Skip to content

प्रेस ईन्स्टिच्युटले जन्माईएकी म


आज एउटा नितान्त ब्यक्तिगत कुरो, तर समाजसँग यसको प्रत्यक्ष/परोक्ष सरोकार हुनसक्छ|
मैले आजसम्म नारीवादी साहित्य पढेको छैन, कुनै जेन्डरको कोर्स गरेको छैन| म जे लेख्छु, ती सबै मेरो भोगाई, मैले देखेका कुराहरुमा आधारित हुन्छन| म पोखरीको डिलमा बसेर पोखरीको गहिराईको अन्दाज लगाउने मान्यता बोक्दिन| मेरो मान्यता पोखरीमा नडुबेको मानिसले गहीराईको जानकारी राख्न गाह्रै हुन्छ|
तर पनि बेला बखत आफन्तैहरुबाट समेत Feminist वा ‘नारीवादी’ को रुपमा आक्रोश, ब्यँग्य सबै कुरा सुन्छु, भोग्छु|
हरेक मानिसको जन्म पटक पटक भएको हुन्छ| शारीरिक रुपमा, बौध्दिक रुपमा, आर्थिक उन्नतिमा आदि आदि| यसको उदाहरण गौतम बुध्दको जीवनलाई लिन सकिन्छ| बुध्द पहिले शारीरिक रुपमा जन्मिए, सिध्दार्थ गौतमको नाउँमा| तर उनको अर्को जन्म भयो, गौतम बुध्दको रुपमा| उनलाई गौतम बुध्दको रुपमा जन्म दिने काम गयाको पिपलको बोट मुनि गरेको तपस्याले गरायो| सायद, उनी कपिलवस्तुमै बसिराखेका भए, गौतम बुध्दको रुपमा जन्मिन्थे वा जन्मिदैनथे, यो ईतिहास कै गर्भमा छाडौँ|
प्रेस ईन्स्टिच्युटले पनि मेरो जीवनमा त्यस्तै भूमिका खेलेको छ|
हुनत, अल्लारे उमेरमै मन भित्रको कुनै कुनामा ‘लेख्न सके वा पाए हुन्थ्यो’ भन्ने धोको लुकेको थियो| त्यसको फलस्वरुप कापिका पन्नाहरु कोर्दै साथी पत्रकार मन्जु मिश्र र मेरो बिच आफूले लेखेका कुराहरु साटा-साट गरेर पढ्ने गर्दथ्यौँ|
त्यस पछि पहिलो पटक राष्ट्रवादी स्वतन्त्र बिद्दयार्थि मन्डलले निकाल्ने पत्रिकामा बिक्रम सम्वत २०३५ साल तिर कसैले लगेर एउटा कथा छपाइ दिएको थियो| त्यो क्रममा त्यहीँ पटाक्षेप लाग्यो|
जीवनले गृहस्थी सम्हालेर बसिसकेको अबस्था थियो| पढ्ने लेख्ने कुराहरुको महत्व त्यो अवधिमा कतै थिएन| कारण, आफूले जीवन निर्वाह गरिरहेको वातावरण सो अनुकूलको वा त्यस्ता कुराहरुलाई महत्व दिने खालको छँदै थिएन|
विक्रम सम्वत २०४८ को कुरा हो, एक दिन कान्छी बहिनी बबिता लम्सालले भनिन ‘नेपाल प्रेस ईन्स्टिच्युटमा पत्रकारिताको कक्षा खुलेको छ, त्यहाँ पढ्न जाऔँ|’ उनले मलाई प्रस्ताव राख्नुको पनि कारण थियो| प्रेस ईन्स्टिच्युटले बेलुकी मात्र कक्षा सन्चालन गर्दथ्यो, उनलाई बेलुकीको कक्षामा घरबाट एक्लै पढ्न पठाउने सम्भावना नै थिएन| त्यसैले दुई दिदी-बहिनी भयो भने पढ्न जान पाइन्छ भन्ने उनीमा ईच्छा लुकेको थियो| मैले सोधेँ, ‘हुन त हुन्छ, तर राती कसरी फर्कने?’ उनी बस्ने चाबहिल, म बस्ने बानेस्वर| उनले भनिन, ‘म स्कुटर किन्छु, म तपाईँलाई घर पुर्याएर जाने गरौँला!’ ‘लौ उसो भए हुन्छ त|’ त्यस्तो शर्तमा प्रेस ईन्सटिच्युटमा दिदी-बहिनी भर्ना हुन गइयो|
हाम्रो सौभाग्य नै भन्नु पर्दछ, त्यसै बर्ष प्रेस ईन्स्टिच्युटले बिद्द्यार्थिको चापको कारण दुई शिफ्ट गर्यो| हामी दुबैले बिहानको कक्षामा भर्ना लियौँ; राती घर कसरी जाने भन्ने समस्याबाट मुक्ति पाइयो| तर विहानको कक्षा पनि मेरो लागि त्यति सुबिधाजनक त थिएन| कारण, म नेपाल राष्ट्र बैँक थापाथलीको पूर्णकालीन कर्मचारी थिएँ| त्यसको मतलव, मैले घरबाट बिहान प्रेस ईन्सटिच्युटको कक्षा भ्याउन हिँडेपछि, एकैपटक जागीरे जीवनको दश- पाँच बजाएर मात्रै घर फर्कन पाउँथेँ| तर म भित्रको ‘सुषुप्त ईच्छाले’ पत्रिकामा नाम आउने भोक जगाइ सकेको थियो र म कसै गरि त्यसलाई तृप्त पार्न चाहन्थेँ|मैले कम्मर कसेँ, म जसरी पनि त्यो नौ महिने कोर्स गरेरै छाड्छु|
कक्षा फागुन महिना देखि सुरु भएको थियो; मैले एक दिन प्रेस ईन्सटिच्युट मार्फत नै पुनर्जागरण साप्ताहिकका तत्कालीन सम्पादक शरतचन्द्र वस्तीलाई भेटेँ| मैले उहाँलाई सामान्य अनुरोध गरेँ, उक्त साप्ताहिकमा लेख लेख्न दिनको लागि| उहाँले तुरुन्तै समर्थन गर्नुभयो; स्थान दिनुभयो स्तम्भ लेख्नको लागि| प्रेस ईन्स्टिच्युट गएको एक महिना मै अर्थात २०४८ चैत्र महिना देखि जस्तो लाग्दछ, मैले पुनर्जागरणमा हरेक हप्ता लेख्न सुरु गरेँ| अग्रज पत्रकार शरतचन्द्र वस्तीले मलाई लेख्ने स्थान मात्रै दिनु भएन, निडर र निर्भिक भएर कलम चलाउन सिकाउनु भयो|
यसरि एकातिर म कक्षा लिँदै थिएँ, अर्को तर्फ नीयमित लेखन सुरु गरिहालेँ| त्यसपछि २०४९ को असार अँकमा जस्तो लाग्दछ, मधुपर्क मासिकमा मेरो ‘बाल बालिकाको स्थिति’ बारे कभर स्टोरी छापियो| तत्पश्चात मधुपर्कले मलाई नियमित स्तम्भ लेख्ने मौका दियो| त्यति बेला मधुपर्कमा लेख्न पाउनु भनेको ठूलो गौरवको कुरो थियो; मधुपर्कलाई मानिसहरु सन्मानको दृष्टिले हेर्दथे|
त्यसै बेला आफूले काम गरिरहेको नेपाल राष्ट्र बैँकमा पनि मैले हाकीमहरुलाई मेरो सरुवा राष्ट्र बैँकको ‘बैँकर्श क्लब’ मा गराइदिन अनुनय -विनय गर्न थालेँ| त्यसो गर्न चाहनुको कारण, त्यहाँबाट निस्कने साहित्यिक पत्रिका ‘मिर्मिरे’ मा काम गर्ने लोभ थियो| त्यो गरिपाउन पनि प्रेस ईन्स्टिच्युटमा तालीम लिएको कारणले सजिलो भयो|
त्यति बेला औँलामा गनिने महिलाहरु मात्रै पत्र-पत्रिकामा लेख्ने गर्दथे| यस कारणले गर्दा मानिसहरु पत्रिकामा आएका महिला नामहरुलाइ बिशेष ध्यान दिन्थे| त्यसमाथि पनि भर्खर प्रजातन्त्रको पूनर्स्थापना भएको र महिला बिकासको नाराले खुट्टा टेक्न लागेको अबस्था थियो| सम्बन्धित पक्षहरु र पत्रिकाकै सम्पादकहरुको दृष्टिकोणमा पनि ‘महिलाका बिषय महिलाले मात्रै लेख्नुपर्छ’ बन्ने खालको धारणा थियो| त्यसैले गर्दा पनि पत्रिकामा आएका महिलाका नामहरुलाई महिला बिषयक कार्यक्रमहरुमा निमन्त्रणा आउने गर्दथ्यो| त्यो पनि युएन वा ठुला सँस्थाका कार्यक्रमहरु छन भने त सम्पादकज्युहरु वा उहाँहरुले तोकेको मान्छेले मात्रै जाने मौका पाउँदथ्यो| यत्तिकैमा मलाई कुनै लेखको लागि चेली बेच बिखन या यस्तै कुनै बिषयमा श्रोत ब्यक्तिको भनाई चाहिएको थियो| कसैले आदरणीय महिला अधिकारवादी दूर्गा घिमिरेको फोन नम्बर दियो| फोन गरेँ, उहाँले त्यो दिन समाज कल्याण भवनमा कार्यक्रम छ, त्यहीँ आउनु भन्नुभयो| त्यसदिन बाट मेरो जीवनको अर्को अध्याय सुरु भयो, जसले मलाई नाउँ दियो,’महिला अधिकारवादी’| म महिला ‘अधिकारवादी’ कति बनेँ, कति बनिन त्यो त थाहा भएन तर तत्पश्चातका दिनहरुमा महिला बिषयक समाचार सम्प्रेषण गर्ने अभियानमा म खुबै जुटेँ|मलाई त्यस कुरामा सहायक प्रेस ईन्स्टिच्युटकै कारणले धेरै मिल्यो| प्रेस ईन्स्टिच्युटको कारणले मेरो परिचय पत्रकारहरुको एउटा समूह सँग भैसकेको थियो, त्यही परिचयको सदुपयोग गर्दै म महिलाहरुको समूहले गरेको कार्यहरु, उनीहरुका योजनाहरुको समाचार लिएर प्रचार प्रसार गराउन पत्र-पत्रिकाको कार्यालय देखि लिएर राससको भवन सम्म धाउन थालेँ| त्यसको लागि यातायत लगायतका कुराहरुमा पैसा त खर्च भयो नै तर महिलाका बिषयमा समाचार छापिँदा सन्तुष्टी पनि मिल्यो| यति गर्दा गर्दै मेरो नाम ‘महिला अधिकारवादी’ मा दरिइसकेछ, किनकि, मैले लिएर जाने समाचार, मैले स्तम्भ लेख्न भ्याएका थूप्रै पत्र-पत्रिकाहरु पुनर्जागरण, जनमन्च, हिमालय टाइम्स, मधुपर्क, युगसम्वाद, दृष्टि आदि आदिका मूख्य बिषय वस्तु प्रायः ‘महिला बिषयक’ हुन्थे| यसरि जानी नजानी प्रेस ईन्स्टिच्युटले मलाई अर्को जन्म दिइसकेछ, जस प्रति मलाई गर्वको अनुभूति हुन्छ|
