Skip to content

तिमी अर्थात् मेरी मुटु

  • by

आकाशतिर हेर्दै टोलाउदै,
हरेक प्रश्नको उत्तर खोज्न कल्पिन्छु,
एक जीवन्त भगवानको जन्मको बारेमा,
संसार बुझ्ने, शालिनताको प्रतिबिम्ब,
हजारौं गुणहरुको सम्मिलन,
एउटै व्यक्ति, एउटै तस्वीर,


जुन हजारौं जुनीलाई निसन्देह,
मेरै हृदयभित्र सजिएको छ,
कलात्मक र भव्य ढंगले कुँदिएकोछ,
अनि त एउटै सर्वव्यापी उत्तर पाउछु,
किनकि,
आखिर तिमी त हौ नि प्रिय,
जीवन्त भगवान, मेरी मुटु ।।।

तिम्रो कोमलताको गहिराईमा ,
निस्वार्थको संसार लुकेको छ,
फराकिलो बुझाई र सोचको विशाल छातीभित्र,
असंख्य सद्गुणहरुले सजिएका,
रंगीचंगी सुन्दर बगैंचाहरु छन्,
जीवन जीउने दुरदर्शी मार्गहरु कोरिएका छन्,
किनकि,
आखिर तिमी त हौ नि प्रिय,
जीवन्त भगवान, मेरी मुटु ।।।

निर्दोषिता प्रष्टै झल्किने तिम्रो मुहारलाई हेर्दै,
मेरा हरेक धड्कनहरु,
गहिरो मायाको पवित्र सन्देश बोकेर,
तिमीतिर अनन्त कालसम्म लम्किरहनेछन्,
झन् धेरै श्रद्धा र सम्मानका फूलहरु बोकेर,
तिमीलाई अर्पण गर्न हतारिदै दौडिनेछन्,
ओठमा कहिल्यै नझर्ने फक्रिएका हाँसोहरुलाई,
नयनभित्र सजाएर, लुकाएर,
दुई आत्माको ‘कनेक्सन’लाई बलियो बनाउदै,
हाम्रो ‘केमेस्ट्री’ लाई पुजनिय बनाईरहनेछन्,
किनकि,
आखिर तिमी त हौ नि प्रिय,
जीवन्त भगवान, मेरी मुटु ।।।

तिम्रो आगमनले हृदयको दियो जलाउदै,
सूर्यको किरणले पृथ्वीको अन्धकारलाई हटाए झैँ,
मेरो अज्ञानतामाथि ज्ञानको ज्योति बालेर,
कहिल्यै नअस्ताउने गरि उदाईरहन्छौ,
मेरो देब्रे छातीभित्र,
म हर्षविभोर भई तिम्रो हात समाउछु,
अधरमा चुम्दै, स्पर्श गर्दै हृदयमा,
पवित्र प्रेमभावले छातीभित्र लुकाउछु,
किनकि,
आखिर तिमी त हौ नि प्रिय,
जीवन्त भगवान, मेरी मुटु ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *