शहिद, आज फेरि घुमीफिरी तिम्रो दिन आएको छ,
तिम्रो लाश, रगत र आँशु माथि आफ्नो धूर्त्याँईको
महल ठड्याउनेहरूले गोहीको आँशु चुहाउँदै
तिम्रो पत्थरको मूर्ति अनि कागजका फोटाहरूमा
फूलमाला चढाउँदै, ओठेभक्ति देखाउने दिन आएको छ ।
सायद यो क्षण, तिमीले बोल्न सक्ने भएको भए
भन्थ्यौ होला, ‘नदेखाऊ मलाई तिम्रो नाटक
नफेर छेपाराले झैँ तिम्रा रँग
यदि धाप र सिमसारको भेद बुझेर
क्षेत्रको रक्षा गर्न सक्दैनौ भने
नरच वातावरण सन्तुलनको भाषण
मुखमा मुकुन्डो पहिरिएर
नगाउ मेरो गाथा ।’
तिमीले चित्कार भर्दै सम्झाउने थियौ होला,
‘हेर पाशो लगाएको मेरो गलाको डाम ताजै छ,
गोली ठोकिएको मेरो छातीको घाउ आलै छ ।
तर तिमीहरू, सुन्दर सिमसारलाई जोगाउन नसक्दा
बहुमूल्य प्रजातीका चराहरूलाई गुमाउनु परेको पीडालाई
रतन्धो लागेको व्यक्तिको जस्तो भूमिका निभाइरहेछौ ।
धापमा गाडिएको हात्तीलाई
झिङ्गाले पनि लात मार्छ भन्ने कहावत बिर्सिएर
लात ठोक्नेहरूको भीड भित्र्याइरहेकाछौ ।
ती हात्ती रुपी जनताको आशालाई
टाउको समेत ठड्याउन नदिने
खेलमा तँछाड मछाड गर्दै
लिगलिगे कोटको राजा बन्ने होडमा लागिरहेछौ ।
यस्तोमा हाम्रो मूर्तिमा चढाएको माला,
देखाएको ओठेभक्ति र गाएको महिमाको के अर्थ?’
तर शहिद, हार नमान
युवा पिँढी जाग्नेछ,
तिम्रो पत्थरको मूर्ति र कागजका फोटा होइन,
तिम्रो भावना, रगत र आँशुको कदर हुनेछ,
निराशाको वादल हट्नेछ,
तिमी प्रति सच्चा श्रध्दान्जली चढाइनेछ ।
ती पिँढीले गद्दीमा आसीन भैदिने ‘राजा’ या
कुर्सीमा तँछाड मछाड गर्ने ‘महाराजा’ को भूमिका होइन,
‘राजनेता’ को चिन्तन बाँड्नेछन ।
स्वतन्त्रता, न्याय, कानून र जन-अधिकारको
महत्व बुझ्नेछन/बुझाउनेछन ।
तव वर्षैभरि तिम्रो ‘दिवस’ मनाइने छ,
तिम्रो आदर हुनेछ,
त्यसैले त्यो दिन छिट्टै आओस् भन्ने चाहना,
तिमी पनि गर, म पनि गर्नेछु ।
किनकि, म तिम्रो भावनालाई
एक दिनको मात्र शोभा बनाउन चाहन्न,
तर त्यही एकदिन मात्रै दिइएको ‘महत्व’
हराउन पनि चाहन्न ।
