारै मोटाउन थाले, खबटे गालामा मासु भरनि समय लागेन । कोट-पाइन्ट लगाउन थाले, हेर्दाहेर्दै सीताराम फेरएि । हीराबहादुर जोतिरहेको थियो, उसलाई सीताराम फेरएिकामा आपत्ति थिएन ।
संविधानसभाको निर्वाचनमा आउँदा सीतारामले गोल्ड स्टार जुत्ता नै लगाएर आएका थिए । धाराको कलकल पानी नै खाएका थिए । हीराबहादुरको घरमा ढिँडो खाँदै पुराना दिनहरू सम्झिएका थिए । हीराबहादुरले सबलाई फेर िभनेको थियो, “सीताराम सच्चा मान्छे हुन् !”
“मिनरल वाटर ल्या’न !” उद्घोषकले माइकबाटै भनेपछि हीराबहादुर तस्र्यो । उसले हेर्यो मञ्चमा एउटा केटो अम्खोरामा पानी लिएर सीतारामको अगाडि उभिएको थियो । एकैछिनमा अर्को केटोले बोतलको पानी उनलाई थमाइदियो । उनले स्वाद मानीमानी पानी पिए । “पानीको कुनै स्वाद हुन्न बुझ्नुभो कमरेड, स्वाद त आपmनो ठाउँको हुन्छ,” हीराबहादुरले उनले भनेको सम्झ्यो । उसले फेर िथुक्यो, पिच्च !
सीताराम माइकअगाडि उभिँदा तालीको गडगडाहट सुनियो । निर्वाचन जितेपछि उनी दोस्रोपटक आएका थिए । उसले पनि ताली बजायो । उसले सुनेको थियो, राजधानीमा उसको महान् अध्यक्षले जग्गा फिर्ता गर्न सहमति गरेका थिए । हिजो सामन्त भनिएकाहरूको जग्गा फिर्ता गर्न अध्यक्षले समयसीमा पनि तोकेको कुरा उसले स्वास्नीलाई पनि सुनाएको थियो । अध्यक्षले नयाँ नेपालमा क्रान्तिकारीहरू पनि नयाँ हुने कुरा गरेका थिए । उसलाई लागेको थियो, सीतारामले भन्नेछन्, “हामी सामन्तीका जग्गा फिर्ता गर्दैनौँ ।” अनि, फेर िऊ जोडले ताली बजाउनेछ ।
सम्बोधन गरेपछि सीतारामले भने, “हाम्रा महान् अध्यक्षले जग्गा फिर्ता गर्ने महान् निर्णय लिनुभएको छ । उहाँको त्यो निर्णयमा पक्कै पनि केही कारण छ । त्यसैले तपाइर्ं सम्पूर्ण किसानहरूलाई म जग्गा फिर्ता गरेर इमानदारीपूर्वक काम गर्न अनुरोध गर्छु ।” उनले अनुरोधमा जोड दिए, मानौँ त्यो अनुरोध नभई चेतावनी थियो ।
केही मान्छेले ताली बजाए । ताली बजाउनेपट्ट िहीराबहादुरले मुन्टो फर्कायो, ती सबै जग्गा कब्जा गरएिकाहरू थिए । उसको मुखमा फेर िअमिलो पानी आयो तर उसले यसपालि थुकेन । सीतारामले अरू के के भने उसले केही सुनेन । मान्यको भाषण सकिएपछि मान्छेहरू यताउता लागे । किसानहरूको अनुहारमा खिन्नताको रंग थियो । सबै बडबडाउँदै थिए, “महान् अध्यक्षको महान् निर्णयमा के कारण होला ?” ऊ पनि बडबडायो, “के यसैका लागि मेरा छोराहरू सहिद भए ?”
बाटो लाग्नुअघि मञ्चतिर फक्र्यो । देख्यो, उसको गाउँको मुखिया र सीताराम कामरेड हात मिलाउँदै थिए । हात मिलाउने लाममा अरू मुखिया पनि थिए । मुखियाहरू बत्तीसा देखाएर उनीप्रति कृतज्ञ भइरहेका थिए । हीराबहादुर फुस्फुसायो, “सायद अब यिनको पालो फेर िआएछ ! हाम्रो पालो सकिएजस्तो छ । फेर िकहिले आउला हाम्रो पालो !” सीतारामले उसको हालखबर सोधेनन्, फेर िउसैको छेउबाट उनी उही गाडीमा चढे । उसको पाइला ठ्याम्मै चलेन । एकैछिनमा हेलिकप्टरको आवाज सुन्यो तर यसपालि उसले आकाशतिर टाउको उचालेन । उसको त शिर झुकेको थियो, नजर माटोमा थियो ।
घर र्फकनुअघि एकजोर जुत्ता किन्नैपर्ने भन्ने उसलाई लाग्यो । केही पसल चहार्यो । सीतारामको जुत्ता सम्झियो, बाटोमा भेटेको केटोको जुत्ता सम्झियो । उसले एकजोर छालाका जुत्ता किन्यो । गोडामा सुहाएझैँ लाग्यो । घर गएर लगाउने भनेर झोलामा पोको पारेर हिँड्यो । बाटोभर िसीतारामको जग्गा फिर्ता गर्ने कुरा भन्दा उसको मनमा जुत्ता नै थियो । उसले अरूका जुत्ता हेर्यो । कसैका कपडाका जुत्ता त कसैका उसैका जस्ता गोल्डस्टार ! सबै ऊ जस्तै त हुन् नि ! घरमा स्वास्नीलाई जुत्ता देखायो, “अब म पनि नयाँ नेपालको नयाँ क्रान्तिकारी बन्छु, बुझसि् !”
स्वास्नीले बजारको कुरा सोधी । जुत्तामा खास मन दिइन । उसले भन्यो, “अब जग्गा फिर्ता गर्ने अनि नयाँ नेपालको नयाँ क्रान्तिकारी हुने अर्थात् फेर िनोकर बन्ने । अब फेर िढिँडो र मकै खाने !”
“नयाँ क्रान्तिकारी त हामी पहिला पनि थियौँ नि ! बेकारमा हाम्रा दुई छोराहरू सहिद भए,” स्वास्नीले खुइ×य्य गरी ।
“जुत्ता कस्तो छ ?” उसले सोध्यो ।
“तिमी नयाँ नेपालको नयाँ क्रान्तिकारी बन्न सक्दैनौ भनेर भन्देऊ अध्यक्षलाई,” स्वास्नीले चर्को स्वरमा भनी, “हामी जग्गा फिर्ता गर्दैनौँ ।”
उसले स्वास्नीलाई हेररिह्यो । स्वास्नीको अनुहारमा यति चर्को विद्रोहको रंग उसले देखेको थिएन ।
बिहान सखारै बजार पुग्दा पसल खुलेकै थिएन ।
“म क्रान्तिकारी हुन सक्दिनँ, यसका लागि पैसा चाहिन्छ, मसँग छैन,” उसले साहुजीलाई जुत्ता फिर्ता गरििदन अनुनय गर्यो । एकजोर गोल्डस्टार जुत्ता लियो र त्यही लगाएर ऊ घरतिर लाग्यो । अलिअलि अक्षर चिनेको हुनाले घरको दलिनमा घुसारेर राखेको कागज र कलम निकाल्यो । जीवनमा पहिलो चिट्ठी लेख्दै थियो, सुरु गर्न अप्ठ्यारो भयो ।
“आदरणीय कामरेड
क्रान्तिकारी अभिवादन !
म हीराबहादुर खत्री । उमेर ४५ ।
कामरेड सुरुमै अवगत गराइहालुँ, मेरो स्वास्थ्य ठीक छ । स्वास्नी पनि ठीक छे । हातगोडा चलिरहेकाले खान दुःख छैन । छोराहरू सहिद भएकाले तिनको जागिरको पनि टन्टा छैन । त्यसैले ढुक्क भएर यो पत्र पढ्नुहोला, यसमा सिफारसिको कुरा गरएिको छैन ।
मैले त एउटा सानो जानकारी दिन खोजेको कामरेडलाई । म पुरानो मान्छे परेँ, जसको जोत उसको पोतमा विश्वास गर्ने । कामरेडहरू समय अनुसार बदलिनु भएछ, त्यो सीप ममा कहाँ र ! कामरेड धेरै लेख्न जान्दिनँ पनि, म नयाँ नेपालको नयाँ क्रान्तिकारी हुन सक्दिनँ । म जग्गा फिर्ता गर्न सक्दिनँ । जबसम्म म जोत्न सक्छु, म जोतिरहन्छु । म अगाडि बढेर फेर िपछाडि र्फकन सक्दिनँ, कामरेड काठमाडौँ नबसेकाले होला, ममा त्यो कला छैन । मेरो कुरा यत्ति हो !”
चिट्ठी लेखिसकेपछि उसले ‘आदरणीय र क्रान्तिकारी’ काट्यो । ऊ हुलाकतिर लागेपछि स्वास्नी भात पकाउन थाली ।
नेपाल साप्ताहिक ३३४
