मेरी पत्नी,
कहिल्यै मेरी हुनै पाइनन्
सधैँ मेरो लागि हुन्थिन् उनी
भोकमा पनि उनी
प्यासमा पनि उनी
दुखाइमा पनि उनी
तर पनि उनी म भित्र हुनै पाइनन्
निद्रामा पनि उनी
पीडामा पनि उनी
हरेक आवश्यकतामा उनी
छोरा चाहियो त्यो पनि पाइदिइन्
छोरी चाहिए पनि पाइदिइन्
न्यानो अँगालो पनि दिन्थिन्
जति थाकेर आएपनि
जति मातेर आएपनि
सबै टाढा गरिदिन्थिन्
तर पनि म भित्रको स्थान पाउनै सकिनन्
घर त केवल बासको लागि
छोराछोरी त उनकै माया हुन्
मेरो माया त छरपस्ट बजार भरी
म उनको पति
तर पनि
उनी मेरी पत्नी हुनै पाइनन्
जव उनी यस संसारबाट बिदा भइन्
त्यसपछि मात्र खड्कियो मलाई
उनी मेरो पत्नी नहुनुको अभाव ……
दुई थोपा आँशु श्रद्धा चढाउँदै
हार्दिक श्रद्रान्जीको श्रद्धा सुमन ।
— सकु थापा
चरखण्डी, भक्तपुर ।