Skip to content


तिमीसँगको एउटै भेट!
पलपल सम्झन बाध्य छु
तिमी चट्याङ बनी बर्सेको क्षण
म सोच्न विवश छु ।
त्यो पानी परेको रात-बिजुली चम्केको रात
जिन्दगीसँग जिन्दगी-साटिएको रात
अझै याद छ मलाई-
पीपलको फेदमुनि
आˆनो भिजेको जेबी रुमालभित्र
कसैको विश्वास राखी
नराम्रोसँग निचोरेथेँ-
अनि, तिम्रो पछ्यौरीभित्र लुकेर
नयाँ सम्झौतापत्रमा हस्ताक्षर गरेथेँ मैले
सायद, झरीमा चम्केको बिजुली बनी
अवतरित थियौ र उभिएकी थियौ मेरासामु
खै ! कुन भावनाले सम्बोधन गरुँ
त्यस क्षणलाई म-
भाग्य वा दुर्भाग्य-खुसी वा विस्मात !
निथु्र्रक्क झरी बनेकी तिमीलाई
अनायासै पाएथेँ-
अपनाएथेँ आˆनो नाम, पहिचान
सबैसबै गुमाएर !
तिमीलाई पनि त सम्झना होला !
भिजेको पछ्यौरी निचोर्ने वहानामा
दुई औँलाबीच पछ्यौरीको फेर च्याप्दै
जोडी नयन वाणले निरन्तर प्रहार गरेको
अनि, नेत्र कटाक्षका तीरले मुटु छियाछिया पारेको ।
रूपकी प्रतिमूर्ति देखेथेँ-तिमीलाई
त्यसैले त-
तिम्रो मूर्ति हेर्दैमा-मूर्ति बनेथेँ म ।
अहो ! त्यो पछ्यौरी-ती दधीचि आँखा !
भृकुटीका तीखा कटाक्ष !
म बिर्सुं कसरी- त्यो पानीमा आगो बलेको रात
आकाशकी परी धर्तीमा झरी
मसँग जिस्केको त्यो रात ।
भिजेको पछ्यौरी-जेबी रुमाल र जिन्दगी
एकैसाथ निचोरेको रात ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *