गाडी धेर गुडे थियो पथ अझै सानो भए झैं अहो !
खुम्च्याएर अझै पुगेन पृथिबी झन्झन् निचोर्दै गयो ।।
बाटो यो दिनको गुडेर छिनमा पुग्दै थियो मानिस ।
बाधा भो अझ त्यो गुडेर कसरी पुग्ने छ मान्छे अब ।।
बाटो काट्न कतै नसक्नु यसरी ताँती छुटेको त्यहाँ ।
छिन्को त्यो पथमा भयो कि त कतै दिन्मै नपुग्ने यहाँ ।।
बाटो यो कसरी बनो अघि त्यहाँ गाडी थिए हुन् कहाँ ?
यत्रो यो भबसागरै सरि अहो ढाकेर गुड्छन् त्यहाँ ।।
गाडी धेर भए कि मान्छे यसमा चढ्ने अझै धेर हुन् ?
बाटो खुम्चिइदैछ हो कि यसमा गाडी बढेका हुनन् ।।
पुग्ने हो जुन ठाउँमा समयमै के कममा दौडियो ?
पुग्नै पर्ने थियो, छ काम कतिकोः बेला बिताइ दियो ।।
हिड्छन् मानिस ती भनेर बसले छेक्छन् यहाँ केवल ।
गाडीको भिड हो कि यो सडकमा मान्छेहरुको छल ।।
गाडी मोटर त्यो गुडेन उभियो झन् जाममा त्यो परो ।
जामै जाम त्यहाँ भए समयको के ख्याल गर्थे अहो ।।
बोकी ढाकर ती मिलेर बटुवा टेकेर तोक्मा त्यहाँ ।
बस्तैछन् त्यसरी छ आज पथमा ढाक्रे अडे झैं यहाँ ।।
गारो भो कसरी कटौं भिड अझै यो जाम यस्तो किन ?
हट्ने छैन त्यसै रहन्छ अझ यो बढ्दैछ है दिन्दिन ।।
२०७२।०४।२७
काठमाण्डू
छन्द :- शार्दुलबिक्रीडित
