Skip to content


सपना, कल्पना र विश्वास
जीवन जिउने कला, उद्देश्य र लक्ष्य ।
जब तिमी मलाई सपना देख्न सिकाउँछौ,
तब म क्याक्टसमा पनि सुगन्धित फूल ढकमक्क भएको देख्तछु ।
ती सपनामा सिउँदो रगाउँन चिम्टी भर सिन्दुरको होइन
केवल भावनामा ओतप्रोत मन देख्तछु ।
जब तिमी मलाई कल्पनामा रमाउन सिकाउँछौ,
तब म बन्जर भूमिमा पनि हरियाली छाएको भेट्तछु ।
ती कल्पनामा दूर क्षितिजीय रँगीन प्रकाश मन भित्र समेटेर कैद गर्दछु ।
जब तिमी मलाई विश्वास गर्न ढाढस बँधाउँछौ,
तब म पाषाण बदलिएर आस्थाको प्रति-मूर्तिमा फेरिएको अनुमान लगाउँदछु ।
फेरि त्यसैमा रमाउँदै मेरो माथा टेकाउन खोज्दछु ।
किनकि,
मेरो लागि जीवन तिम्रै परिभाषा भित्र घुमेको छ,
तिमीले देखाएको सपनामा अपरिमित आनन्द भरिएको छ,
ती कल्पना भित्र जीवनले पल्हाउन सिकेको छ ।
तत्कालको क्षणभँगुरतालाई छाडेर ‘विश्वास’ तिम्रै पर्खाईमा टिकेको छ ।
कारण,
सपना र कल्पनालाई तिमीसँग हुनुको भावले मात्रै पुगे पनि,
विश्वासलाई अडिग बनाउन तीम्रो साथ चाहिएको छ
तिम्रो साथ चाहिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *