Skip to content


‘आमा’ भन्ने शब्द गजबको रहेछ । आमा जिउँदो हुँदा पनि आमा भएको सन्तान हुनुको गर्व हुँदो रहेछ । आमाको अभावमा त झन् आमाको महìव बढ्ने रहेछ । आमाको मृत्युपश्चात् आमालाई प्रत्यक्ष रूपमा देख्न नपाए पनि ‘आमा’ शब्दको उच्चारण मात्रले पनि शान्ति मिल्दो रहेछ ।

‘आमा’ शब्द त भगवान्भन्दा ठूलो र महìवपूर्ण रहेछ । भगवान् अदृश्य हुन्छन्, मान्छेले कहिल्यै देख्तैनन्, मानिआएका मात्र हुन्छन् । आमा त जिउँदो हुँदाका दृश्य र मरेपछि अदृश्य भगवान् हुँदा रहेछन् । त्यसैले भगवान्को अप्रत्यक्ष आशीर्वादभन्दा आमाको काख नै लाख हँुदो रहेछ र आमाको मृत्युुपश्चात् समेत ‘आमा’ शब्द प्यारो, आदरणीय र पुज्य भइरहँदो रहेछ ।

आज २०६४ साल वैशाख २३ गते आइतबार अर्थात् आमालाई कहिल्यै भेट्न नपाउने गरी देख्न नपाएको एकतीसौैँ दिन । आमालाई सम्झिरहेको छु, धेरै सम्झिरहेको छु । आमाको अभाव खट्किरहेको छ । आमाविनाको जीवन बाँच्नु छ अब । आमालाई बोलाउन नपाई बाँच्नु छ अब ।

घरमा कान्छो सन्तान भएर जन्मेको थिएँ म । कान्छो हुनाले आमाको निकटता बढी पाएँ मैले । आमाको माया चाहिँ अरू दाजुभाइभन्दा बढी पाएँ कि पाइनँ भन्न हम्मे परिरहेको छ मलाई । मलाई लाग्छ ‘कसैको पनि जेठो सन्तानले नै बढी माया पाउँछ ।’ पछि जन्मनेहरूले पनि माया त पाई नै हाल्छन् । जति सन्तान जन्मन्छन्, त्यति नै सन्तानमा आमाबाबुको माया विभाजित हुँदोरहेछ र पनि प्रत्येक सन्तानले पाउने माया पूर्ण नै हँुदो रहेछ । यसो हुँदाहुँदै पनि एक ठाउँमा चाहिँ हिसाब नमिल्ने देख्छु म । जेठाहरूले कान्छाहरू जन्मनुअघि जति माया पाउँछन्, त्यति त उनीहरूको पेवा नै हुन्छ । कान्छाहरू नजन्मिँदासम्म उनीहरूका दाजुदिदीले पाउने माया त बढीको बढी नै हुँदो रहेछ । त्यसैले ‘जेठो बाबुको, कान्छो आमाको, साइँलो माइलो आनामानी’ भन्ने उखान कताकति नमिल्दो जस्तो लाग्ने रहेछ ।

जे होस् ,म कान्छो थिएँ त्यसैले मैले थाहा पाउने हुँदासम्म म आमाको दूध चुस्थेँ । मैले चार वर्षको हुँदासम्म आमाको दूध चुसेँ रे । एक दिन अलिअलि जानेरै आमाको थुन टोकिदिएछु । आमा रन्थनिएर साह्रो हप्काउनुभयो । मैले आमासँग गिज्जिँदागिज्जिँदै त्यस्तो बदमासी गरेको थिएँ, पीडा दिने उद्देश्यले होइन । आमा मर्माहत भएको देखेर म पनि आत्तिएँ र ‘अबदेखि यस्तो कहिल्यै गर्दिनँ’ भनेर माफी मागेँ ।

हाम्रो पुख्र्यौली रामेछाप जिल्लाको कठजोर भए पनि हजुरबुबा तराई झर्नु भएकोले बुबा पर्सा जिल्लाको खेस्राहामा जन्मनुभएको थियो । हाम्रो पुरानो घर त्यहीँ थियो । म सानै छँदा आमासँग खेस्राहा जाँदाको प्रसङ्ग पनि अहिले म झल्झली सम्झँदै छु । तीन वर्ष जतिको हुँदो हुँ । मेरो जन्मघर रौतहटको विश्रामपुरबाट खेस्राहा पुग्न सदरमुकाम गौरसम्म गडी -गोरुगाडा) र गौरको सीमावर्ती बैरगनियाँदेखि खेस्राहाको सीमावर्ती सिक्टासम्म रेलयात्रा गर्नुपथ्र्यो । रेलको पहिलो यात्रा, त्यो पनि तीन वर्षकै छँदा, रेल आफ्नै गतिमा गुड्दै गर्दा मैले रूखहरू कुदेको ठानेछु । अनि मैले आमालाई सोधेछु ‘आमा रूख पनि कुद्छ ?’ मेरो जिज्ञासा सुनेर आमालाई हाँसो उठ्यो होला तर जिज्ञासा मेटिने जबाफ दिनुभयो ‘रेल अगाडि गुड्दा पछाडिएका रूखहरू कुदेजस्ता देखिएका मात्र हुन्, रूखहरू कहिल्यै कुद्दैनन् ।’

अँ, यो पनि तीन वर्षकै हुँदाको कुरो हो । आमालाई ठूलो मामाको घर जानुपर्ने रहेछ । उहाँको घर एक किलोमिटर जति पर थियो । म आमालाई पिर्दै रहेछु । आमालाई झझि्याहट लागेछ क्यारे,् आमाले भन्नुभयो- ”म तेरी आमा होइन, तेरी आमा त माइत गा’छे । ऊ आउने बेला भयो । तँ चाँदी खोलाको बगरमा गएर हेरिराख्, ऊ आइरहेकी हुनेछे । ऊ आएर तँलाई खाजा पनि दिनेछे ।” आमाले मेरो आँखा छल्नु रहेछ । मैले ख्याल गर्न नभ्याउने बाटाबाट जानुभएछ । नभन्दै आमा केही बेरपछि बगरबाटै आउनुभयो र खाजा पनि दिनुभयो । कुराले एकछिन छक्किए पनि मेरा आँखाहरूले भने धोका खाएका थिएनन् । मलाई ‘म तेरी आमा होइन’ भन्ने र मेरी आमा बनेर खाजा दिने महिला उही हुनुहुन्थ्यो र मेरी आमा नै हुनुहुन्थ्यो ।

कतिपय आमाहरू आदर्शतामा मात्र संस्कार सिकाउँछन् । व्यवहारले संस्कार सिकाउने आमाहरू नै आदर्श र महान् हुन्छन् । मेरी आमा व्यवहारतः संस्कार सिकाउनु हुन्थ्यो र सिकाइरहनु हुन्थ्यो । आमालाई धेरैथरि मिठाई पकाउन आउँथ्यो । तराईमा पकाइने गोजी, खजुरी, बुनियाँ, रसवरी, लालमोहन, जेरी, सातपत्रे आदि ।

सातपत्रे मिठाई पकाउने अर्को व्यक्ति न म जन्मेको गाउँ विश्रामपुरमा थियो, न म हुर्के बढेको चन्द्रनिगाहपुरमा नै । विश्रामपुर छँदैको कुरो हो यो । मिठाई पकाउन जान्ने हुनाले आमाले धेरैे दुःख पनि पाउनुपथ्र्यो । गाउँमा हुनेखाने वा आफन्तहरूकहाँ मिठाई पकाउनुपर्दा आमानै जानै पथ्र्यो । गाउँमै पढ्दै रहेका म र सान्दाजु स्कुलबाट घरमा आइपुग्दा कहिलेकाहीँ आमालाई भेट्टाउँदैनथ्यौँ । यसै पनि बच्चाहरू जहाँकहीँबाट आइपुग्नासाथ आमालाई खोज्छन् । त्यसमाथि विद्यालयबाट घर आउनासाथ घरमा ताल्चा लागेको देख्ता र आमालाई नभेट्ता खोज्नु स्वाभाविक नै हुन्छ । त्यसैले हामी पनि कुनै सुराकले आमालाई फेला पारी छाड्थ्यौँ । आमा अरू कसैकहाँ मिठाई पकाइरहनुभएको भेटिनुहुन्थ्यो । हामीलाई देख्नासाथ साँचोको झुत्ता दिनुहुन्थ्यो र मूक भाषामा झट्टै घरतिर लागिहाल्ने आदेश दिनुहुन्थ्यो । आमासँग एकछिन बस्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । अलि भित्रबाट अर्को लोभ पनि थियो होला, अलिबेर अल्मलिन पाए पकवानमध्येबाट थोरै भए पनि रसास्वादन गर्ने । हाम्रो यो अभीप्सालाई आमाले पनि राम्ररी बुझ्नु हुन्थ्यो । भित्र कतै कुनामा ‘होस् न त’ भन्ने पनि हुन सक्थ्यो तर अहँ, त्यो भाव प्रकट हुन दिनु हुन्थेन आमाले । हाम्रो लोभले आमाको स्वाभिमानमा असर पर्न सक्थ्यो । आफ्नो सीप पोखेर गाउँलेहरूलाई सघाउने उहाँको सदासयता लोभमा अनुवाद हुन सक्थ्यो र धेरै गुमाएर उहाँले प्राप्त गर्नुभएको प्रतिष्ठा हाम्रो कारणले खस्कन सक्थ्यो । यस प्रकरणमा उहाँ निकै सचेत र सतर्क हुनुहुन्थ्यो । त्यसैले उहाँले आँखा तरेर हप्काउन लागेको थाहा पाएपछि हामी लोइरे कान लाएर हिँडिहाल्थ्यौँ ।

हामी चन्द्रनिगाहपुर आइसकेपछिको कुरो हो । म दस वर्ष जतिको थिएँ हँुला, आमालाई हेटौँडा जाने काम आइपर्‍यो । त्यसैताका म पहिलोपल्ट वीरगन्ज गएको थिएँ । हेटौँडाको नाम त्यति सुनेको थिइनँ । मैले आमालाई ‘म पनि जान्छु’ भनेँ । आमाले ‘पढ्ने मान्छेले धेरै डुल्ने होइन’ भन्नुभयो तर म सहमत हुन सकिनँ । आमा बसमा चढेर हेटौँडातिर लाग्नुभयो । म पनि बसको पछिपछि कुद्न थालेँ । बस त आफ्नो गतिमा हुइँकिहाल्यो । म पनि बसलाई पछ्याउँदै सात किलोमिटर परको लमाहासम्म पुगेँ । बस के भेटिनु,् म लमाहासम्म पुग्दा बस हेटौँडा पुगिसकेको थियो होला । बल्ल पो मेरो होस खुल्यो । आफ्नो मुख्र्याइँप्रति पश्चाताप गर्दै कुदेेर थाकेका गोडाहरूले लोफर्‍्याकलोफ्र्‍याक गर्दै घर आइपुगेँ । आफ्नो पीडा सान्दाजुलाई सुनाएँ । त्यसको एक-दुई दिनपछि आमा आइपुग्नुभयो । आमाले मलाई छाडेर जानुभएको पहिलोपल्ट थियो क्यारे, आमाको अभावमा म निकै न्यासि्रएको थिएँ । आमा आइपुग्नासाथ आमाको फरिया समातेर म धेरैबेर रोएँ । आमा पनि झन्डै रुनुभयो ।

आमाको जीवनमा उहाँको चित्त दुखाउने कुनै काम नगरे पनि आफू सक्तो हेरविचार र सेवा गरे पनि अहिले लागिरहेको छ ‘ आमालाई अझ खुसी राख्न सकिन्थ्यो, अझ सुखी राख्न सकिन्थ्यो ।’

आमाहरू आफू खाएर-नखाएर, लाएर-नलाएर आफ्ना सन्तानहरूको पालनपोषण गर्छन् । छोराछोरीको खुसीका लागि आफूलाई पनि त्याग्न सक्छन् । आमाहरूको यस्तो महानताको गुन तिर्न कुनै पनि सन्तान सक्षम हँुदैनन्, मैले पनि सकिनँ ।

मैले मेरी आमाले जस्तै माया गर्ने केही आमाहरू मेरोे जीवनमा भेट्टाएको छ्रु । चन्द्रनिगाहपुरकी तिमल्सिना आमा, हिमालीबासका भुजेल र पोख्र्रेल आमाहरू, भलुवाइ खोरकी मैनाली आमा, छतिवनकी दाहाल आमा र मेरी सासूआमा । उहाँहरूले कुनै खास समयमा र भेट्ताका समयमा ठूलो गुन लाउनुभएको छ । उहाँहरूको सदासयता र उदारताप्रति म नतमस्तक छु । म्ा छोरा बन्न सकेँ भनेे अब बाँकी जीवनमा पनि माया गर्ने आमाहरू अवश्य भेट्ने छु तर मलाई जन्म दिने, स्याहारसुसार गर्ने, हुर्काउने, बढाउने, संस्कार दिने र ४५ वर्षको बनाएर कहिल्यै नर्फकने बाटो लाग्ने मेरी आमा सावित्रीदेवीलाई म कहिल्यै पाउन्नँ , कहिल्यै पाउन्नँ ।

-चन्द्रनिगाहपुर, रौतहट

Leave a Reply

Your email address will not be published. Required fields are marked *