तिम्रो समथर भूगोल जस्तै,
फराकिलो मनको फूलबारीमा,
रंगिन सपनाका फूलहरुले सजिएर,
मेची किनारमा बहकिने शीतल पवन झैं,
शान्त र सुम्य भावनारुका लहरहरु,
मतिरै आइरहेछन, अँझै नजिक नजिक !
असीम ममताको सन्देश छर्दै,
पूज्य प्रीतको समधुर भाका गाउदै,
क्षितिजपारीका सेता गोरेटाहरू नियाल्दै,
देउरालीमा पारुहाँगलाई फूल चढाउदै,
प्रेमको हिमचुलीको आरोहण गर्न हतारिएका पाइलाहरु,
मतिरै आइरहेछन, अँझै नजिक नजिक !!
कोमल हृदयको पूल बनाउदै,
बाधा बन्धनका बाढीहरू तर्न,
आफ्नै संसारको सीमारेखामा पर्खाल बनाउदै,
लजाएको चन्द्रमासँग शिर झुकाएर मुस्कुराउदै,
भरोसाका अधरलाई चुम्न हतारिएका ओठहरु,
मतिरै आइरहेछन, अँझै नजिक नजिक !!!
नलेखिएको नविन इतिहास लेखाउदै,
नियतिलाई मानवताको तस्वीर देखाउन,
वर्षात र तुसारोमा सम्हालिदै,
मेरो भरोसाको काधमा निदाउन,
तिम्रा नथाकेका अनमोल रहरहरु,
मतिरै आइरहेछन, अँझै नजिक नजिक !!!!

सोमरस पिएर मात्तिए जसरी नै मदहोस भए सर हजुरको सिर्जना मा चुर्लुम्म डुबेर । मैले कुनै शब्द सापटी लिन सकिन जसले तपाइको यस सिर्जना को कलात्मक बर्णन गर्न सकोस तथापि दुई शब्द नलेखी बस्नै सकिन । आउदा दिन हरुमा यस्तै सिर्जना हरुको पर्खाइमा हामी रहिरहने छौ । लेख्दै जानुहोस सिर्जना हरु बग्दै जाने छ्न आफ्नो बाटो बनाउदै ।