मेरो जीवनमा प्रेस ईन्स्टिच्युटले जुराइदिएको ठूलो सम्पत्ति पत्रकार शोभा गौतमसँगको मित्रता पनि हो| सायद, २०४९ साल तिर नै हो, एक दिन हाम्रा गुरु पत्रकार ध्रुवहरि अधिकारीले शोभा गौतम र मेरो परिचय गराइदिनु भयो| तत्पश्चात हामी दुईले धेरै समय सम्म दूर्गम जिल्लाहरुमा गएर रिपोर्टिङ्ग गर्यौँ| त्यति बेला कतै कतै हामीसँग अरु पत्रकारहरु पनि जानु भएको थियो भने कतै हामी दुइटी मात्रै गएका हुन्थ्यौँ| तर ठूलो हिम्मतका साथ योजना बनाउने कार्य हामी दुईले मिलेर गरेका थियौँ| त्यो क्रममा गरिएको उल्लेखनीय रिपोर्टङ्ग थियो, माओवादी आन्दोलनले उग्र रुपलिइरहेको समयमा तत्कालीन माओवादीहरुको ‘राजधानी’ वा ‘किल्ला’ मानिने रोल्पा, रुकुम, जाजरकोट, गोर्खा आदि जिल्लाहरुका विकट गाउँहरुमा पैदल गएर गरिएको रिपोर्टिङ्ग| जुनबेला गाउँहरुमा पुग्दा हामीलाई कतै प्रहरीको जत्थाले बन्दूकले घेरेर स्वागत गरेको थियो भने कतै माओवादीहरुले तीन दिन सम्म वास बसेको स्थानबाट फिटिक्क चल्न नदिएर तर्साएर राखेका थिए| त्यस बेला उनीहरुसँग ‘राणाकालीन अबस्था खडा’ गरिदिएको भनेर भनाभन पनि नपरेको होइन| यो सबै गर्न सक्नुको कारण प्रेस ईन्स्टिच्युटले दिएको शिक्षा नै थियो|
त्यो बाहेक कहिले नबिर्सने घटना महोत्तरी जिल्लाको पर्सादेवाद र गैँडाभेटपुरका महिलाहरुलाई भोट खसाल्न लगाउन ठूलै कसरत गर्नु परेको थियो| यो कुरा यहाँ उल्लेख गर्नुको कारण के हो भने एकातिर हामीले महिला आन्दोलनलाई अगाडि बढाउने कोशिशमा साथ दिइरहेका थियौँ भने अर्कोतिर सन्चार माध्यमबाट उनीहरुका मुद्दाहरुलाई बाहिर ल्याइरहेका थियौँ| त्यसो गर्न सक्नुको कारण प्रेस ईन्स्टिच्युटबाट प्राप्त गरेको औपचारिक शिक्षाले धेरै मद्दत गरेको थियो| त्यसमा पनि बिशेष गरि प्रेस ईन्स्टिच्युट आफैँ पनि सन १९९१ को अफ्रिकाको नामिवीयामा युनेस्कोले प्रतिपादन गरेको ‘विन्डहक डिक्लरेसन’ मार्फत बहुलवादी तथा वकालती पत्रकारिता हामी जस्ता सिकारुलाई सिकाउँदै थियो| यसले के ज्ञान दियो भने मूलधार पत्रकारिता मात्रै पत्रकारिता होइन, पिछडिएका समूहलाई अगाडि ल्याउन ‘वकालति पत्रकारिता’ को पनि उत्तिकै ठूलो भूमिका हुन्छ|यसरी प्रत्यक्ष परोक्ष रुपमा प्रेस ईन्सटिच्युटले मलाई दृढ निश्चयका साथ कुनै मुद्दालाईसन्चार माध्यम मार्फत अगाडि ल्याउन आँट, बिश्वास र भरोसा दियो|
त्यस क्रममा शोभा गौतम र म मिलेर त्यति बेलाको महिला आन्दोलनको प्रमूख मुद्दाको रुपमा रहेको सम्पत्तिमा महिलाहरुको अधिकारलाई पनि खुबै चर्कायौँ|
त्यसपछि मेरो जीवनमा पारिवारीक कारणले एउटा यस्तो मोडमा पुर्यायो कि, मैले सक्रीय जीवन पूरै छाडेको मात्रै होइन, देशै छाडेर परदेश लागेँ| म गुमनाम भएरै बस्न चाहेँ| त्यो अबधिमा मलाई फेरि लेखाई सुरु गर्न अँग्रेजी साहित्यका स्थापित लेखक सम्राट उपाध्याय ( उहाँ मेरो कान्छी बहिनीको श्रीमान हुनुहुन्छ) लगायत मेरा पत्रकार साथीहरुले धेरै पटक घच्घच्याउनु भयो| तर म यति धेरै नीराशावाद भित्र फसिसकेकी थिएँ कि, मलाई यस्ता लेखन तथा रिपोर्टिङ्गहरुको कुनै औचित्य नै लाग्न छाड्यो|
मलाई कसैको प्रोत्साहन, सल्लाह, सुझाव केहीले पनि लेखन तिर फर्काउन सकिरहेको थिएन|
अकस्मात मेरो जीवनमा अर्को बज्रपात भयो| त्यो दिन बिक्रम सम्वत २०६६ साल आश्वीन १२ गतेको राती नौ बजेको थियो| सुत्ने तरखर गर्दै थिएँ, नेपालबाट मेरो जीवनको सबैभन्दा करिवी ब्यक्ति, मेरो बुवा बित्नुभएको खवर आयो| म मेरो घर, मेरो कोठामा नीतान्त एक्ली थिएँ| न त्यहाँ मेरो आँशु पुछ्ने कोही थियो, न मलाई परेको त्यत्रो चोटमा काँध थापेर सहानुभूति प्रदान गर्ने कोही थियो| म रात भर एक्लै आँशु झार्दै, टोल्हाउँदै सिलिङ्ग हेरेर बिछौनामा पल्टिरहेँ| त्यसको भोली पल्ट मैले नीर्णय गरेँ, म मेरो बुवालाई श्रध्दान्जली अर्पण गर्दै उहाँको सम्झनामा एउटा लेख लेख्छु| म साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकी सँग सामाजिक सन्जाल मार्फत सम्पर्कमा थिएँ, उहाँ पनि मलाई लेख्न प्रेरित गरिरहनु हुन्थ्यो| तर त्यति बेला सम्म उहाँको कुरो पनि सुनेकी थिइन| त्यसपछि उहाँलाई सम्पर्क गरेर लेखेँ, म मेरो बुवाको सन्मानमा एउटा लेख लेख्छु| उहाँले तुरुनतै सहमति जनाउनु भयो| मेरो बुवाको तेह्र दिन परेको दिन लेख छापियो र मेरो लेखन यात्रा फेरि सुरु भयो|
फेरि एक पटक नेपाल प्रेस ईन्सटिच्युट कै कारणले म नैराश्यमा फसिसकेको जीवनबाट उभ्रिएँ र मैले पूनर्जीवन प्राप्त गरेँ| मलाई लेखनले साँच्चै सन्तुष्टी दिन्छ| यसै मार्फत मैले कतिपय ब्यक्ति माथि भएको अन्याय र अत्याचारको कुराहरु अगाडि ल्याएकी छु| कतिले न्याय पनि पाएका छन| अहिले पनि सन्सारको एउटा कुनामा बसेर कलम चलाइरहँदा अर्को कुनाबाट सन्देश प्राप्त हुन्छन| यसले मलाई अन्य महादेशहरु सँग समेत जोडिदिएको छ| महिला माथि हुने असमानताका कुराहरु बाहिर ल्याउन केही न केही हदसम्म सफल भइएको छ| यो भन्दा ठूलो खुशि के हुन सक्ला र?
यसरि कान्छि बहिनीको साथी बन्न जान लागेको पत्रकारिताको तालीमले मलाई ‘महिला अधिकारवादी’ को नाम दिएर छाड्यो| यसको लागि यो जीवन रहेसम्म नेपाल प्रेस ईन्स्टिच्युट प्रति आभार प्रकट नगरि रहन सक्दिन|

Leave a Reply

Your email address will not be published. Required fields are marked *