Skip to content

रिसको ज्वाला (लघु कथा)


साम्यको साटो विवाद चर्किदै गयो । चारै भाइमा निकै चर्काचर्की चल्यो । आमाले शान्त पार्न खोजिन् तर त्यो रिसको ज्वाला न आमाको दुधले निभाउन सक्यो न आँशुले । भाइहरू लड्दै गए, आमा रुदै…

‘यो घराँ नि मेरो उत्तिकै अधिकार छ, जति तिम्हरको, मैले किन छोड्ने ?’ कान्छाको अडान थियो ।

‘यो घर बनाउन सबभन्दा बढी पसिना मेरो बगेको छ, कसलाई अंश दिने कसलाई नदिने त्यो निर्णय मैले गर्छु ’ जेठाको स्पष्टोक्ती थियो ।

‘अंश तैँले दिएर हाम्ले पाउने हैन, त्यो हाम्रो अधिकार हो ।’ माइलोको कुरामा साहिलाले सहमति जनायो, ‘हाम्ले दान माग्ने हैन, अधिकार माग्ने हो ।’

जेठालाई निकै झोक चल्यो, ‘बनाउने बेला मेरो रगत पसिना बग्यो, अ‍ैले सबैलाई हक चाहियो? पख, सबैले खान्छौं’ रिसले चुर भयो । सलाइको एक काँटी सिल्कायो, छानोतिर फाल्यो । ‘अँझ चाहियो ?’ जेठाको रिस शान्त भयो ।
खरको छानो, छिनभरमै आगो दन्कियो ।

हारगुहार मागे । छरछिमेकी आए । घरलाई बचाउने निकै प्रयत्न गरे, तर त्यो प्रयास असफल भयो । घर जलेर खरानी भइसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *