तिनताक म एयरपोर्टमा जागिर खान्थेँ । जागिर पनि के भन्नु र! महिनाभरि काम गरेपछि हजार पन्ध्र सय पाइन्थ्यो होला, दिनभरि त्यतै जान्थेँ । पद भने मेरो ठूलै थियो- सुपरभाइजर । एउटा ट्राभल्स व्यवसाय सञ्चालन गर्ने संस्थाको कर्मचारी प्रतिनिधिका रूपमा म त्यहाँ थिएँ । त्यो संस्थाले एयरपोर्टमा पोर्टर सेवा सञ्चालन गरेको थियो । जहाजबाट यात्रा गर्ने यात्रीहरू बाहिर जाँदा र बाहिरबाट आउँदा तिनको सामान पोर्टबाट भित्र पुर्याउने र बाहिर निकाल्ने कामका लागि करिब सय जना मान्छे खटिएका थिए । ती सय जना मान्छे पनि मैले काम गर्ने संस्थाकै जागिरे थिए ।
तिनको पदीय नाम ‘पोर्टर’ थियो । हवाइ अड्डाले सो ट्राभल्ससित पोर्टर सेवाका निमित्त सम्झौता गरेको थियो । सो सेवाबापत संस्थाले हवाइअड्डाबाट कति पैसा पाउँथ्यो र आफूलाई कति नाफा राखेर पोर्टरहरूलाई कति दिन्थ्यो, म जान्दिनँ । जेहोस् म त्यहाँ सुपरभाइजर थिएँ । मजस्तै अरू चार जना सुपरभाइजर पनि त्यहाँ थिए ।
सभ्य भाषामा पोर्टर भनिए पनि वास्तवमा ती कुल्ली नै थिए र म थिएँ कुल्लीहरूको फिल्ड हाकिम तर तिनीहरूले मलाई हाकिमको रूपमा सम्मान गरेनन् । मैले दिएको आदेश पालना गर्नमा तिनले कन्जुस्याइँ गरे । अरू सुपरभाइजरले अह्राएको खुरुखुरु गर्थे, मैले अह्राएको टेर्दैनथे । मैले बोलाउँदा ‘के’ भन्थे । अरूले बोलाउँदा ‘ज्यू’ भन्थे । किन यस्तो गरेका होलान् ? म अचम्ममा पर्थेँ । मसित कुन त्यस्तो अपमानयोग्य गुण छ होला ? मलाई यसका कारणहरू आफैँभित्र खोज्न मन लाग्यो र खोजी सुरु गरेँ । तिनीहरूसँग भेट भएपछि मैले बोलेका बोली र गरेका व्यवहार सम्झन थालेँ । अरू सुपरभाइजरले बोलेका बोली र व्यवहार सम्झन थालेँ ।
म तिनलाई ‘तपाईं’ भनेर सम्बोधन गर्थेँ । अरू सुपरभाइजरहरूले ‘तँ’ भनेर सम्बोधन गर्थे । मैले तिनका नामका पछाडि ‘जी’ राखेर सम्बोधन गर्थेँ । सन्तबहादुरलाई ‘सन्तजी’ भन्थेँ । अरूले त्यस्तो केही पनि राख्दैनथे, बरु नामको पछिल्लो अक्षरमा एकार लगाइदिन्थे, ‘सन्ते’ भन्थे । मैले तिनलाई कुनै गाली गर्दिनथेँ, अपशब्द बोल्दिनथेँ । उनीहरूले हरहमेशा गाली गर्थे । ‘भाते’ भन्थे । ‘साले’ भन्थे । ‘कुत्ता’ भन्थे । भन्नै नहुने अश्लील शब्द पनि भन्थे । मैले तिनलाई सम्मान गरेँ, अरूले तिनलाई अपमान गरे । तिनले सम्मान दिनेलाई अपमान दिए र अपमान दिनेलाई सम्मान ।
अब मसित एउटा प्रश्न मात्रै बाँकी रहृयो- के उनीहरूलाई सम्मानजनक व्यवहार गर्नु नै म अपमानित हुनाको कारण हो ? पटकपटक मनलाई दोहोर्याएर सोधेँ । पटकपटक मनले जवाफ दियो- हो, कारण त्यही नै हो ।
अब प्रश्नले हाँगा हाल्न थाल्यो- के तिनीहरूसित सम्मानजनक व्यवहार गर्नु मेरो गल्ती हो ? मनले जवाफ दियो- ‘हो, गल्ती नै हो ।’ अबदेखि यी श्रमजीवीलाई तँ भन्दै र हेप्दै हिडौँ त ? मनले यो प्रश्नको जवाफ दिन सकेन । हो, यिनलाई अपमान गर्दै हिँडौँ ? फेरि प्रश्न सोधेँ । मन फेरि निरुत्तर भयो । असाध्यै चञ्चल छ मेरो चित्त । सानो तापले पनि तुरुन्तै पग्लेर पानीभन्दा पातलो हुन्छ । थोरै चिसोले पनि तुरुन्तै जमेर हिउँभन्दा साह्रो हुन्छ । यो प्रश्नको तापले मलाई निकै दिन पगाल्यो । म निदाउन सकिन । जीवनमा निरन्तर अपमान भोग्नुपर्ने परिस्थितिबाट छुटकारा पाउन खोज्नु स्वाभाविकै पनि थियो होला । अपमानको बाटो रोजेर हिँड्न को चाहन्छ र Û
मैले अरू सुपरभाइजरले जस्तै तिनलाई ‘तँ’ भन्न र अपमान गर्न किन सकिनँ ? प्रश्न फेरि आफैतिर सोझ्याएँ । उत्तरको खोजीमा म आˆनै अतीततिर लागेँ । अज्ञात कुन कारणले हो म सानैदेखि पनि अरूलाई ‘तँ ‘नभन्ने प्रकृतिको रहेछु । आठ-नौ वर्षको मैले मभन्दा आधा वर्ष कान्छी मेरी ‘सेती’ नामकी बहिनीलाई ‘तिमी’ भनेर सम्बोधन गरेको सुन्दा मभन्दा दस-पन्ध्र वर्ष जेठा मेरा दाइहरू मलाई गिज्याएर हाँस्थे । भाइबहिनी पर्नेलाई अरू सबैले ‘तँ’ भन्थे । अतीत कोट्याउँदै गएँ- माक्र्सवादी दर्शनका मेरा गुरुहरूले मलाई श्रमलाई सम्मान गर्नुपर्छ भनेर सिकाए । श्रमिकहरू संसारका निर्माता हुन्, सर्वादरणीय पात्र हुन् भनेर बुझाए । मैले त्यसैगरी बुझेँ र विश्वस्त भएँ । आफैँले विचार गर्दा पनि श्रमिकहरू अपमानका पात्र हुन् भन्ने लागेन । मलाई प्रत्येक मान्छे मानवोचित मर्यादाका अधिकारी हुन् भन्ने लाग्यो । पदीय विभाजन मर्यादाको विभाजन होइन केवल कामको विभाजन हो भन्ने लाग्यो । अहिले पनि लाग्छ । मानव समाजका उपयोगी कुनै पनि काम साना र ठूला हुँदैनन्, सबै उत्तिकै मर्यादायोग्य हुन्छन् भन्ने लाग्छ ।
अब म निष्कर्षमा पुगेको छु- तिनलाई मर्यादा गर्नु मेरो गल्ती थिएन, मेरो प्रक्रिया गलत थियो । आफूलाई सबभन्दा बढी अपमान गर्ने सामन्तलाई सबभन्दा बढी आदर गर्ने बानी परेका यी दास मनोवृत्तिका मान्छेले आफूलाई सम्मान गर्ने मान्छेलाई आफूजस्तै तुच्छ ठानेर अपमान गर्नु स्वाभाविक हो । तिनको यो उल्टो चेतनालाई सुल्ट्याउनका निमित्त सर्वप्रथम मर्यादाको मूल्यबोध गराउनु जरुरी छ । यसो नगरीकन मर्यादा गरियो भने फेरि पनि आफै अपमानित हुनुपर्ने कुरा निश्चित छ । पछिल्ला दिनमा मैले मर्यादाको महत्तालाई प्राथमिकता दिने गरेको छु । कुनै कार्यालयमा प्रमुख भएर जाँदा पहिला पियनहरूलाई डाकेँ, नजिकै राखेँ र सोधेँ- तिमीहरूलाई तँ भनेको मन पर्छ कि तपाइर्ँ भनेको ? माया गरेको मन पर्छ कि गाली गरेको ? उनीहरूले ‘तपाईं’ भनेको र माया गरेको नै मन पर्ने बताए । ‘तपाईं’ भन्ने र माया गर्नेलाई सम्मान गर्छौ कि ‘तँ’ भन्ने र हेप्नेलाई ? मैले प्रश्न सोधेँ । ‘तपाईं’ भन्ने र माया गर्नेलाई नै सम्मान गर्छौँ ? ‘पक्का ?’ मैले निधो गर्न खोजेँ, ‘पक्का’ उनीहरूले निधो दिए । अब मैले पहिलाको जस्तो दुर्घटना भोग्न नपर्ने कुरामा विश्वस्त भई सम्मानजनक व्यवहार गरिरहेको छु, ठाडो आदेशबाट भन्दा पनि अनुरोधबाट काम लिने गरेको छु । काम असाध्यै छिटोछरितो ढङ्गले भइरहेको छ । काम सम्पन्न गर्नका लागि हाकिम पल्टेर हेप्नै पर्छ भन्ने मान्यता गलत सिद्ध भएको छ मेरो हकमा ।
