निदाएका मेरा सपनाहरु तिमी सामु रोकिएर ।
नियाल्दै मुटुभित्रका अक्षरहरु ओठ टोकिएर ।।
आखिर जीवन के हो, काँडा कि फूल,
धड्कनहरु प्रश्न प्रतिप्रश्न गर्छन्, तिमी सामु रोकिएर ।।।
अल्मलिएका मेरा पाईलाहरु, तिमी सामु रोकिएर ।
कर्के नजरहरुका किरणहरु अनायसै ठोकिएर ।।
तिम्रै चौतारीमा विसाईदिउ कि भारी यो जीन्दगीको,
रहरहरु प्रश्न प्रतिप्रश्न गर्छन्, तिमी सामु रोकिएर ।।।
हराएका मेरा चाहानाहरु तिमी सामु रोकिएर ।
वताससरी उडिरहने भावनाहरु जोखिएर ।।
सजाईदिउ कि हृदय तिम्रो प्रेमले जुनीजुनी,
कल्पनाहरु प्रश्न प्रतिप्रश्न गर्छन्, तिमी सामु रोकिएर ।।।
वरालिएका मेरा यात्राहरु तिमी सामु रोकिएर ।
कारागारमा थुनिएका मुर्छित हाँसोहरु पोखिएर ।।
रंगाईदिउ कि तिम्रो खाली सिउँदो सिन्दुरले,
औलाहरु प्रश्न प्रतिप्रश्न गर्छन्, तिमी सामु रोकिएर ।।।
