Skip to content

अरिंगालको हमला

“कान्छा सन्चै छस”
मैले दुइ हात लगाएर आँखाका दुइ परेला तल माथि सारेर हेँरे ।
“तेरीमा डाँका,”
उठेर दुइ झापड रन्काइदिम झै भाथ्यो तर गल्ती मेरो आफ्नै पनि त थियो । मन शान्त पारेर ज्वरोले रन्थनियको जीउलाई सुकुलमा थन्क्याँए ।

स्कुलमा बर्खे विदा थियो । घरका ठूला मान्छे रोपाइमा व्यस्त हुँदा हामि भुराभुरीहरु गाई बाख्रा चराउन जान्थ्यौ । हाम्रो टोलभरीका आठ, नौ जना गोठालो जान्थ्यौ । मुसेटाकुरा गोठालाहरुको केन्द्र थियो । जुन घरकाले गाई बाख्रा अगाडी लगेपनि मुसेटाकुरामा रोक्नु पर्थ्यो । सबै घरका गाई बाख्रा आइसकेपछि मात्र जंगल भित्र लग्थ्यौ ।

साउनको सुरुतिर जंगल भरि प्रसस्तै ज्यामुना पाक्थे । दोकानखोला (दोभानलाई हामि दोकान खोला भन्थ्यौ) पुगेपछि गाई बाख्रा त्यतिकै छोडेर ज्यामुना खान लाग्थ्यौ । यसरी गाई बाख्रा वेवारिसे पार्दा कहिलेकाँही हाम्रा केही बाख्रा गायब पार्थ्यो बाघ (चितुवा) ले र त्यो दिन जस्को घरको बाख्रा बाघले मारेको छ त्यसले रामधुलाई खान्थ्यो घरमा ।

हाम्रो टिममा एकजना अलि ठूलो र अरु भन्दा अलि बढि उमेरको साथी थियोः गोकुले । हामि सबैले उसैको आदेश मान्नु पर्थ्यो नत्र अनेक उट्पट्याङ काम गरि दिनु दुःख दिन्थ्यो । कहिले खोलामा नुहाउन लाग्दा कपडा लुकाइदिने । कहिले उडाउछु भन्दै नांगै डौडाउने त कहिले गाइ बाख्रा लगेर अरुका मकै बारीमा लगाइदिने ।

मुसेटाकुराको अलि तल एउटा बडेमानको सालको रुख थियो । त्यसको एकापट्टीको हाँगामा अरिंगालको ठूलै गोलो थियो । दिनको समयमा अरिंगाल त्यसै पनि झिल्लीएर टोकुला झै गर्थे उसै माथि हामि गोठालाको उट्पट्याङ्ग थपिएपछि के बाँकी रहन्थ्यो र ?

२०५६ साल साउनको दस बाह्र गते तिर होला, मध्य दिनमा टन्टलापुर घाम लागिरहेका थिए । माथि बरपाटामा रोपाई चल्दै थियो । हामिले गाई बाख्रा मुसेटाकुराबाट पारी मुखियाको खेत तिर लखेटीसकेका थियौ । खेत बाँझै थियो जंगल त्यती धेरै घना नभएकोले बाघ लाग्ने डर पनि कमै थियो त्यतातिर । केहि गोठाला गाई बाख्रा भएतिर लागे ।

“लौ कस्को हात सिधा रैछ आज विचार हुन्छ” गोकुले गम्कीयो । गोकुले, म अनि अरु तीन चार जना त्यहि ठूलो सालको रुखतिर लाग्यौ अरिंगालको गोलामा निसाना लगाउन, हातमा अनि जांगे (हाफपाईन्ट) को खल्तीमा पनि दुइ चारवटा ठिक्कका ढुंगा बोकेर ।

“लौ कान्छा तेरो अलंकार हेरुम त खै” गोकुलेले उच्काइहाल्यो । म पनि के कम र कसेर अरिंगालको गोलातिर दुर्इ तीनवटा ढुंगा हुत्याएँ । त्यती माथि के पुग्न सक्थ्यो र ।

“छोड जाँ…, अलंकारको तितो” गोकुले अघी सर्यो अनि कसेर एक ढुंगा हान्यो । तर त्यो लागेन ।
“इस मैलाई मात्र भन्थिस त मु…” हामिलाई गिज्याउने मौका मिल्यो ।
गोकुले झन सुरियो । यस पालि अलि ठिक्कको ढुंगा हान्यो । हामि हुटिङ मार्दै थियौ । ढुंगा अरिंगालको गोलामै बजारियो । गोलाको एक कट्पेरो नै झर्यो र त्यो सँगै अरिंगाल पनि ।
“भाग मु…हो नत्र सिध्याउछ” भन्दै गोकुलेले कुलेलाम ठोकिहाल्यो लौ फर्साद पर्यो अब सिध्याउने भयो । त्याँ भरिको सबैभन्दा कमजोर मै थिएँ । दौडिदै गर्दा झाडिमा अल्झेर लडिहाले । पछाडी र्फकेर हेरेको अरिंगाल त मौरिको रानो फाटेर जान लाग्या बेला झै आकाश भरि भाका थे । म उठेर फेरी दौडिन थाले । दौडिदा दौडिदै एउटा अरिंगाल आएर मेरो टाउकोमा टोकिहाल्यो । म बेस्सरी चिच्याएँ । माथि पुगेको गोकुले चिच्याउदै थियो “सटले टाउको छोप अनि बेस्सरी दौडी” तर अँह मेरो केही सिप लागेन अरु दुइ तीनवटा अरिंगालले पनि भेट्टाइहाले । म रन्थनीदै दौडिदै थिए अलि पर पुगेपछि गोकुले हरिया झ्याउला घुमाउदै आयो र मलाई लखेट्दै आएका अरिंगाल धपायो ।

“टाउकोमा तीनवटा अनि गर्धनमा एउटा, जम्मा चारवटाले चिलेछन् सात वटा अरिंगालले चिलेभने मान्छे ठहरै रहन्छ भन्छन् धन्न चारवटाले मात्र चिलेछन् तँ बाँचिस कान्छा ।” गोकुलेले खिल गनि सिध्यायो । मेरो रुवाइ मत्थर भैसकेको थियो । टोकेको ठाउँमा फलाम लगायो भने सुन्निदैन, कसैले भन्दै थियो । गोब्य्राउ झार मिचेर लाएपनि सुन्निदैन रे अर्कोले अर्को उपाय निकाल्यो ।
तँ बेलैमा घर गैहाल पछि पछि गारो हुँदै जाँन्छ । तेरा गाइ बाख्रा हामि ल्याइदिन्छौ । गौथलीले दया देखाई ।

घर पुग्दा सम्म टाउको गह्रौ भैसकेको थियो । रिंगाटा लाग्ने, ज्वरो आउने अनि टोकेको ठाउँमा पोल्ने सप्पै एकैचोटी भयो । घरमा बज्यै मात्र थिइन अरु सबै रोपाईमा गएका थिए । सप्पै बेलि विस्तार लगाइ सक्दा नचाहिने नचाहिने कुच्चर्याई गर्ने भन्दै दुइ चारवटा गालि गरि गोब्य्राउ, दहि के के ल्याएर टाउको भरि थुपारिदिइन । मेरो पुरै जिउ सम्हाल्नै नसक्ने गरी भारी भयो, म घरको पेटीमै घोप्टीएँ ।

भोलिपल्ट विहान ज्वरोले पुरै जीउ गलाई सकेछ । हेर्न खोजेको आँखा त खुल्दैनन् । अनुहार सब्बै सुन्निएछ अनि आँखाका परेला पनि सुन्निएर आखै हेर्न नमिल्ने गरि बन्द भएछन्, लौ परेन फर्साद सधै यसैगरि बन्द हुने त होइनन् । हातले दुइ परेला तल माथि सारेर हेर्दा मात्रै देखियो संसार । केहि समय पछि गोकुले सन्चै छस कान्छा भन्दै आइपुग्यो । अरिंगालको गोलामा हान्ने ढुंगा त्यसकै खप्परमा भन्काइदिउ झै भाथ्यो । पछि गल्ती मेरो पनि त थियो भन्दै सम्हालिएँ । भलै त्यो अस्थाई नै किन होस अब देखी गोकुलेको बगालमा गाई बाख्रा नलग्ने र त्यसको संगतै नगर्ने मेरो प्रण बनिसकेको थियो दिउसो सम्ममा ।

छ दिन सम्म थलिएर सातौ दिनको दिन म बल्ल तङ्ग्रीए । गाई बाख्रा फुकाउँदै गर्दा बज्यै कराउदै थिइन “आजपनि दुइचारवटा ढुंगा अरिंगालको गोलामा ठोकेर आएस है ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *