बिहानीको मिर्मिरेसँगै,
हतारिदै दौडिएका मेरा पाईलाहरु,
कारगिल र कोसोभोको एक सैनिक जस्तै,
थोत्रो झोलाभित्र फाटेका किताबहरू बोकी,
आफूलाई जलाएर खरानी बनाई
गगनचुम्बी सपनाहरू निरन्तर बाँडिरहेछु ।
क्षितिजमा उदाउँदो सूर्यलाई हेर्दै,
गन्तव्यका बाटोहरू देखाउदै,
एउटा बन्द कोठाको झ्यालबाट चिहाउँदै,
ज्ञानको फसल थापे जस्तो गरी,
अन्धकारभित्र कलिला मस्तिष्कहरुलाई डोहोर्याउदै,
सकिनसकि पलपल हाँस्न खोजिरहेछु ।
बाहिर सैन्य परेड भइरहेछ,
दुस्मनका छातीमा मुक्का बर्साउन,
मैले बन्दी बनाएका कलिला हातहरू पनि,
उतै दौडिन खोज्छन्, भाग्न खोज्छन्,
छैन मन कक्षाजेलमा थुनिन कति पनि,
तैपनि ढोका बन्द गर्छु, थुन्छु बलजफ्ती,
तिमी सैनिक हैन, विद्वान बन्नुपर्छ,
समाजको नायक, समाजको प्रतीक।
भित्तामा झुन्डाइएका महान आकृतिहरुलाई नियाल्दै,
अर्को महानताको परिभाषा दिदैछु,
आफ्नो दासतालाई बिर्सेर,
स्वतन्त्रताको पाठ पढाउँदैछु,
माझी झै तार्दै नदी कोमल गोडाहरुलाई,
आफू काँप्दै, चिसोले कठ्याङ्ग्रिदै,
भोको पेट र अभावहरुलाई छोपेर,
विल गेट्स र वारेन बफेटको गीत गाउँदैछु।
रंगाइएका स्वार्थका पर्खालहरुभित्र बन्दी भई,
सप्तरंगी सपनाहरुमा रमाउँदै,
आफ्नै जोवन र जोशहरू सति गएका दृष्यहरू हेर्दै,
एउटा व्यापारीको दारु गफलाई सुनिरहेछु,
‘यो घोडा हो, गधा हो, जोत्नु र जोताउनु पर्छ’
उसका समृद्धिका लालकिल्ला बनाउन,
बलियो ईटा र कंक्रिट बनिरहेछु,
अँझै गुलामी गरिरहेछु,
किनकि म मास्टर हुँ,
एक इमान्दार मास्टर ।
नर कुमार चौहान
मकालु २, संखुवासभा
