अहो ! सारा मान्छे थररर भए यो जगतमा ।
सबै मार्दैलाने नियति यसको हुन्छ कि यहाँ।।
क्वरेण्टाइन् बस्छन् अरु त सब आफ्नै घर बसी।
सुरक्षा आफैँले स्वयम नगरे हुन्छ नि क्षति।।
१
डडेलोझैँ सल्क्यो हुरुरुरु बल्यो विश्वभरमा ।
अहो ! कस्तो पापी मरण कतिको हुन्छ नि यहाँ ।।
स्वदेशीहुन् वा ती स्वजन घरका बालकहरु।।
विदेशीहुन् सारा अतिथि बटुवाहुन् अरु अरु।।
२
सबै एकाम्मेछन् कहर यसको मार कतिहो।
सबैका आ-आफ्नै बहस अथवा तर्क जति हो।।
न हेर्दा देखिन्थ्यो नत अब यहाँ चिन्छ कसले ?
स्वयम् आफैं हेथेँ वरपर कतै लोचन मिले।।
३
न पड्किन्थ्यो केही बम र विजुली बारुद कतै।
मरेकाछन् मान्छे असर यसको युद्ध जतिकै।।
निकाल्यो कल्ले यो किन र कसरी जैविक कला।
कसो गर्दा निस्क्यो सहज यसरी युद्ध तगडा ?
४
धनी खै को को हुन् ? गरिब कुन हो राष्ट्र नछुटी।
सबै एकाम्मेछन् मुलुक अथवा मानिस जति।।
लग्यो भन्छन् धेरै घरघर पसी मानव सबै।
लग्यो मान्छे थुप्रै सहज कसले हाँजिर नभै ?
५
छन्द:- शिखरिणी