Skip to content

चरित्रहिनहरूभित्रको एउटा चरित्र

DilThapa


ऊ मेरो घरमा तीन दिनअगाडि आएको थिए। मसँग एक रात बिताएर गयो। आजभोलि मेरो दुख बुझ्ने पनि सुख बुझ्ने पनि ऊ नै हो। अर्थात सुदिन । सुदिनले मलाई आफ्नै श्रीमतीलाई जस्तै गरी माया गर्छ। हेरचाह पनि गर्छ। मेरो मनोविज्ञान पनि बुझ्न प्रयास गर्छ। मलाई खुसी हुन सिकाउँछ । पीडाहरुलाई भुलेर हाँस्न पनि सिकाउँछ । जीवनको यथार्थ धरातलमा टेकेर जीवन जिउन पनि सिकाउँछ । कहिलेकाहीं रुन पनि सिकाउँछ। तर उसले मेरो आँसु आफ्नो हातबाट भुँईमा झर्न दिएको मलाई त्यस्तो सम्झना छैन ।

सुदिनको खुट्टाको दुई पैतालले मेरो घरको चारदिवार जुठो पारिसकेको छ। त्यसैले होला सुदिन मसँग नहुंदानी मेरो घरमा उसको गुलाफरूपी पुरुषगन्ध आइरहन्छ । र ऊ सधैं मसँगै भइरहेको मीठो सम्झना दिलाउँछ ।

म एउटी विवाहित नारी प्राणी हूँ । अनि नेपाली समाजको प्रतिनिधित्व गर्ने एउटी नारी अर्थात आमनारी । उहाँसंग(श्रीमान्) मेरो बिहेको बाइस वर्ष भएछ। बिहे भएकै वर्ष हामीले छोरालाई जन्म दियौँ । हाम्रो जीवनमा छोराको आगमनसँगै भौगोलिक रुपमा हामीलाई समयले अलग-अलग बनायो । अर्थात म नेपाल र मेरो श्रीमान विदेश ।

हाम्रो प्रेमविवाह हो। अर्थात हामी विवाह गर्ने निर्णयमा पुग्नुको अर्थ हामी दुईबीचको आत्मीयप्रेम नै हो। मजस्तै मेरो श्रीमान् पनि मध्यम वर्गीय परिवारको मान्छे । तर राजधानीको रैथाने । अर्थात काठमाण्डौबासी । छोराको जन्मसँगै मैले मेरो सपनाहरूलाई मृत संस्कृतभाषाको शब्दहरुजस्तै बनाए । अनि मिल्काए यो समाजको पुरुषपुस्तकालयमा सपनाका पुस्तकहरू । यही समाजको पुरुषको भविष्य बनाउन गरे यो जिन्दगीलाई बुँदागत सम्झौता ।

मेरो श्रीमान २३ वर्षको हुँदा विदेश (क्यानडा) जानुभएको हो। राम्रो कमाउनु हुन्थ्यो । उहाँको कमाई र मेरो लगनशीलताले हाम्रो घर र छोराको पढाइको स्तर राम्रो भइसकेको थियो। मलाई लाग्थ्यो मेरो श्रीमान् केही वर्षपछि विदेश नजाने गरी फर्कनुहुन्छ भनेर । हामीबीच प्राय कुरा हुन्थ्यो । आजभोलि पनि कहिलेकाहीं हुन्छ । तर पहिला जस्तो हुदैन ।फोनमा कुरा हुँदा मैले उहाँलाई अनुरोध गर्थे । अब त फर्कनु भो नेपाल भनेर। छोराले प्लस टु (+2) सक्ने बेला भइसक्यो । तर उहाँले मान्नु भएन । भन्नु हुन्थ्यो ! मैले जस्तै मेरो छोरा विदेश जान नपरोस् । त्यसैले म केही वर्ष यतै बस्छु भनेर । छोराले देशमै केही गरोस् भन्ने आशा र सपना हामी दुवैमा थियो। छोराले प्लस टु पछि अस्टेलिया जान्छु भन्थ्यो । मैले नजान अनुरोध गर्दा सधैं झगडा पर्थ्यौ । र गई पनि छाड्‌यो । त्यसपछि त झन म एक्लो भए । श्रीमान पनि नेपाल आउन चाहानुहुन्थेन । छोरा त झन् अस्ट्रेलियातिरै बिहे गरेर सेटल हुन लागेको कुरा महिनौंपछि फोन गर्दा सुनाउँथ्यो। आजभोलि पनि
मलाई भेट्न आउन अनुरोध गर्छ। आफू फुर्सद नभएको पूराण सुनाउँछ l

आज मेरो साथमा श्रीमान् पनि छैन। छोरा पनि छैन।हुन त पैले भन्नुहुन्थ्यो श्रीमानले मलाई कहिलेकाहीं फोन गर्दा मैले यतै तिमीजस्तै नारीसँग बिहे गरे भने तिमी गर्छौं भनेर । त्यति बेला मैले केही भन्थिन । उत्तरहीन हुन्थे। तर आज भयो यस्तै । केही समयको चर्को र पिरो संवादपछि उतै बिहे गरेको कुरा मेरो श्रीमानले स्वीकार गर्नुभयो । मप्रति त्यति धेरै सद्‌भाव नहुने किसिमको कुरा व्यक्त गर्नुभयो । मेरो जीवनको राजमार्ग त्यति बेला एक किसिमको विपत्तिले बगाएको थियो । मार्गविहीन भएकी थिए । जीवनको बाटो टुङ्गिसकेको थियो । बाँच्ने आशा टुटिसकेको थियो। देख्ने दुई आँखा हुदाहुर्दै पनि यो काठमाडौ पुरै अँध्यारो लाग्थ्यो । आफू एकदम एक्ली लाग्थ्यो । संसार नै मेरो विपक्षमा भएको अनुभव हुन्थ्यो । ठाक्कै जीवन यसरी अथवा उच्चनिराशाले शिथिल बनाइरहदा मेरो भेट सुदिनसँग हुन पुग्यो ।

त्यो क्याफे( ह्‍याप्पी क्याफे घर)घर। अर्थात सुदिनले वईटर भएर काम गर्ने क्याफे घर । म त्यो दिन टेबल नम्बर सत्तरमा बसेकी थिई । मेरो एक्लो जीवनलाई म कसरी खुसी बनाऊ भनेर सोच्दासोच्दै आँखाबाट आँशु झरेको बेलैमा म बस्ने टेबलमा सुदिनले कफी अडर लिन आएको थियो। मेरो आँखामा आशु देखेर र मेरो मनोभाव बुझेर सुदिनले मलाई किन आशु झार्नुभएको ? तपाई किन रुन भएको ? भनेर सोधेएको थियो ।मैले त्यसै भनेकी थिए । त्यतिबेला ।तर सुदिनले तपाई यो क्याफे घरमा आउनुको कारण छ। भने तपाई रुनुको पनि पक्कै कारण छ।भनेको थियो। अनि अडर लिदै उसले तपाई आफ्नो घरमा खुसी हुनुस् नहुनुस् तर यो ह्यापी क्याफे घरमा आएर खुसी भएर कफी पिउनुहोला ! भनेर सुदिनले मलाई अनुरोध गर्‍यो । त्यो अनुरोध मलाई आज पनि याद छ। त्यतिबेला सुदिनको अनुरोधमा मैले मेरो बिहे अगाडिको मेरो श्रीमानको बोली पाएकी थिए।

मैले भेट्दा सुदिन पच्चीस वर्ष जतिको खाइलाग्दो थियो। सकारात्मक विचार भएको हंसिलो अनुहारले कुंदिएको पनि। त्यसपछि म प्राय उसको क्याफेमा कफी पिउन गइरहेकी हुन्थो । त्यसैको बीचमा उसको र मेरो सम्बन्धले एउटा आकार लियो । सायद मेरो जीवनको वैवाहिन घटनाले उसमा मप्रति माया लागेर आयो होला । सुदिनले आफ्नै साथी सम्झन अनुरोध गर्‍यो ।

म एउटी विवाहित महिला l श्रीमान हुदाहुदै अर्को पुरुषसँग सम्बन्ध बनाउन न यो समाजले दिन्छ । न यो देशको प्रगतिशील कानूनले ।तर म दुवैको विरुद्धमा छु। त्यसैले होला मेरो घरभन्दा अलि तलको दिदीले म र सुदिन कहिले काहीसँगै हिडेको देखेर अथवा सम्बन्धको विषयलाई लिएर मलाई चरित्रहीन गतिछाडा महिलाको उपमा दिनुहुन्छ।तर मलाई उहाँ दिएको तल्लो स्तरको नामले कुनै पहुतो लाग्दैन । अनि सोच्छु दिदीको त मन पनि तन पनि बुझ्ने श्रीमान बिहे भएको दिनदेखिसँगै हुनुहुन्छ र। दिदी पतिसमर्पित श्रीमती बन्नुभएको छ। तर मेरो त मैले सोच्छु श्रीमानसँग मैले कति दिनसँगै बिताए होला ? अनि आजभोलि रोजगारको खोजीमा विदेशिएका युवाहरूका कलिला चाहनाले भरिएका श्रीमतीहरूले । म सोच्छु यो समाजले महिलाको प्रधान चरित्र किन सेक्स( यौन) विषयलाई कसीमा राखेर मूल्याङ्कन गर्छ। यदि कुनै महिलाको चरित्र राम्रो र नराम्रो भनी सेक्सको पाटोलाई महत्वपूर्ण आधार सम्झन्छ भने त्यतिकै सेक्सको महत्व महिलालाई छ भनेर किन सोच्दैन ? आज खाना खायो भोलि पर्सी खानुपर्दैन । आज सुत्यो भोलितिर सुत्नु पर्दैन ? यदि भोलितिर पनि खाना, सुत्न लाउन पर्छ भनेर बुझ्ने र भन्ने समाजले सेक्स पनि आधारभूत आवश्यकताको विषय हो भन्न औशीको रात कुर्नुपर्छ?

मेरो श्रीमानले मलाई बेला बेलामा फोन गर्नुहुन्छ। उहाँले मलाई सन्चो बिसन्चोभन्दा आजभोलि केही सोध्नुहुन्न । मपनि उहाँको श्रीमतीको औपचारिकता मात्र निभाउँछु ।विगत ओक्लन प्रयास गर्दिन ।म अहिले धेरै खुसी हुन प्रयास गरेको त्यसको जस सुदिन हो पनि खुलेरै भन्छु।

सुदिनले मलाई हिजो बाँच्न मात्र सिकाएन । नेपाली महिलाहरुको जीवनको गोरेटो पुरुषप्रधान समाजको हातमा छ । भन्ने संगीन विषय पनि सिकायो । त्यसैले म आजभोलि एउटी महिला अभियान्ताको रुपमा आफूलाई चिनाउने एउटा प्रयत्नमा छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *