आधी रातमा ताराहरू गन्दै,
कोल्टे फेर्दै अनि सुस्ताउँदै,
आफ्नै मनलाई एकोहोरो प्रश्न प्रतिप्रश्न गरीगरी,
उनी ननिदाएको त्यो क्षण सम्झिदै,
प्रायश्चित गरिरहेछु घरिघरि ।
कल्पिएर मनका रहरहरू जोख्दै,
विलौनाका नूनिला आँसुहरू पोख्दै,
सुम्सुम्याउँदै सपनाहरुका फूलहरू थरिथरि,
उनी दुखेको त्यो पल सम्झिदै,
प्रायश्चित गरिरहेछु घरिघरि ।
छुट्टिन नमानेका भावनाहरू मार्दै,
अंकुराएको प्रेमलाई भेलबाढीमा तार्दै,
रित्तो मुटुभित्र समपर्णको जल भरिभरि,
उनी छट्पटिएको त्यो समय सम्झिदै,
प्रायश्चित गरिरहेछु घरिघरि ।
कालजयी माया गर्ने बानी सार्दै,
पराईका आलिसन सपनाहरू टार्दै,
छातीभित्र मेरै तस्वीर टाँसी रोएको लडिलडि,
उनी भक्कानिएको त्यो काल सम्झिदै,
प्रायश्चित गरिरहेछु घरिघरि ।