Skip to content

हामी तिमी जस्तो छैनौं

  • by


वरिपरिका बस्तीहरूमा
भाले नबास्दै
सेता हिमालको पोल्टामा
त्यो महामानव
जीवन क्रान्तिका लागि
दीप जलाई रहँदा
विश्व शान्तिका लागि
शङ्खनाद् गर्दा
अरू जागे सबै
गगन चुमे तिनैले
परन्तु
मानव सभ्यताको पँधेरो
आज
बत्ती मुनिको अँध्यारो
हाम्रो देश वर्षौपछि परेको छ ।
ए काला मान्छेहरू हो
देशलाई तिमीले पेवा ठान्यौ
हिजो हामीले सत्य बोल्दा
उल्टै हामीलाई पागल भन्यौ
हो कालो युग चिर्न
हामीले बन्दुक बोक्यौं ।
ए राष्ट्रियताका कुरा गर्नेहरू हो
हाँसीहाँसी मृत्युवरण गर्ने
वीर सहिदहरूलाई
आफ्ना चिहान खनेरै
लडाइँमा, हिँड्ने
महान योद्धाहरूलाई
अझै अपमान गर्दैछौ तिमी
खबरदार
जनता जागेका बेला
समयले गति पाएको छ
नेपाली आकाशमा
नयाँ युग उदाएको छ
यदि तिमीहरूमा कतै राष्ट्रियता छ भने
आऊ राष्ट्रियताको परीक्षा आएको छ
हामी तिमीजस्तो छैनौँ
किनकि
हामी देश उठाउन जुटेकाहरू हौँ
हामी यो देश सबैको हो भन्नेहरू हौँ ।

-ब्याँसी-६, बझाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *