Skip to content

सानो घरकी आमा

  • by


भाइबहिनीहरू, यसपटक दुइवटा घरको बारेमा कथा लेख्दैछु । पढ्नुहोस् र कुन घर मनपर्यो त्यो लेखेर पठाउन चाहिँ नभुल्नु है !

अब कथा शुरु हुन्छ,

ठूलो खोला थियो । खोलाको वारिपारि घरहरू थिए । खोला ज्यादै ठूलो भएकोले साँघु हाल्न मिल्ने कुरै भएन । त्यस जमानामा उड्ने बायुपङ्खी घोडा पाइँन्थे, तर ती साह्रै महँगा थिए । हुने-खानेहरू त सजिलै त्यस्ता घोडा चढ्थे र वारिपारि आउने-जाने गर्थे । तर नहुने भने आकाशमा हेरेरै चित्त बुझाउँथे । कोही-कोही भने घर खेत बेचेर भएपनि बायुपङ्खी घोडा चढ्ने रहर पुर्याउँथे । हो, यिनै खोला वारी र पारिपट्टिका दुइ गाउँका एक-एकवटा घरको कथा हो यो ।

खोलाको पश्चिमपट्टि एउटा घर सुन्दर थियो । त्यो ठूलो, तडक-भडकपूर्ण र ठूलो कम्पाउन्ड भएको घर थियो । घरमा विश्वभरिबाट बोलाइएका धेरै नोकरचाकरहरू थिए । घर जति सफा देखिन्थ्यो त्यति व्यवस्थित पनि थियो । त्यहाँका हरेक कुरा एउटा नियम, कानूनको परिधिभित्र भएझैं लाग्थ्यो । यहाँ सम्मकी मानिस पनि मेसिनजस्ता देखिन्थे । उनीहरू सधै बेफुर्सदिला र गतिशील देखिन्थे । अझ उनीहरूको औपचारिकताको यान्त्रिक कला, यान्त्रिक माया र यान्त्रिक भावना देख्दा त कति मानिसहरू छक्कै पर्थे ।

वास्तवमा भन्ने हो भने त्यो घर अति वैभवशाली थियो । घरको कम्पाउन्डभित्र छिर्नलाई पनि उत्तिकै कर्डाई गरिएको थियो । अझ कति गरीब मनिसहरू त त्यो घरको ढोकाबाट भित्र छिर्न मात्र पाए पनि आफूलाई र्स्वर्ग पुगेको अनुभूति गर्थे । कति गरीब मानिसहरू नोकर भएर त्यो घरमा पुगेको कल्पना गरेर पनि रोमाञ्चित हुनेगर्थे ।

त्यसैगरी त्यस घरले पढाइको लागि एउटा छूट्टै तर वृहत् विभाग नै खडा गरेको थियो । शिक्षा प्रणाली निकै व्यवहारिक र सिपमूलक थियो । हरेकले पढेपछि सजिलै काम पाउन सक्थे । तर शिक्षा प्रणालीभित्र लुकेको दुरासय भने फरक थियो । विश्वभरमा शिक्षित र जानकार मानिसलाई पूँजीबादी प्रणालीको भूमरीमा राखेर वैभव र भोगमा नै उनीहरूलाई लिप्त बनाउनु र शिक्षित नोकर तयार गर्नु उनीहरुको भित्री मनसाय हुन्थ्यो । उनीहरु एकातिर आफ्नो पूरा बल, बुद्वि लगाएर त्यस घरको सेवा गरिराखेका हुन्थे भने अर्कोतिर पर्ढाई शुल्कले पनि उनीहरूले कमाएको लगभग असी प्रतिशत रकम कुम्ल्याउँथ्यो । कुनै मान्छे साँच्चै नै क्षमतावान् छ र ऊ बाहिरिएमा त्यो घरले राम्रो जनशक्ति गुमाउँछ जस्तो लागेमा उसलाई विभिन्न आर्थिक, सामाजिक प्रतिष्ठाको लोभ देखाएरै पनि त्यै घरमा कैद गरिन्थ्यो ।

यता खोलाबाट पूर्वपट्टि एउटा सानो घर थियो । घरको चार किल्ला पनि उस्तो राम्ररी ठोक्न सकिएको थिएन । गरीब घरको माग्ने चाला भने झैं भाइ-भाइ सम्पत्ति र घरको उत्तराधिकारीलाई लिएर किचलो गरिरहन्थे । भाइ फुटे गवार लुटे भने झैं मौकाको फाइदा उठाएर हेपाहा छिमेकीहरू जग्गा मिचिरहन्थे । यसैले गर्दा त्यस घरकी आमा सँधै रोइरहन्थिन्, पिरोलिरहन्थिन् ।

खोलापारिको त्यो ठूलो घरमा जाने इच्छा त्यस सानो घरका सबैजसो सन्तानलाई थियो । त्यो कुराले आमाको छाती पीडाले अझ चर्किएको थियो । कुनै-कुनै छोराले त आमालाई दाउमा राखेर वा अझ बेचेरै भए पनि त्यो सम्पन्न घरमा पुगेरै छाड्ने विचार बनाएछन् ।

यो सबै बुझेर एकदिन आमाले आफ्ना सबै छोरालाई डाकिन् र भन्न लागिन् – ‘हेर छोरा हो, तिमीहरूको ठूलो घरप्रतिको मोह देखेर मेरो मुटु छिया-छिया भएको छ । मैले कति दुःख गरेर तिमीहरूलाई हुर्काएँ, बढाएँ अनि थोरै भए पनि पढाएँ । तर तिमीहरू आफ्ना हातखुट्टा लाग्ने भएपछि चाहिँ पालिसे सुनमा लोभिए झैं अर्काको वैभवमा लोभिएर अर्काको कामदार बन्न जान चाहन्छौं ?

सबैले आ-आफ्नो आमाको र आ-आफ्नो घरको हेरचाह र सेवा गर्नुपर्छ । अर्काकी आमा राम्री र धनी छ भनेर उसलाई आफ्नो आमा बनाउन सकिन्छ र ? फेरि त्यो घर पनि त उसै धनी भएको होइन नि । कुनै बेला त्यो घर हाम्रो भन्दा गरीब र कुरुप थियो । तर त्यसघरमा पितापुर्खादेखिका मानिसले खाईनखाई घरको काम गरे । हरेक दिन १५ घन्टासम्म काम गरे । तिमीहरू जस्तै भाग्न चाहेको भए त्यतिखेर पनि अन्य वैभवशाली र धनी घरहरू थिए, तर उनीहरू भागेनन् । आफ्नै घरको काम गरेर बसे । त्यसैले त आज उनीहरूका सन्तानले सुन्दर र धनी घरमा बस्न पाएका छन् ।

फेरि अर्को कुरा, धनी र सुन्दर हुँदैमा सबै कुरा राम्रो कहाँ हुन्छ र ? त्यस घरका मालिकले कस्तो सामाजिक संयन्त्र बनाएका छन्, तिमीहरूलाई थाहा छ ? त्यहाँ हरेक तह र तप्काका मानिसको सोच पैसा र पूँजीसँग जोडिएको छ । हरेक मानवीय र यान्त्रिक क्षमताको प्रयोग गरेर पूँजी संकलन गर्ने उद्देश्य राखिएको छ । मानिसले आफूलाई पैसा, सम्पत्ति, शक्ति र मोजमज्जाको चक्रब्यूहमा हराएका छन् । मानवीय व्यवहार, दया, माया, भावना, भावुकता जस्ता कुराहरूलाई सभ्यता र स्वावलम्बी समाजको नाममा एकातिर मिल्काइ सकिएको छ । त्यसैले बाबु नानी हो, तिमीहरू त्यो घरको लागि मरिहत्ते नगर । सक्छौं भने आफ्नै घरको चुहिएको छानो टाल्ने प्रयास गर । मिलेर माया गाँसेर, परिश्रमको पसिना बगाएर आफ्नै घरलाई मलजल गर । के थाहा एकदिन हाम्रो घर त्यो भन्दा पनि मानवीय र सम्मुनत हुन्छ की ?

आमाको कुरा सकिंदासम्म सबै छोराहरू स्तब्ध र भावविव्हल भैसकेका थिए । सबैका आँखामा आँसु छचल्किरहेको थियो भने मनमा हिनताबोध र पश्चातापको आगो दन्किरहेको थियो । कथित सुखभोग गर्न र वैभव हेर्ने निँहुमा उनीहरूले आफ्नो आमालाई कति कुन्ठित पार्दै थिए भन्ने महसुस गरे । सबैले आफ्नो घर बनाउन लाग्ने र आमाको मुहार हँसाउन लागिपर्ने अठोट गरे । अब भोलिबाट त्यो खोलापारिको ठूलो घर जानको लागि प्रवेशाज्ञा लिने लामो लाइन लाग्नु नपर्ने भो भन्ने कल्पना गर्दा सबैलाई मीठो निन्द्रा पर्यो ।

भ्वाइस अफ चिल्ड्रेन मासिक बालपत्रिकाबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *