मध्यपूर्व अर्थात् पश्चिम एसियामा रहेको दुबईबारे धेरै कुरा सुनिएको थियो, यसपटक घुम्ने अवसर मिल्यो । पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनेजीर भुट्टोले आफ्नो निर्वासित जीवनको धेरै समय दुबईमै बिताएकी थिइन् र त्यहीँबाट पाकिस्तान फर्केपछि उनको हत्या गरिएको थियो । भारतको कुख्यात तस्कर तथा बम्बईमा आतङ्कवादी गतिविधि सञ्चालन गर्ने भनेको दाउद इब्राहिम पनि दुबईमा नै बसेको थियो । नेपाल वायुसेवाले धेरै वर्षसम्म काठमाडौँबाट दुबईसम्म उडान पनि गर्ने गरेको थियो ।
गल्फ अथवा खाडीलाई अरबी भाषामा ‘खलीज’ भन्दछन् । त्यहाँ जम्मै जसो मरुभूमि थियो तर पेट्रोल पाइएपछि त्यहाँका साउदी अरेबिया, कतार तथा यु.ए.इ. संयुक्त अरब इमिरेट्सजस्ता देशहरूमा सम्पन्नता आएको छ । तेलबाटै प्राप्त राजस्वको कारण यी देशमा अग्ला अग्ला भवनहरू र सडकहरू बनेका छन् । त्यहाँको अर्थतन्त्रमा धेरै सङ्ख्यामा प्रवासीहरूले काम गरेकोले प्रभाव पारेको देखिन्छ । खाडीका देशमध्ये सबभन्दा ‘उदार’ र ‘आधुनिक’, ‘पश्चिमीकरण’ भएको देश यु.ए.ई. को दुबई रहेछ । यहाँको सरकारी कामकाजको भाषा अरबी भए पनि बहुसङ्ख्यक जनसङ्ख्या भारतीय उपमहाद्वीपबाट गएका आप्रवासी कामदार रहेछन् र बोलचालको भाषा हिन्दी अथवा उर्दू रहेछ । त्यहाँ बस चलाउने ड्राइभरले मात्र नभई त्यहीँका रैथाने अरबले समेत यो भाषा बोल्न जानेका हुँदा रहेनछन् । दक्षिण भारतको केरला र तमिलनाडुमा हिन्दी बोल्ने मानिस कमै भेटिन्छन् तर दुबईमा काम गर्न थालेपछि यिनीहरूले हिन्दी बोल्न सिक्दा रहेछन् । ग्ब्भ् का शाहरजा अथवा अबुधावीमा भने हिन्दी, उर्दूको त्यति प्रचार रहेनछ । दुबईमा भने अरबी भाषा नजाने पनि काम गर्न सकिँदो रहेछ ।
दुबई हवाई अड्डामा पुग्दा मसँग त्यहाँको निमित्त भिसा थिएन । हवाई अड्डामै लिन पाइँदो रहेछ भिसा तर त्यसको निमित्त बस्ने होटेलको पनि रिजर्भेशन गर्नुपर्ने रहेछ । यहाँ होटेल असाध्य महँगो रहेछ । दुईतारे होटेलमा बस्न पनि प्रतिदिन कमसेकम एक सय डलर लाग्दो रहेछ । दुबईमा दुई दिनको निमित्त बस्न भिसा र होटल भाडा, एयरपोर्ट सहर आउने जाने गरी जम्मा तीन सय डलर लाग्यो । त्यहाँ काम गर्न बसोबास गर्नेहरूले पनि कसै कसैलाई काम गर्ने कम्पनीले नै घरभाडा तिरिदिँदोरहेछ भने कसैले तलब अलि बढी पाएर बस्ने आफैँ बन्दोबस्त गर्नुपर्दो रहेछ । प्रतिमहिना एउटा अपार्टमेन्टको भाडा ७०० डलर हुनु मामुली कुरा रहेछ । दक्षिण एसियाबाट आएका अनेक कामदार एउटै कोठामा चार/पाँच जना गरी बस्दा रहेछन् ।
दुबईमा मैले बस्न रोजेको होटेल गल्फ पर्ल थियो जुन सहरको पुरानो भागमा रहेको थियो र दुईतारे थियो । होटेल रहेको इलाकाको नाम ‘डेरा’ थियो जुन शब्दको प्रयोग नेपाली भाषामा पनि हुन्छ । एयरपोर्टबाट होटेलसम्म त्यहीँ काम गर्ने पाकिस्तानी ड्राइभरले पुर्याइदियो । उसको घर पाकिस्तानको पेशावर नजिक अवोटावाद भन्ने ठाउँमा रहेछ । उसलाई होटेलमा नै बस्ने कोठा दिएको रहेछ । होटेलको रिसेप्सनमा काम गर्ने पनि भारतको आसामबाट आएका रहेछन् भने सुरक्षाकर्मी भारतको केरलाका । होटेलमा नै तीन/तीनवटा नाइट क्लब रहेछन्- पहिलो भारतीय, दोस्रो बङ्गलादेशी र तेस्रो अरबी । ती नाइट क्बलमा मदिरापानदेखि नाचगानसमेत हुँदो रहेछ । भारतीय नाइट क्लबमा हिन्दी भाषामा गाना बजानाको कार्यक्रम हुँदो रहेछ । त्यहीँ दुईजना नेपाली केटाहरू वेटर भई काम गर्दा रहेछन् । तीमध्ये एकजना स्याङ्जाको वालिङ घर भएका र अर्का भोजपुरका रहेछन् । उनीहरूबाट दुबई काम गर्न बसेका नेपालीहरूको जीवनबारे पनि केही कुरा थाहा भयो । त्यही नाइट क्लबमा गाना गाउन कहिलेकाहीँ नेपालबाट समेत तीन महिनाको करारमा केटीहरू ल्याइन्छन् भन्ने कुरा थाहा भयो । एक जना नेपालीले साउदी अरबियामा दुई वर्ष काम गरेपछि दुबई आएको रहेछ र त्यहाँको उन्मुक्त वातावरण मन पराएछ । “साउदी अरेबियामा पैसा भए पनि के मा खर्च गर्ने” ऊ भन्दै थियो । यहाँका महिलाहरूले आँखामात्र देखिने गरी मुख छोप्ने बुर्का पनि लगाएको देखिएन ।
हेाटेलका पाहुनामध्ये धेरैजसो इरानीहरू हुँदा रहेछन् । दुबईबाट इरान ज्यादै नजिक भएकोले इरानीहरू त्यहाँको उन्मुक्त वातावरणमा घुम्न आउँदा रहेछन् । त्यहीँ मदिरापानको निमित्त प्रतिबन्ध नभएको र नाइट क्लबमा जान पाइने कुरा पनि इरानीहरूको निमित्त आकर्षक रहेछ । अरबीहरू र इरानीहरू इस्लाम धर्मावलम्बी भए पनि उनीहरूले बोल्ने भाषा बिल्कुल फरक छ । मध्यपूर्वका देशमा केटीहरूले पेट हल्लाएर नाच्ने ‘वेली डान्स’ होटेलको अरबी नाइट क्लबमा हुँदो रहेछ ।
दुबईमा पुग्दा अक्टोवरको आखिरी दिन भए पनि दिउँसो गर्मी हुँदो रहेछ, होटेलमा एयर कन्डिसन थियो । घुम्ने राम्रो समय कि त बिहान कि बेलुकी रहेछ । दुबईमा भ्रमणको निमित्त आउने पर्यटकहरूको उद्देश्य त्यहाँ मालसामान किन्ने पनि रहेछ । दुबईमा ठूलाठूला सपिङ मल पनि रहेछन् । यसमध्ये सबभन्दा प्रसिद्ध मल अफ इमिरेट्स रहेछ, जसलाई पश्चिम एसियामा नै सबभन्दा ठूलो भनिँदो रहेछ । अफ्रिकाको नाइजेरियाबाट समेत यहाँ आई चार सुटकेश सामान किन्ने एक महिला हाम्रो होटेलमा बसेकी थिइन् । मैले सन् २००९ को डायरी किन्न खोजेको थिएँ, अमेरिकाको न्युयोर्कका प्रसिद्ध पुस्तक बिक्रेताकहाँ समेत खोजेजस्तो भेट्टाएको थिइन तर त्यहाँ पाएँ । त्यहाँ बे्रकफास्ट खान लाग्दा वेकन (सुँगुरको मासु) समेत एउटा रेस्टुराँमा दिएको देखेँ । मुस्लिम देशहरूमा सुँगुरको मासु खाँदैनन् ।
दुबईमा ठूलो सङ्ख्यामा भारत र नेपालबाट आई काम गर्न बसेका हिन्दू धर्मावलम्बीहरू पनि छन् । त्यहाँको सरकारले एउटा सानो मन्दिर समेत बनाउन अनुमति दिएको रहेछ । दुईवटा इसाई धर्मावलम्बीको चर्चसमेत रहेछ । सम्पूर्ण मध्यपूर्वमा हिन्दू मन्दिर बनाउन अनुमति दिने पहिलो ठाउँ यु.ए.ई. को दुबई रहेछ । साउदी अरेबियामा मन्दिर अथवा चर्च बनाउनै पाइँदैन । यस देशमा ईस्लामको उदार अनुहार हेर्न पाइयो ।
दुबईमा घुम्न निस्कँदा मसँग त्यहाँको नक्सा पनि साथै हुन्थ्यो । आफू कतै बाटो बिरायो भने नक्सा हेरेर सो पत्ता लगाउने मेरो बानी रहेको छ । नक्सामा आफू कहाँ छु त भनी जान्ने उत्सुकता पनि मलाई रहिरहन्छ । यसरी बाटो बिराएको समयमा आफू कहाँ छ भनी पत्ता लगाउन प्रश्न गर्दा धेरै जसो व्यक्तिले नक्सा नै हेर्न नजान्ने रहेछन् । यस्तो नक्सा हेर्न नजान्नेमध्ये सर्वसाधारण मात्र नभई ट्याक्सी र बसका ड्राइभर समेत भएको देखियो ।
दुबईमा म बस्दा आफ्नो इमेल हेर्न र नेपालबारे समाचार हेर्न इन्टरनेट हेर्दथेँ । इन्टरनेट भएको ठाउँ चलाएका रहेछन् अफगानिस्तान घर भई पाकिस्तानका पेशावरमा धेरै वर्ष शरणार्थी क्याम्पमा बसेका एक जना पठानले । पाकिस्तानको पेशावरमा हिन्दी र उर्दूसँग मिल्ने हिन्को भाषा बोलिने हुनाले उनलाई उर्दू (हिन्दी) सिक्न परेनछ तर दुबईमा बसाइ सराइ गरेपछि यो भाषा सिकी राम्ररी बोल्न सक्ने भएछन् । अत्याधुनिक दुबईमा अमेरिकामा प्रसिद्ध फास्टफुडहरू तथा म्याकडोनाल्ड तथा केएफसीका रेस्टुराँसमेत रहेछन् ।
दुई दिनको बसाईंपछि त्यहाँबाट दिल्लीतर्फ उड्न त्यहाँको अत्याधुनिक अन्तर्राष्ट्रिय हवाई अड्डामा पुगेँ । दिल्लीतर्फ जाने हवाईजहाज टर्मिनल दुईबाट उड्दो रहेछ तर उसले मलाई टर्मिनल एकमा ओराली दियो । हवाई अड्डा भित्रै चल्ने बसबाट म टर्मिनल दुईमा पुगेँ । त्यस पाकिस्तानी ड्राइभरले मलाई टर्मिनलबाट मेरो हवाईजहाज जाँदैन भनी जानी जानीकन त्यहाँ ओराली दिएको थियो । दुई दिन अगाडि म दुबई आउँदा उसलाई ‘टिप’ नदिएकोले रिसाएको थियो कि ? मैले होटेल रिजर्भ गर्न पैसा तिरेको कागतमा ‘सर्भिस’ समेत त्यही मूल्यमा तिरिसकेको भनी लेखेको थियो ।
दुबईको हवाई अड्डा अत्याधुनिक रहेछ । हाल इराकमा अमेरिकाले लडाईं लडिरहेकोले बगदाद हवाई अड्डा धेरै सुरक्षित छैन । त्यसकारण इराकमा काम गरी बस्नेहरू पनि अन्तर्राष्ट्रिय उडानको निमित्त दुबई हवाई अड्डामा आउँदा रहेछन् । इराकमै काम गर्ने एक जना भारतको तमिलनाडु राज्य घर भएको एक जना भारतीयसँग भेट भयो । उसले दुई वर्षसम्म दुबईमा समेत काम गरिसकेकोले हामीले हिन्दी भाषामा कुराकानी गर्यौँ । तमिलनाडु राज्यमा मानिसहरू हिन्दीमा बोल्न मन पराउँदैनन् अथवा जान्दैनन् तर ऊ दुबईमा बसिरहेको हुनाले हिन्दी बोल्न कुनै सङ्कोच गरेन । इराकको कुर्दिस्तानको मौसुल सहरमा काम गर्दो रहेछ । इराकमा पहिलेभन्दा सुरक्षा राम्रो भएको कुरा गर्यो । दुबईको अन्तर्राष्ट्रिय हवाई अड्डा पनि त्यति सानो देशको निमित्त धेरै ठूलो र आधुनिक रहेछ । सङ्क्षेपमा भन्नुपर्दा पेट्रोलबाट धनी भएका उदार र आधुनिक देश दुबईमा म पहिलोपटक पुगेको थिएँ ।
