Skip to content

जीवनका प्रत्येक क्षणहरुसँग मैले तिमीलाई संघर्ष गर भनेकै हुँ । मैले व्यतीत गर्ने समय सीमा र तिमीले पाएको अवसरलाई एउटै पाटोबाट नहेर्दा तिमी र ममा फरक देख्नु कुनै अनौठो विषय लागेको थिएन मलाई । मैले मन पराएर व्यतीत गरेका अवसरहरुले तिमीलाई पनि कुनै क्षणले पछ्याएका थिए होलान ।

फरक, तिमीले चिन्न सकेनौ, मैले चिने । ममा आत्मस्वाभिमानले जरा गाडेको छ तर तिमीले स्वाभिमान हराए झैं खोजिरहेछौ । बस् तिमी र ममा यही फरक छ । म आफूलाई अपूर्ण ठान्छु तर तिमी आफूलाई पूर्ण ठान्छौ ।
लामो समयको अन्तराल पछि शहरको कोलाहलमा तिमी रमायौ, म विरक्तिएँ ।

महल, गाडी र महल छेउ थुप्रिएको फोहोर अनि गाडीले फ्याँकेको कार्बनडाईअक्साईडले म निस्सासिएँ, तर तिमी रमायौ, फरक यही थियो । जीवन सधैं हतारमा ब्यथित गर्नुपर्छ भन्ने सिद्धान्तमा म अतालिन्थें, रन्थनिन्थें र त्यसै त्यसै रिगंटा लागेर आउँथ्या, सास फेर्न पनि माक्स लगाएर आफ्नो अनुहार लुकाउँथे म । शहरमा न मलाई उसले चिन्थ्यो न म नै उसलाई चिन्थें । शहरको धुवाँ र दुर्गन्धबाट बँच्न माक्स लगाउँदा मलाई आफैबाट अपरिचित भएको महसुस हुन्थ्यो । म शहरको रौनकतामा धुवाँ र धुलोसँग संघर्ष गर्दै बाँचेको अनुभूत गर्थे तर तिमी शहरको धुवा धुलोलाई सम्भ्रान्तको उपमा दिन्थ्यौ ।

गाउँबाट हजारौ सपना बोकेर आएका निर्दोष मनहरू रुवाएर तिमी सम्भ्रान्त बन्न उद्वत बनिरहेछौ । विदेश पठाएर मनभरि सपना सजाएका आत्महरुलाई धेरै चोटि रुवाएका छौ तिमीले । अनि तिम्रो फुर्तिदेखि के म दंग हुला त १ अनि तिम्रो आलिसान महल, कार्बन डाईअक्साईड फ्याक्ने तिम्रो फोर्ड गाडी देखि मनैबाट बोमिट गर्न मन लाग्छ । हो सम्भ्रान्तको नाममा शहरमा पलाएको तिम्रो रहर तिमीसितै राख । गाउँमा तिम्रो बा, आमातिर्खा लागेको बेलामा एक ग्लास पानी खान नपाएर तिमीलाई सम्झर रोएको मलाई अहिले झैं लाग्छ ।

लामो समयको भेटघाट पछि रोशनलाई भेट्दा काठमाण्डौंको कोलाहलमा सबथोक मनभरि पलाएर आयो । चिल्लो गाडी अनि अघिल्तिर बसेर गाडी हाकिरहेको रोशन हिजो जे थियो आज त्यो रहेनछ र रहेन पनि । गाउँमा छँदा दिल फुकाएर बोलिरहने रोशन आज दिल खुम्चाएर शब्दमा कञ्ज्युस्याई गर्दै अड्र्कलेर बोले झैं लाग्छ । मलाई उकुस मुकुस लागेर आयो ।

काठमाडौंमा पनि निकै गर्मी चढेछ ।… मैले बोल्ने बहाना गरे ।

उसले गाडीको एसी अन गर्यो । शरीर, मन सबै चिसो भएर आयो । गाउँमा उसको वा, आमालाई सम्झें अनि हिजोको रोशनलाई सम्झें …!

गाडी एउटा आलीसान महलको अगाडि गएर रोकियो । म गाडीवाट झरें…। तेस्रो तलामा उसँगै खुडकिला पार गरेर थकित हुँदैं पुगें । वरिपरि नियालें…अति सानदार इँटाका पर्खालहरु, कोठाको सजावट अनि कोठामा झुन्डाएका तस्बिरहरु…। म छक्क परें…त्यो रोशन … यो रोशन । हिजोको रोशन आजको रोशन … ! उफ कति फरक …! कति शानदार…!

“सब्जी ल्याइसिएन ?” सायद भाउजू हुनुपर्छ ।

… ऊ बोलेन ।

“म सक्दिन है …१ गएर ल्याइसियो”। – फेरि असमर्थता ।

“त्यही तलबाट ल्याउँन ।” –रोशनको समाधान युक्त शब्दहरू ।

“आज म केहीगर्न सक्दिन”। –फेरी असमर्थता ।

…चुप लागन्…। ऊ मेरो सानोको मिल्ने साथी …राजेश । केही वेरको मौनता पछि ऊ वोल्छ ।

नमस्ते – म औपचारिकता पुरा गर्छु ।

नमस्ते फर्काएर केही नबोली भाउजू नजीकैको मेचमा बस्नुहुन्छ ।

कपडा फेरेर रोशन मलाई कोठामा बस्न भन्दै तल झर्छ । म कोठाको प्रत्येक भित्ताहरुलाई नियाल्छु । भित्तामा झुन्डाइएका तस्बिरहरू एक पछि अर्को गर्दै चियाउँछु । सम्झन्छु जीवन फेरिन जति सहज छ मन फेरिन त्यति सहज नहुनु पर्ने हो, तर ठिक उल्टो…। आफूले आफैसँग प्रतिप्रश्न गर्छु । नजिकै दराजमा राखेका वाइनका बोतलहरू हेर्छु । बोटलभित्र रहेर नशाहरू मात्नु पर्ने हो तर गिलासमा झरेका थोपाहरुले घाँटी रसाए पछि मात्र मात बनेर मान्छेहरू मातेको क्षणले मनलाई प्रतिविम्भित गरिरहन्छ झै लाग्छ ।
उफ … ! आज धेरै थाकियो …। कतार जान किन यति धेरै पैसा लिएको भनेर एउटा पत्रकारले दिक्क बनायो । बल्ल बल्ल बुझो लगाएँ । रोशनले बाक्लो सोफामा बस्दै भन्यो ।
“आजबाहिर खान जाउन !”

“यही बनाउँन, साथीलाई कहाँ बाहिर लाने !”

हातमा बाँधेको घडी हेरें, आठ बजिसकेछ । बाबुलाई भोक लाग्यो होला । बाबाको नजिक आएर बाबु उभियो । घरका कोठाभरि सन्नाटन छाएको छ । कुनै सुरसार छैन । रोशनसँगै दुवैजना अर्को कोठामा गए । बाबुपनि पछि पछि लागेर उतै गयो । म कोठामा एक्लै बसिरहें । बिना उदेश्यको प्रतिक्षा पट्यार लाग्दो हुँदोरहेछ । नजिकै टि टेबलमाथि राखेको पत्रिका तानें । अविरल वर्षा, तराई डुवान, पहाडमा बाढी पहिरो ! एउटै घरका सबैजना पहिरोमा परी मृत्यू … आदि आदि समाचारले मन अमिलो भै रह्यो । लामो समयको प्रतिक्षा पछि रोशन म नजिक आयो ।

“अब खाना खाउँ है ।” – रोशनको आग्रह म प्रति थियो ।

मलाई पनि आज निकै भोक लागेको थियो । चुपचाप म रोशनको पछि पछि लागें ।

“मैले पकाएको खाना भाउजूको पस्काई !” –हाँस्दै रोशन बोल्यो ।

“खाना पकाउन पनि आउँछ तलाई ”

“परेपछि आउँनु पर्यो नि !” – रोशन बोल्छ” ।

गाउँमा तँ केही गर्न नजान्ने, शहरमा त सब गर्ने भइछस । गाउँले भाउजू पनि शहरिया भएपछि म पनि …। भाउजूतिर हेर्दै अपूर्ण शब्द बोल्छ ।

म सम्झन्छु, शहरको पुरा पुर प्रयोग गरेको छ रोशनले । लवाई, खुवाई, बोलाई, हिडाई सबै सबै शहरिया छ । गाउँमा ब्यस्त हुने जीवनशैली शहरमा एक गाँस खाना पकाउन पनि हान थाप…अनि लिंग, वर्गीय, समानता, मानव अधिकार सबै सबै केवल शहरतिर मात्र भए झैं लाग्यो । सबै थोक फुसर्दले नै फुराउँदो रहेछ । खाना खाएर म गेष्ट रुमतिर लागें । रोशनको पहिले र अहिलेको जीवन शैली मनभरि आइरह्यो आमा बाउको लाहाडे एक्लो छोरो … केही काम नगर्ने …। एक्लो सहारा …आज शहरिया भएको छ । दिनभरि काम गरेर पनि बेलुकी श्रीमतीलाई खुशी पार्न खाना पकाउँछ…। सोच्छु यो शहरले सम्भ्रान्तको नाममा सबै सिकाउँदो रहेछ शायद…। मनभरि काठमाण्डौंको धुलो, धुवासँगै निस्सासिएर कुन बेला निदाँएछु पत्तै पाइनछु ।

हिजो आज जब शहर सम्झन्छु मन अमिलो भएर आउँछ ।

रोशन, भाउज्यू, सानो नानी, खाना अनि धुलो धुवाँ सबै सबै मनभरि आइरहयो ।

वोलेरोले काभ्रे भञ्ज्याङका हरिया वोटहरू छिचोल्दै घुम्ती मोडहरुका खाल्डा खुल्टी पार गर्दै पूर्वतिर हुईकिदै शहर छोडदै जादा मन प्रफुल्ल भएर आयो ।

चन्द्रमणि पौडेल

कञ्चनरुप नगरपालिका–१२, रुपनगर सप्तरी

हाल नयाँ वानेश्वर काठमाडौं


स्रष्टा परिचय
नाम : चन्द्रमणि पौडेल
जन्म मिति : २०२७श्रावण ३० गते
बाबुको नाम : जेवलाल पौडेल
आमाको नाम : स्व.भद्रीमाया पौडेल
शैक्षिक योग्यता : स्नातक,
हाल कार्यरत : प्रदेश सरकार अन्र्तगत लेखा समूहको अधिकृत पदमा कार्यरत
जन्म स्थान : रापाकोट १ स्याङजा
स्थायी ठेगाना : कञ्चनरुप नगरपालिका वडा नं. १२ सप्तरी
साविकको ठेगाना : कञ्चनरुप नगरपालिका वडा नं. १२ सप्तरी
हालको ठेगाना : चागुनारायण नगरपालिका वडा नं. ३ भक्तपुर
सम्पर्क फोन नं ९८५४०४११२७ इमेल नं. अउबगमभठिण्ढ२नmबष्।िअयm
प्रकाशित कृतिहरू :
(१) बाँसुरी भित्र रोएको मान्छे (कथा संग्रह) प्रकाशित साल २०५२
(२) खरानी भित्रका लाशहरू (सामाजिक उपन्यास)प्रकाशित साल २०६४
(३) राप (उपन्यास)प्रकाशित साल २०७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *