Skip to content


बाँदरहरूको चटक त तिमीले धेरै देखेको होलाऊ । मदारीको इशारामा बाँदर कस्तो-कस्तो नक्कल गर्छ, उसको जिस्काइ पनि तिमीले देखेको हुनुपर्छ । तिमीले उसलाई घरबाट कपडा लिएर भागेको देखेको हुनुपर्छ । आज म तिमीलाई एक यस्तो स्थितिका बारेमा सुनाउँछु, जसबाट बाँदर पनि बालकहरूसँग मित्रता गर्न सक्छ भन्ने थाहा हुन्छ ।

केही दिनअघि लखनऊमा एउटा सर्कस-कम्पनी आएको थियो । कम्पनीसँग बाघ, भालु, चितुवा र कैयौँ प्रकारका अरू पनि जनावर थिए । त्यसबाहेक मिट्ठू नामको एउटा बाँदर पनि थियो । बालकहरूको समूह-समूह प्रत्येक दिन यी जनावरहरूलाई हेर्न आउने गथ्र्यो । मिट्ठू नै उनीहरूलाई सबैभन्दा राम्रो लाग्थ्यो । ती बालकहरूमा गोपाल पनि थियो । ऊ प्रत्येक दिन आउँथ्यो र मिट्ठूको नजिक घण्टौँसम्म चुपचाप बसिरहन्थ्यो । उसलाई बाघ, भालु, चितुवा आदिसँग कुनै मोह थिएन । ऊ मिट्ठूका लागि घरबाट चना, मटर, केरा ल्याएर खुवाउँथ्यो । मिट्ठू पनि उसँग अत्यन्त नजिकिएको थियो र गोपालले नखुवाएसम्म केही खाँदैनथ्यो । यस प्रकार दुईबीच अत्यन्त घनिष्ठ मित्रता थियो ।

एक दिन गोपालले सर्कस-कम्पनी त्यहाँबाट अर्को सहर जाने कुरा सुन्यो । यो सुनेर ऊ अत्यन्त दुःखी भयो । ऊ रुँदै आमाछेउ आयो र भन्यो- “आमा, मलाई एक आठ आना (अहिलेको पचास पैसाको सिक्कालाई एकताका आठ आना पनि भनिन्थ्यो ।) दिनुस्, म गएर मिट्ठूलाई किनेर ल्याउँछु । त्यो फेरि कहाँ जान्छ! फेरि म उसलाई कसरी हेर्न पाउँछु ? त्यो पनि मलाई नदेखेर रुनेछ ।”

आमाले सम्झाइन्- “छोरा, बाँदरले कसैलाई पनि माया गर्दैन । त्यो त अत्यन्त बदमास हुन्छ । यहाँ ल्यायौ भने त्यसले सबैलाई टोक्छ, बेकारमा गाली सुन्नुपर्छ ।”

तर गोपाललाई आमाको सम्झाइको कुनै असर परेन । ऊ रुन लाग्यो । आखिरमा आमाचाहिँले बाध्य भएर उसलाई एक आठ आनाको सिक्का निकालेर दिइन् ।

सिक्का पाएर गोपाल अत्यन्त प्रफुल्ल भयो । उसले त्यो सिक्कालाई माटोले घोटेर चम्किलो बनायो र मिट्ठूलाई किन्न हिँड्यो तर मिट्ठू त्यहाँ देखिएन । गोपालको मन भरिएर आयो- मिट्ठू कतै भागेर त गएन ? मालिकलाई आठ आनाको सिक्का देखाएर गोपालले भन्यो- “के मिट्ठू बेच्नुहुन्छ ?”

सर्कस मालिक सधैँ उसलाई मिट्ठूसँग खेलिरहेको र खुवाइरहेको देख्दथ्यो । हाँसेर भन्यो- “अर्कोपटक आउँदा मिट्ठू तिमीलाई दिन्छु ।”

गोपाल निराश भएर त्यहाँबाट हिँड्यो र मिट्ठूलाई यताउता खोज्न लाग्यो । ऊ खोज्नमा यति मग्न थियो, उसलाई कुनै कुराको वास्ता थिएन । उसलाई आफू चितुवाको काठेखोरको नजिक आइपुगेको पनि थाहा भएन । चितुवाभित्र चुपचाप सुतिरहेको थियो । गोपाललाई काठेखोर नजिक देखेर उसले पञ्जा बाहिर निकाल्यो र गोपाललाई समाउने कोसिस गर्न थाल्यो । गोपाल भने अर्कोतिर हेरिरहेको थियो । उसलाई चितुवाको पञ्जा आˆनो हातनजिक पुगिसकेको पनि थाहा थिएन । चितुवाले गोपालको हात समातेर तान्नै लागेको बेला मिट्ठू कताबाट आएर चितुवाको पञ्जामा एक्कासि झम्ट्यो र पञ्जा दाँतले टोक्न लाग्यो । चितुवाले अर्को पञ्जा निकाल्यो र उसलाई घाइते बनाइदियो । घाइते मिट्ठू त्यहीँ भुइँमा लड्यो र जोडजोडले कराउन लाग्यो ।

मिट्ठूको यस्तो अवस्था देखेर गोपाल पनि रुन लाग्यो । दुवैको रुवाइ सुनेर मानिसहरू दौडेर आए । उनीहरूले मिट्ठू बेहोस भएर लडिरहेको र गोपाल रोइरहेको देखे । मिट्ठूको घाउ तुरुन्तै धोएर त्यहाँ मल्हम लगाइयो । केही बेरपछि मिट्ठू होसमा आयो । उसले गोपाललाई ‘अब किन रुन्छौ ? म त ठीक भइसकेँ’ भन्ने भाव-सहित अत्यन्त मायालु दृष्टिले हेरिरहेको थियो ।

कैयौँ दिनसम्म मिट्ठूको उपचार भइरहृयो र आखिरमा ऊ स्वस्थ भयो । गोपाल प्रत्येक दिन आउँथ्यो र उसलाई रोटी खुवाउँथ्यो ।

अन्ततः कम्पनीको जाने दिन आइपुग्यो । गोपाल अत्यन्त दुःखी थियो । ऊ मिट्ठूको काठेघरको नजिक उभिएर भरिएको आँखाले उसलाई हेरिरहेको बेला सर्कस मालिक आएर भन्यो- “तिमी मिट्ठूलाई पायौ भने के गर्छौ ?”

गोपालले भन्यो- “म उसलाई आफूसँग लान्छु, ऊसँगै खेल्छु, उसलाई आˆनै थालमा खुवाउँछु अरू के !”

मालिकले भन्यो- “ठीक छ, म आठ आना नलिएरै मिट्ठू तिमीलाई बेच्दछु ।”

गोपाल कुनै राज्य नै प्राप्त गरेजस्तो खुसी भयो । उसले मिट्ठूलाई काखमा उठायो तर मिट्ठू तल झर्‍यो र उसको पछि-पछि हिँड्न लाग्यो । दुवै खेल्दै-कुद्दै घर पुगे ।

अनु. प्रमोद प्रधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *