Skip to content


हिजो जस्तै लाग्छ म उसको आड भरोसा र विश्वासमा उसको पछिपछि उसका पाइलाहरूका डोबहरूमा आफ्ना डोब मिलाउदै यो घर भित्र हुलिएकि थिए । यौवनताका सबै खुसीहरू उसको अंगालोमा नतमस्तक भएर सुम्पिएकि थिए । जुनबेला उसको भर्भराउदो जवानीको रापले तातिएर उम्लिएको थियो । आज त्यही मान्छे मलाई देखाएका सपनाहरू; मलाई बाडेका आश्वासनहरू अनि मलाई दिएका भरोसाहरूलाई बिर्सिएर चिसाम्मै भएर पल्टिएको छ । उसले नाबिर्सोस मेरा भरोसालाई आगामी भेटसम्म र साचेर मैलाई बुझावस भनेर आँशुसँगै पठाएका मेरा विश्वासका कोसेलीहरू पनि नफर्काइ निर्जीव भएर काठको बाकसमा लम्पसार परेर आएको छ । म रुन्न हे ! प्राण मेरो यौवनतालाई लुटेर किन जुठो बनायौ भनेर । म रुन्न मेरो विश्वासको पोखरी किन धमिल्यायौ भनेर । बरु मलाई भन्न मन लागेको छ -” मेरो प्राण ! तिमी कायर हौ मेरो जवानीसँग डरायौ । ” बरु मलाई भन्न मन लागेको छ – “तिमी विश्वासघाती हौ मेरो विश्वासलाई लत्यायौ भनेर । ” तर म भन्दिन किनकि ऊ सुन्दैन । ऊ निदाएको छ चिर निद्रामा स्वतन्त्र रुपले सुरक्षित कवचभित्र लम्पसार परेर ।

“जीवन र जिन्दगी देखि थाकेर नाभाग्नु है” हाम्रो मिलनको पछिल्लो रात यसै भन्दै मेरो कोखमा लुटपुटिदै भक्कनिएको थियो ।

“छि लाछी! लोग्नेमान्छे भएर पनि आइमाई मान्छे जस्तै कोमल मन बनाएर रुन हुन्छ त!” सायद यसै भन्दै मैले उसलाई मेरा अन्तरमनबाट पूर्वाग्रह बिना हास्दै खेल्दै निस्किएका भावनाहरूले उसको टाउको मुसारेको थिए । मलाई नभाग्नु भन्ने आज आफै जीवन र जिन्दगीसँग डराएर सदाका लागि भागेर काठको बाकसभित्र लुकेर आएको छ । उसले सुन्ने भए मैले भन्ने थिए -“देख्यौ लाछीहरू मात्र भाग्छन जीवन र जिन्दगीका संघर्षहरूबाट ।” तर ऊ सुन्दैन ।

विवाहमा पनि लाउन पाइन् मैले मेरो मनले चाहेको बनारसे साडी । उसले बुझेको थियो मेरो इच्छालाई त्यसैले पटक पटक हुने फोन वार्तालापमा दोहाराइ तेहराई भन्थ्यो – “म आउदा बनारसे साडी ल्याइदिउला |” म प्रतिको उसको माया देखेर उसले नदेखे पनि खुसीका आँशु भक्कानिएर तुरुक्क चुहाई दिन्थे ।आज भन्न मन लागेको छ -“बनारसे साडी ल्याइदिने तिम्रो सपनाले जीवन भरि अब म सेतो साडीमा बेरिने भए । ”

तर भन्दिन किनकि उसले सुन्दैन । उसले सुन्ने र देख्न सक्ने भए यसरी लाछी भएर निर्जीव काठको बाकस भित्र लुकेर कदापि आउने थिएन । ऊ त लाछी मात्र होइन भगौडा पनि हो भाग्यो मेरो जीवन र जिन्दगीबाट ।

मैले विवाहको लागि मण्डप रोजिन । आमा बाउको आशीर्वाद थापिन । मैले उसको जात धर्म पनि रोजिन । रोजे केवल उसको अन्तर आत्मालाई । शहरमा भौतारिदै भबिष्य खोजिरहेको युवक प्रतिको मेरो आशक्तिले ऊ गलेको थियो निमेष भारको मेरो मायामा । मैले उसको औला काटेर उसको रगतको सिन्दुर लगाएकी थिए । जीवन जिउने कलामा ऊ अधकल्चो अल्लारे थियो म पनि दुरुस्त ऊ जस्तै थिए । ऊ यौवनको पाइन थप्दै थियो म भर्खर बल्दै गरेको आगो जस्तै जल्दै थिए । भविष्यका अप्ठ्यारा यात्राका काहाली लाग्दा चढाई उसले देखेन त्यसैले त उसले मलाई भगाएको थियो र म भागेकी थिए । सुन्दर संसारको स्वच्छन्द बस्तीमा लैला मजनु भएरसँगै मरौलासँगै बाचौला भन्ने कसम विवाहको मण्डपमा नभए पनि उसले बिच्छाएको बिछौनामा बसेर हामी दुवैले खाएका थियौ । आज भन्न मन लागको छ -” तिम्रो कसम फगत देखाउनका लागि मात्र रहेछन । तिमी भगौडा हौ । ” तर म भन्दिन किनकि यसरी व्यक्त गर्ने मेरा आक्रोसयुक्त शब्दहरूअब उसले सुन्दैन ।

अन्तिम रात हामी धेरै रोएका थियौ । बिपना सपना देखे जस्तो रहेनछ । उसले मेरा खातिर ढुङ्गा बोक्यो । मैले उसका लागि गिट्टी कुटे । जसरी उसले बोकेका ढुङ्गाहरू मैले कुटेर चकनाचुर पारिदिन्थे त्यसै गरी मैले बोकेका सपनाहरू आज उसले चकनाचुर पारी दिएको छ । उठ्ने भए एक पटकको लागि उसलाई उठाउन मन छ र अंगालोमा हालेर उसले मेरा लागि खुइलाएको ढाड धित मरुन्जेल मुसार्ने मन छ तर ऊ उठ्दैन । बोल्ने भए एक पटक बोल्ने मन छ उसले गरेका बाचाहरू कतै सम्झिन्थ्यो कि भनेर तर ऊ बोल्दैन । उसले बुझेन उसका आकांक्षाहरू कसरी मेरो जिउमा सल्बलाइरहेका छन् भनेर । ऊ त फिस्स हस्यो जुनबेला मैले फोनबाट मेरो खुसी उसलाई जानकारी गराएकी थिए । मैले ठाने उसले बुझ्पचाएको छ तर होइन रहेछ । उसले त उसको फिस्स हसाइसँग मेरा रहरको खुसीलाई पनि त्यही हासोसँग उडाई दिएको रहेछ । होइन भने ऊ आज जिउदो आएर सोध्नु पर्थ्यो -खै मेरा आकांक्षा ? भनेर । उसका मुलायम हातहरूले सुम्सुमाउनु पर्थ्यो उसका आकांक्षाहरूलाई तर उसले चाहेन । ऊ लाछी हो भगौडा हो त्यसैले त जीवन र जिन्दगीबाट भागेर लम्पसार परिरहेको छ मेरो अगाडि चिसाम्मै भएर ।

यही घर अनि यही आँगन हो जहा मैले पहिलो पाइला हाल्दा मेरो स्वागतमा शुन्य हावा मात्रअँध्यारो कोठाभित्र खुसीले मडारिएको थियो । न अन्माउने कोही थिए न अँगालो हाल्ने कोही थिए । टुकीको धिपधिपे बत्तीको उज्यालोमा मेरा हात समाएर उसले मलाई भित्र हुलेको थियो । ओच्छ्यानमा पल्टाएर बडो नम्र भावमा भनेको थियो –

“अबदेखि तिमी नै यो घरकी ज्योति हौ जति सक्छौ बल निर्धक्क भएर अनि उज्यालो बनाउ यो घरलाई ।”

काठको सानो सन्दुसबाट उसकी आमाले साचेको रातो पोते सहितको तिलहरी मेरो गलामा झुन्ड़ाई दिएको थियो अनि खुसीमा मलाई बेस्सरी अंगालोमा हालेर निचोरेको थियो । मेरा भावुकतामा निस्किएका नूनिला आँशुहरू अपनत्वले पिएको थियो । मैले थाहै पाइन त्यो रातको निचोराइमा उसले आफ्नो रगत मेरो शरीरको रगतसँगै मिसाइदियो भनेर । रित्तो घर,रित्तो आँगन अनि रित्ता करेसा बारीमा छुन्मुनाउदै खेल्ने आफ्नो बंश उसले मेरो मनको आँगनमा रोपिदिएछ । दिनभरिको कामको थकाइले जब ऊ ओच्छ्यानमा पल्टिनथ्यो मैले उसको रगत निचोरिएको मुहार एकनासले हेरिरहन्थे । ऊ आफ्ना हातका पन्जाहरूले आफ्नो बंशको फूलबारी सुम्सुमाइरहन्थ्यो अनि भन्थ्यो -“हे भगवान आज मेरो यो घरमा मेरी आमा भैदिएकि भए!” खै किन हो उसले कहिल्लै पनि लिएन उसको आफ्नो बाबाको नाम र मैले पनि सोधिन उसको बाबाको बारेमा ।

खरले छाएको फुसको सानो घर अनि करेसाबारीको जमिन उसले मलाई चिनायो । भविष्यमा झुल्किने आफ्नो बंशको लागि सात समुद्र पारि उडेर गयो । समाजको हेराइमा म अर्कै संसारबाट आएकी बिजातकी आइमाई थिए । मेरो जात र धर्म यो समाजले कहिल्लै स्वीकारेन । यो घरभित्र हुलिदा मैले भोगेको अपहेलत्वले गर्दा पनि म कहिल्लै विक्षिप्त भइन किनकि म समाजको लागि होइन मेरो उसको लागि आएकी थिए । उसले मलाई खुसीखुसीमा स्वीकारेको मात्र थिएन मानवीय भावनाका सबै मिठासहरू खुसीखुसीमा बाढेको पनि थियो । म थाक्दा उसले मेरा थकाइ बाढ्यो; म रुदा मेरा आँशुहरू पिई दियो; म दुख्दा उसले मेरा दुखाइहरू पनि खोसेर आफूले लियो । सायद त्यसैले पनि होला मैले यो समाजले लगाएका तगाराहरूलाई नाघ्ने चेष्टा पनि कहिल्लै गरिन ।

“दौलत र सम्पत्तिमा मात्तिएको यो संसारले गरिबी र पीडाहरूको मलम उत्पादन गर्दैन ‘काली’ । ”

बारम्बार यसै भन्दै मलाई ढाडस दिइरह्यो अनि सात समुद्र पारी भएर पनि मेरो विश्वासलाई गाँठो पारेर आफूले बाधी राखेको प्रेमको डोरीमा लुकाई राख्यो ।

“अँझै फूल फुल्ने बेला भएन काली ?”

एक हप्ता अगाढी उसले प्रेमपूर्ण भावमा सोधेको थियो । मैले हास्दै भनेको थिए –

“कोपिला बनिसक्यो अब केही दिनमा फूल्नेछ छिट्टो आउनुस अनि सुगन्ध लिनुस आफ्नो फूलको भनेर ।”

ऊ खुसीले चिच्चाएको थियो । मैले मेरा शरीरका रक्त संचारबाट मालीको खबर पुर्याई दिएकि थिए उसको फूललाई । मेरो करेसा बारीमा रोपिएको फूल हरेक रात मै सग जिस्किन्थी खेल्थी अनि फक्रिन्थी अनि आतुरतामा हौसिन्थी पनि । म सम्हाल्थे उसलाई अनि पर्खाउथे उसको आफ्नो रक्षक आगमनको समयसम्मको लागि ।

वर्षौसम्मको मेरो मेहनत र उसको पसिनाले झलमल्ल परेको घर आज फेरि उसै गरी अँध्यारो भएको छ । घरको यही आँगन जहा हाम्रो भबिष्य छुन्मुनाउदै खेल्ने छ उफ्रिनेछ भनेर हरेक दिन लिपपोत गर्दै सिंगारे । त्यही आँगनको एक छेउमा रातो काठको बाकस तेर्सिएको छ । बिगतमा परेका हरेक आपद र बिपत्तिमा मन्टो बटार्ने आफन्त र समाजले घरको आँगन र दलान भरिभराउ भएको छ । बिजातकी भनेर अपहेलना गर्दै प्रकृतिबाट सित्तैमा उपहार स्वरुप पाएको पिउने पानीमा समेत जातीय गन्ध मिसाउनेहरू मेरो रहरमा मेरो सौन्दर्यताको लागि लगाइएका गहना छिदाल्न,फुटाउन अनि धोएर पखाल्न आतुर भएका छन् । म चाहन्न मेरा सौन्दर्यताहरू फुटालीउन र पखालिउन भनेर । किनकि मेरो शरीरमा सिङ्गारिएका सौदार्यताका यी गहनाहरू मैले मेरा खुशीका लागि लगाएकी हु र मेरो आफ्नो मान्छेको खुसीको लागि सिंगारेको हु । समाज र आफन्तले त मलाई हिजो पनि चाहेन जबकि म यही समाज र आफ़न्तकि परिवारको सदस्यको एउटा अङ्ग भएर यो घर भित्र पसेकी थिए । अहिले के अधिकार छ र मेरो सौदार्यतालाई भताभुङ्ग पारेर फेरि अर्को उपमा दिएर जिउदै मार्नलाई ? बरु मलाई भन्ने मन छ मेरो आफ्नो मान्छेलाई जो यतिखेर रातो बाकसमा लम्पसार भएर घरको आँगनमा तेर्सिएको छ ।

“खै मेरो रातो बनारसे सारी अनि मेरा चाहनाका पोका पन्तुराहरू जुन तिमीले आफ्नो घरको आँगनदेखि सात समुद्र पारीको देशमा रहुन्जेलसम्म पनि सपनामा देखाइरह्यौ ।”

तर भन्दिन किनकि ऊ मेरो यिनै चाहना र आवश्यकता पुरा गर्नु पर्ला भनेर नै सदाका लागि मबाट भागेर गए जस्तो भान भै रहेको छ । बरु म चाहन्छु एकपटक ऊ सुतेको बाकसमा हेर्न । के? अँझै पनि उसको आशक्ति माया र मानवीयता म प्रति उस्तै छ । भो म हेर्दिन किनकि अब मैले उसको शरीरमा मेरा भावनाहरू बाचेको छ भनेर विश्वास गर्न सक्दिन । मलाई थाहा छ अब केही क्षणमै मेरो मान्छे मबाट भौतिक रुपमै सकिने छ । उल्टो शंख बजाउदै उसलाई लगिने छ अनि जलाइने छ उसको शरीरलाई खरानी पारेर । बरु म भन्न चाहन्छु –

“हे मेरो मान्छे तिमीले जे मलाई दियौ त्यसको लागि म ऋणी छु तर अलिकन दुखी पनि छु किनकि तिमीले आफैले रोपेको बिरुवा अब मैले यो समाजमा कसरी हुर्काएर फूलाउ जुन समाजले हुर्किएर फूलिसकेको फूलमा भेदभाव गर्छ भने । र म कसरी हरेक पाइला पाइलाहरूमा तिखा र अपाच्य बचनहरूको प्रतिवाद गरु जहाँ तिमी असल जातको मान्छे भन्नेबाट भित्राएको बिरुवामा पनि बिजातको गन्ध देखाएर लज्जित गराइन्छ भने । भो भन्दिन किनकि तिमीलेअब सुन्दैनौ र देख्दैनौ मेरा भावनाका चोटहरू । बरु म सम्हालिने कोशिस गर्छु अब म माथि लगाइने अति घृणित अपाच्य र सुन्न पनि डर लाग्ने ‘बिधवा’उपमाको पगरिबाट । “

Leave a Reply

Your email address will not be published. Required fields are marked *